aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लुम्बिनी विकास बैंकसहित चार कम्पनीको साधारण सभा आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ पुस २०७९
लुम्बिनी विकास बैंकसहित चार कम्पनीको साधारण सभा आज

काठमाडौं  । चार कम्पनीले वार्षिक साधारण सभा मंगलवार (आज) गर्दै छन् । ती कम्पनीहरूमा लुम्बिनी विकास बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट, मैलुङ्ग खोला जलविद्युत कम्पनी र त्रिशूली जलविद्युत कम्पनी हुन् । 

लुम्बिनी विकास बैंक लिमिटेडले १५औं वार्षिक साधारण सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गर्नेछ ।  

साथै सभाले संस्थापक शेयरधनीहरूका तर्फबाट तीनजना र सर्वसाधारण शेयरधनीको तर्फबाट तीनजना गरी ६ जना सञ्चालकहरूको निर्वाचनसमेत गर्नेछ । संस्थापक समूहको रिक्त स्थानमा बाँकी कार्यकालका लागि नयाँ सञ्चालक लोमस मानन्धरको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गरिनेछ । 

साधारण सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गरिसकेको छ  । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले अर्पण ब्यांक्वेट थापागाउँ नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजे सभा शुरू गर्ने जानकारी गराएको छ । सभाले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते एक बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

मैलुङ्ग खोला जलविद्युत कम्पनीले नवौं वार्षिक साधारण सभा लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान ११ बजे शुरू हुने जानकारी दिएको छ । सभाले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र आव २०७९÷८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै कम्पनीको ठेगाना परिवर्तन भएको हुँदा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नेसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ ।

त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले एघारौं वार्षिक साधारण सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनीमा बिहान ११ बजे शुरू हुने जानकारी दिएको छ । सभाले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा ‘घ’ मा व्यवस्था भएबमोजिम जारी पूँजी रू. २ अर्ब ४७ करोडमध्येबाट समूह ‘ख’ मा रहने सर्वसाधारण समूहको लागि छुट्याइएको शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस