aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको एकिकृत कारोबार आजदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ पुस २०७९
प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको एकिकृत कारोबार आजदेखि

काठमाडौं । प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले प्राप्ति प्रकृया पुरा गरी आजदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । यी दुई कम्पनीबीच गत साउन २५ गते प्राप्ति सम्झौता भएको थियो । प्राप्ति सम्झौता गरेको पाँच महिनामै यी बैंकले एकिकृत कारोबार सुरु गर्न लागेका हुन ।

नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ती गर्न पुस १९ गते प्रभु अन्तिम स्वीकृति प्रदान गरेको थियो । नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएसँगै यी दुई बैंकले एकिकृत कारोबार सुरु गर्न लागेका हुन ।

प्रभु बैंकले १ बराबर १ शेयर आदानप्रदान गर्ने सहमति अनुसार सेञ्चुरीलाई प्राप्ती गरेको हो । दुबै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट प्राप्तीका लागि स्वीकृति प्रदान गरिसकेका छन् । सेञ्चुरीलाई प्राप्तिपछि बैंकको नाम प्रभु बैंकनै रहनेछ । प्राप्ति पश्चात् बैंकको केन्द्रिय कार्यालय हालको प्रभु बैंकको केन्द्रिय कार्यालय रहेको स्थानी, बबरमहल, काठमाडौंमै रहनेछ । 

प्रभु बैंकले यस वर्ष ६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनसपछि बैंकको चुक्तापूँजी रू. १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार पुग्नेछ । त्यस्तै सेञ्चुरी कमर्सियल बैंकले यस वर्ष ४ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ । 

बोनस पछि सेञ्चुुरीको चुक्तापूँजी रू. १० अर्ब ७७ लाख १९ हजार पुग्नेछ । दुबै बैंकले गत पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर धितोपत्र दोस्रो बजारमा भने सूचीकृत हुन बाँकी छ । यी दुई बैंक एक भएपछि चुक्तापूँजी रू. २३ अर्ब ५४ करोड २४ लाख ८८ हजार पुग्नेछ ।

एकिकृत कारोबारका लागि तथ्याङ्क मिलान प्रयोजनका लागि पुस २२ गतेदेखि २६ गते विहान ९ः४५ बजेसम्म दुबै बैंकको केन्द्रिय कार्यालयदेखि सम्पूर्ण कार्यालयबाट प्रदान हुने सेवा बन्द रहने बैंकले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस