काठमाडौं । ह्याकरको आक्रमणपछि आइतबारदेखि बन्द रहेका बैंकहरुको एटिएम सञ्चालनमा आएका छन् । तर, सम्बन्धित बैंकको एटिएमबाट मात्र रकन निकाल्न मिल्ने व्यवस्था गरिएको छ ।
एटीएम सर्भर प्रोभाइडर संस्था नेप्स अन्तर्गत रहेका अधिकांश बैंकको एटिएम सञ्चालनमा आएपनि प्रभु बैंक र एनआईसी एशियाको एटिएम भने सञ्चालनमा आएको छैन ।
ह्याकरहरुले आक्रमण गर्ने खतरा बढेपछि एटिएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटिएम सेवा बन्द गरेको थियो ।
गए राति राजधानीको दरबारमार्ग र ठमेलबाट पाँच जना चिनियाँ ह्याकरलाई प्रहरीले पक्राउ गरेको थियो । नविल बैंकको एटिएमबाट ह्याक गरेर रकम निकाल्दै गरेका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका ५ चिनियाँहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र करिब १० हजार अमेरिकी डलर बराबर विदेशी मुद्रा बरामद भएको थियो ।
यसैबीच एटिएम ह्याक भएको विषयमा राष्ट्र बैंकले विभिन्न बैंकहरुसँग छलफल गरेको छ । छलफलपछि अधिकांश बैंकको एटिएम चलेका छन् तर प्रभु बैंक र एनआइसी एसियाको भने एटिम सञ्चालनमा आएको छैन ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने कुनै पनि खाताबाट रकम नझिकिएको बताए । उनले सर्वसाधारणलाई आतंकित नहुन आग्रह गरेका छन् ।
के भन्छ राष्ट्र बैंक ?
नक्कली कार्ड प्रयोग गरेर एटीएमबाट पैसा चोरी भए पनि ग्राहकको पैसा सुरक्षित रहेको राष्ट्र बैंकले जनाएको छ । पैसा चोरी गर्दा खातामा नपुगी एटीएममा रहेको पैसामात्र निकालेकाले ग्राहकको पैसा सुरक्षित रहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।
‘ग्राहकको पैसा सुरक्षित छ,’ उनले भने, ‘चोरले केही बैंकको एटीएममा मात्र भएको पैसा चोरी गरेको देखिएको छ।’
शनिबारसम्मको तथ्यांक अनुसार बिभिन्न बैंकहरुको एटीएमबाट करिब १ करोड २१ लाख रुपैयाा चोरी भएको छ। यो नक्कली भिसा कार्डमार्फत एटीएमबाट पैसा चोरी गर्ने व्यक्तिहरुबाट बरामद भएको रकम हो। शनिबार प्रहरीले रकम चोरी गर्ने पाँच जना चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ।
रकम चोरी गर्ने काममा संलग्न अरु व्यक्ति फरार रहेकाले एटीएमबाट चोरी भएको रकम करिब ३ देखि ४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ। यो बैंकहरुकै अनुमान हो। बैंकहरुले आइतबार राष्ट्र बैंकमा भएको आकस्मिक बैठकमा यस्तो जानकारी दिएका हुन।
एटीएमबाट रकम चोरी कार्यमा संलग्न ठूलै गिरोह सक्रिय रहेको आंशकामा अधिकांश एटीएम मसिन बन्द गरेको छ। उता राष्ट्र बैंकले भने सबै एटीएम बन्द नभएको दाबी गरेको छ। राष्ट्र बैंकका अनुसार सुरक्षाका कारणले केही बैंकले एटीएम सञ्चालनमा रोक लगाए पनि बाँकी बैंकका खुलेका छन्।
अहिले जुन बैंकको एटीएम हो। सो बैंकको एटीएम मेसिनमामात्र कार्डले काम गर्छ। तर, एउटा बैंकबाट जारी भएको एटीएम अर्को बैंकको एटीएममा नचल्ने बैंकहरुले जनाएका छन्। ‘आफ्नो बैंकको एटीएममा समस्या नेखिए पनि धेरै बैंकले एटीएम सञ्चालन नगरेको, सञ्चालन पनि पर्याप्त पैसा राखिएको छैन,’ स्रोतले बताएको छ।
प्रतिक्रिया दिनुहोस