
काठमाडौं । ‘ओरालो लागेको मृगलाई बाच्छोले पनि लखेट्छ’ भन्ने उखान अहिले नेपाली काँग्रेसको हकमा जताततै चरितार्थ बन्न थालेको छ । अहिले एउटा अर्को सहमतिमा धोका खाएपछि काँग्रेसको वित्तिय तथा सहकारी संस्था समन्वय विभागले पत्रिकामा विज्ञप्ति नै छापेर रुवावासी गरेको छ ।
प्रसङ्ग हो, राष्ट्रिय सहकारी बैंक लिमिटेडको निर्वाचनमा काँग्रेसले पाएको धोकाको । यही पुस १६ गते सो बैंकको साधारणसभा सम्पन्न भयो । जसले नयाँ सञ्चालक समिति ठगन गर्यो । तर, यसअघि झैं भागबण्डामा काँग्रेसका मान्छेहरु सञ्चालकमा राखिएन ।
अन्तत आफ्नो गुनासो पोख्न काँग्रेसको वित्तिय तथा सहकारी संस्था समन्वय विभागले एक राष्ट्रिय दैनिकमा विज्ञप्ति नै छाप्यो । अहिले सहकारी क्षेत्रमा काँग्रेसको त्यो विज्ञप्ति हटकेक बनेको छ ।
काँग्रेसले बैकसंग सचेत र सतर्क रहन अपिल गर्दै प्रकाशित गरेको सो विज्ञप्तिमा काँग्रेसको तर्फबाट सहमतिको आधारमा निर्वाचनमा पठाइएको दुई आधिकारीक उम्मेदवारलाई षड्यन्त्रमुलक रुपमा हराएको आरोप लगाएको छ ।
विभागका संयोजक आनन्दप्रसाद ढुंगानाद्धारा जारी विज्ञप्तिमा बैंकमा रहेको चरम एकाधिकारको पर्दाफास हुने डरबाट सहकारी बैंकका देशभर संचालित शाखा कार्यालय र व्यवस्थापन पक्षसंग सम्बन्धित विभिन्न व्यक्तिहरु प्रयोग गरी आधिकारिक उम्मेदवार मध्य माधव दुलाल र गणेश बहादुर चन्दलाई रातारात हराउन पराजित गराइएको आरोप लगाइएको छ ।
यसरी सहमति तोडि बैंकलाई आफ्नो पक्षमा गराउने र एकलौटी रुपमा बैक संचालन गर्ने गरी निर्वाचन सम्पन्न गरी सहमति तोडेकोमा नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।
काँग्रेसका अनुसार समन्वय विभाग निकट राष्ट्रिय सहकारी बैंक लिमिटेडको पुस १६ गते सम्पन्न १९ औ वार्षिक साधारण सभाबाट नयाँ संचालक समिति र लेखा तथा सुपरिक्षण समितिको निर्वाचनको लागि नेपाली काँगे्रस, नेकपा (एमाले), माओदावी केन्द्र, नेकपा समाजवादी बिच समझदारी गरी निर्वाचन गर्ने सहमति भएको थियो । तर, त्यसो गरिएन केन्द्रीय सत्तामा एक्ल्याई जस्तै, काँग्रेसलाई त्यहा पनि हिस्स पारियो ।
काँग्रेसले सहकारी विभाग प्रमुख बीच पटक पटक छलफलबाट हालको वित्तिय एवं सहकारी क्षेत्रमा देखिएको असहज तथा चुनौतिपूर्ण परिस्थितिलाई समाधान गर्न संयुक्त प्यानल तयार गरी संचालक समिति र लेखा तथा सुपरिवेक्ष समितिको गठन गर्ने निर्णय भएको दावी गरेको छ । त्यसैले तीन दल मिलेर नेपाली काँग्रेसको तर्फबाट केन्द्रीय सदस्य पदका उम्मेदवार दुलाल र लेखा तथा सुपरिवेक्षण समितिका सदस्य चन्दलाई हराएकोमा आपत्ती जनाएको छ ।
नेपाली काँग्रेसको तर्फबाट संचालक समिति सदस्यमा दुलाल, माधवलाल देवकोटा, तारा गुरुङ्ग र शिवा थापालाई तोकिएको थियो । सो पार्टीले लेखा तथा सुपरिवेक्षण समितिमा गणेश बहादुर चन्दलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो । तीनदलले षडयन्त्रपुर्वक ढंगले दुईजना उम्मेदवारलाई हराएको विभागको आरोप छ ।
हराएका दुई उम्मेदवारले बैंकभित्र रहेको चरम राजनीति, वेथिति, अनियमितता र एकाधिकार प्रवृत्तिको विषयमा पार्टी र विभागलाई पटक पटक जानकारी गराईरहेका थिए । ‘यस पटक बैंकको निर्वाचनमा भएको षडयन्त्रबाट हामीलाई त्यहाँ रहेको एकाधिकारपन,एकलौटी व्यवस्थापन, चरम राजनीतिको हस्तक्षेप एवं अनिमितता रहेको विषय प्रमाणित भएको छ’–विभागका संयोजक ढुंगानाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सहकारी बैंकको हालको व्यवस्थापन पक्षको सुक्ष्म अध्ययन गर्दा बैंकमा भएको एकलौटीपन, चरम राजनीति तथा वेथितिले सहकारी बैंकको व्यवसायीकतामा हस आउने निश्चित प्रायः छ । अतः देशभर संचालित सहकारी संघ संस्थाहरुले सो बैंकसँग कारोबार गर्दा अत्यन्त चनाखो र शतर्क रहनुहुन हार्दिक अपिल गर्दछु– विभाग प्रमुख ढुंगानाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्रीको कुर्सीमा छैठौं पटक बस्न लाग्दा त्यसबाट विमुख गराइएका देउवाले भन्दा आफ्ना दुई जना उम्मेदवारलाई निर्वाचनमा हराउँदा काँग्रेसको वित्तिय तथा सहकारी संस्था समन्वय विभागले गरेको रुवावासीलाई सो क्षेत्रका सरोकारवालाहरुले भने अचम्म मान्दै हेरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस