aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बन्यो सबैभन्दा बढी शेयर होल्डर फन्ड भएको बैंक, लाग्यो नयाँ ढंगले प्रतिस्पर्धा गर्ने तयारीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ पुस २०७९

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९४ हजार रुपैयाँ नाघेको छ । एक आपसमा मर्ज भएपछि सबैभन्दा बढी शेयर होल्डर फन्ड भएको बैंकका रूपमा विकास भएको अध्यक्ष पृथ्वीबहादुर पाँडेले दाबी गरे ।  

उनले भने, ‘नेपालमा बैंक तथा वित्तीय संस्थाहरू धेरै भएकै हुन्। हाम्रो जस्तो मुलुकमा ५/६ वटा वाणिज्य बैंक भन्दा धेरै आवश्यक छैन। बैंक धेरै बनाएर वित्तीय सेवा राम्रो हुने होइन भन्ने उदाहरण त हामीले विगतदेखि नै देख्दै आएका हौं ।’

अब नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नयाँ क्षेत्र र वित्तीय प्रविधिलाई लिएर अगाडी जाने योजना बनाउने उनले बताए । उनले भने, 'मेगा बैंकले हालसम्म कमाएको साना तथा मझौला क्षेत्रको लगानी र नेपाल इन्भेस्टमेन्ट बैंकले हालसम्म कर्पोरेट क्षेत्रमा कमाएको ख्यातिलाई एक गरेर नयाँ योजनाका साथ अघि बढ्ने छ ।’ 

सबै बैंक तथा वित्तीय संस्थाहरूले जस्तै लगानी र व्यापार गरेर अबको बैंकिङ अघि नबढ्ने उनले बताए । उनले भने, ‘नेपालमा परम्परावादी सोच (ब्रेड एन्ड बटर)मा मात्रै लगानी गरेर वित्तीय क्षेत्रमा अब प्रतिस्पर्धा गर्न सकिँदैन।’ 

सोही कार्यक्रममा बोल्दै मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले नेपालमा हलोदेखि हाइड्रोसम्मको नारा लिएर स्थापना भएको बैंक तत्कालीन समयमा सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक भएको धारणा राखेका थिए । उनले भने, ‘देशभरि छरिएको सानो सानो पुँजीलाई बैंकिङ प्रणालीमा ल्याउने काम मेगा बैंकले गर्‍यो ।’ 

दक्षिण एसियाका धेरै मुलुकमा नेपालमा जस्तो धेरै वित्तीय संस्थाहरूलाई वित्तीय कारोबार गर्न सरकारले अनुमति नदिएको उनले स्मरण गरे। नेपालमा वित्तीय क्षेत्रमा भएको लगानीको प्रतिफल थोरै भए पनि किन वित्तीय क्षेत्रको प्रमोटर हुन यतिका धेरै व्यापारी लागेका छन्, त्यसको कारण आफूले थाहा नपाएको उनले बताए । 

मेगा बैंकका शेयरधनीले मर्जरपछि बन्ने बैंकमा मेगाको १०० कित्ता बराबर इन्भेष्टमेन्ट मेगाको ९० कित्ता शेयर पाउनेछन् । मर्जरपश्चात् ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’को केन्द्रीय कार्यालय साबिकको नेपाल इन्भेष्टमेन्ट बैंकको दरबारमार्ग स्थिति कार्यालय रहने छ । मर्जर पश्चात बन्ने बैंकको कुल पुँजी ५८ अर्ब रुपैयाँ माथि हुनेछ। ग्राहक सङ्ख्या ३० लाख पुगेको छ। अब निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा ३ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ । शाखा सञ्जाल २५७ वटा पुगेका छन्। । एक्सटेन्सन काउन्टर ५९ वटा तथा एटिएम सङ्ख्या २७९ पुगेको छ ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको पुस १४ गते बिहीबार बसेको बैठकले इन्भेस्टमेन्ट र मेगाको मर्जर तथा प्राप्तिका लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको थियो । दुई बैंकबीच गत जेठ २७ गते मर्जरको प्रारम्भिक सम्झौता भएको थियो । राष्ट्र बैंकले असार २२ गते दुई बैंकलाई मर्जरको लागि सैद्धान्तिक सहमति दिएको थियो । दुवै बैंकको पुस ७ गते सम्पन्न साधारण सभाले अन्तिम पटक मर्जर प्रस्ताव पारित गरेका थिए ।

गाभ्ने–गाभिने क्रममा दुवै संस्थाबिच निर्धारित सेयर स्वाप अनुपात अनुसार पुँजी मिलान गर्दा आएको बार्गेन पर्चेज गेनलाई गाभ्ने संस्थाले विद्यमान लेखामान अनुसार सम्बन्धित शीर्षकमा आम्दानी जनाई नियमानुसार लाग्ने कर कट्टी गरी पुँजीगत जगेडा कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस