
काठमाडौं । तीन वटा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । स्वरोजगार लघुवित्त वित्तीय संस्था, एनएमबी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेका हुन् ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षृको भन्दा यस वर्ष कम लाभांश प्रस्ताव गरेको छ । पुस २७ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ५१ करोड ४० लाख ९९ हजार रहेको छ । गत वर्ष २५ प्रतिशत बोनस शेयर मात्र वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरणको प्रस्ताव गरेको हो ।
एनएमबि लघुवित्तले यस वर्ष १०.५३ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । पुस २७ गते साझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ताप्ँजी रू. ६५ करोड ५८ लाख ६२ हजारको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
गत वर्ष २१ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।
त्यसैगरी छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षका लागि कुल २५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । पुस २७ गते दिउँसो बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २२ प्रतिशत बोनस शेयर र कर समेत ३ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३२ करोड ४१ लाख रहेको छ । गत वर्ष २७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस