काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयात र घरजग्गामा पैसा जाँदा अर्थतन्त्र समस्यामा परेको बताएका छन् । सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं लिमिटेडको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
त्यस्तै, उनले बैंक तथा वित्तीय संस्थाहरू देशको आर्थिक गतिशीलताका संवाहक रहेको बताए । उक्त बैंकको एकीकृत कारोबार शुभारम्भको प्रमुख अतिथि समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘बैंक तथा वित्तीय संस्थाहरू देशको आर्थिक गतिशीलताका संवाहक हुन् । बैंकिङ क्षेत्रले दिएको अवसरको सही उपयोग गर्न सकिएमा ऋण तथा लगानीका स्रोतमा पहुँच बढेर अर्थतन्त्रलाई गति मिल्नेछ । र, आम नागरिक र व्यवसायीहरूको उद्यमशीलता समेत बढ्नेछ ।’
साथै उनले निक्षेप बाहेकको स्रोत पनि महत्त्वपूर्ण हुने बताए । देशमा रेमिट्यान्सको योगदान बढ्दै जाँदा रेमिट्यान्सको कारोबारलाई भरपर्दो र सुरक्षित राख्नका लागि समेत बैंक क्षेत्रको ठूलो भूमिका रहेको छ ।
‘अब ठूला परियोजनामा मात्र होइन नवीनतम बैंकिङ तथा वित्तीय प्रडक्ट प्रयोग गरेर आम जनताको वित्तीय क्षत्रमा पहुँच, वित्तीय साक्षरता र स्वरोजगारको क्षेत्रमा समेत बैंकले योगदान गर्न जरुरी रहेको छ । डिजिटल बैंकिङको सेवा थप भरपर्दो बनाउनु पर्छ’, उनले भने ।
मर्जरपछि नागरिक र सेवाग्राहीको पहुँचमा ह्रास आउन नहुने र यसका लागि बैंकले हेक्का राख्नु पर्ने समेत उनले सुझाव दिए । देशकै ठूलो बैंक बनेकोमा ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं लिमिटेड दुबैको सहकार्य प्रशंसायोग्य रहेको समेत उनले बताए । चुनौतीपूर्ण यात्रा पार गरेकोमा दुबै बैंकहरुलाई प्रधानमन्त्रीले शुभकामना समेत दिए ।
त्यस्तै, उनले अर्थतन्त्रमा देखिएका समस्याहरूलाई सुधार गर्नका लागि निजी क्षेत्रसँग सहकार्य गर्न आवश्यक रहेको समेत बताए । अर्थतन्त्र सुधारका लागि मन्त्रीपरिषद्को पहिलो बैठकले समेत निर्णय गरेको उनले जानकारी दिए । निजी क्षेत्रले राखेमा मागहरूलाई सम्बोधन गर्नका लागि सरकार तयार रहेको समेत प्रधानमन्त्री प्रचण्डले आश्वासन दिए ।
प्रतिक्रिया दिनुहोस