
काठमाडौं । आज तीन बैंकले साधारण सभा आयोजना गरेका छन् । एनएमबि बैंक, नेपाल एसबिआई बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले साधारण सभा आयोजना गरेका हुन् । एनएमबि बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ९ बजे सभा शुरू गर्ने जानकारी दिएको छ । सभाले ८ दशमलव २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले यस बैंकले अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्न वा मर्जर प्रक्रिया अगाडि बढाउनका लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्यितयारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९÷८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ११ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस ७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य भएका छन् ।नेपाल एसबिआई बैंक लिमिटेडले २९औं वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिएको छ ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथ ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ७ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गर्नेछ । साथै बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङको समेत गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि पारित गर्नेछ । बैंकले आगामी दिनमा कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान चाहेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चौधौं वार्षिक साधारण सभा रूपन्देही, मणिग्राम स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रालिमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले अन्य बैंक तथा वित्तीय संस्था गाभ्ने र गाभिनेका लागि आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले आव २०७८÷७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९÷८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने बताइएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस