aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

अब नबिल बैंकबाट लिन सकिन्छ घर मै बसीबसी ऋण, ‘एन बैंक’ मार्फत ३० सेकेन्डमा खाता खोल्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ पुस २०७९
अब नबिल बैंकबाट लिन सकिन्छ घर मै बसीबसी ऋण, ‘एन बैंक’ मार्फत ३० सेकेन्डमा खाता खोल्न सकिने

नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई अनलाइनबाटै ऋण समेत दिने गरी नेपालमा नै पहिलो पटक एन बैंक (नियो बैंक) सञ्चालनमा ल्याइएको छ । यसका लागि मोबाइल बैङ्किङ एपलाई पूर्णरुपमा परिमार्जन गरी एन बैंकको शुभारम्भ गरेसँगै नबिल बैंक कम्प्युटराइज्ड बैंकबाट अब नेपाल कै पहिलो डिजिटल बैंक समेत बनेको हो । 

नबिल बैंकले एन बैंकलाई एक छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको छ । एन बैंकले जनताको बैङ्किङ व्यवहारमा परिवर्तन ल्याउने र दिगो बैंकिङमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बैंकको विश्वास रहेको छ ।  

ग्राहकहरूले जुनसुकै समय र स्थानबाट पनि डिजिटल बैङ्किङ सेवाहरू प्राप्त गर्न सक्ने यो नवीन प्रविधिले  नेपालको बैङ्किङ क्षेत्रमा नयाँ तरङ्ग ल्याएको छ । एन बैंक कुनै पनि भौतिक शाखा बिनाको निजीकृत भर्चुअल बैङ्किङ हो । ग्राहकले आफ्नो साथमा रहेको मोबाइल फोनको सहायताले एन बैंकको उपयोग मार्फत खाता खोल्ने, निक्षेप राख्ने, भुक्तानी लिने, ऋण लिने जस्ता सबै परम्परागत बैङ्किङ सेवाहरू सजिलैसँग लिन सक्नेछन् । 

एन बैंकले समय र लागतमा ठुलो बचत गर्छ। नबिल बैंकले डिजिटल प्रविधिमा अगुवाइ गर्दै नबिल स्मार्ट बैंक एपको बैङ्किङ अनुभवलाई एन बैंकमा परिणत गरेको छ । अनलाइन बैङ्किङ रोज्ने ग्राहकले एन बैंक मार्फत आफ्नो खाता खोल्नेदेखि डिजिटल ऋण प्राप्त गर्नेसम्मका सेवा पाउनेछन् ।

सबैभन्दा रोचक त यो छ कि बैंकमा ऋण लिने बेला ग्राहकले भोग्दै आएका समस्या समेत यसले अब अन्त्य गरेको छ। उदाहरणको लागी मानौँ तपाइले नबिल बैंकमा मुद्दती खातामा निक्षेप राख्नु भएको छ। अब बैंकले दिँदै आएको सुविधा अनुसारको त्यो निक्षेपको निश्चित प्रतिशतसम्मको ऋण लिन पनि पहिले बैंकको शाखा धाउनु पर्ने र कम्तीमा दुई दिनको चक्कर लगाएर मात्र ऋण लिन सक्ने अवस्था थियो। तर अब भने घरमा नै बसीबसी तपाइले ऋण लिन सक्नु हुन्छ, एन बैंक मार्फत। त्यो पनि तुरुन्तै। 

बैंकका अनुसार एन बैंक सञ्चालन गरेको दुई हप्तामै दुई हजार भन्दा बढी ग्राहकहरू यस मार्फत जोडिसकेका छन् । नबिल बैंकको सम्पूर्ण शाखाबाट खोलिने खाताको संख्या भन्दा बढी खाता एन बैंकको एपबाट खोल्ने लक्ष्य बैंकले राखेको छ ।    

के हो एन बैंक ?

एन बैंक मोबाइल बैङ्किङ एपलाई पूर्ण रूपमा परिमार्जन सुरु गरिएको डिजिटल बैंक हो । नबिल स्मार्ट बैंक एप प्रयोग गरिरहेका ग्राहकहरूले त्यसलाई नै अपडेट गर्दा यो प्राप्त हुन्छ। पहिले लोगोमा भएको ‘ए’  भने एन बैंकमा ‘एन’मा परिणत हुन्छ । 

एन बैंक खाता होइन, यो एक एप हो। एन बैंक नबिल बैंकको भर्चुअल शाखा हो। नयाँ र आधुनिक प्रयोगकर्तालाई इन्टरफेस प्रदान गर्न पहिलेको एपको लुक एन्ड फिल अपडेट गरिएको छ । नबिल बैंकमा खाता नखोलेका ग्राहकले पनि अब आफ्नो मोबाइलमा रहेको एन बैंक एपबाट बैंक खाता खोल्न सक्नेछन् । एन बैंकमार्फत् खाता खोल्न जम्मा ३० सेकेन्ड लाग्नेछ । एन बैंक एपबाट ग्राहकहरूले अब सिधै आफ्नो बैंक खाता खोल्नेदेखि ऋणका लागि आवेदन दिनसम्मका सम्पूर्ण गतिविधिहरू गर्न सक्नेछन् ।   

यसमा २४ सै घण्टा कस्टुमर केयर सर्पोट रहेको छ । यसका साथै २४ सै घण्टा भिडियो केवाईसीको सुविधा समेत उपलब्ध रहेको छ । यो एपमा लगइन नगरी पनि धेरै सेवाहरू पाउन सकिन्छ । 

यी हुन्, प्रमुख विशेषता  

एन बैंक एपबाट ३० सेकेन्डभित्रै एनसेभिङ खाता खोल्न सकिन्छ। खाता खोल्न ग्राहकले आफ्नो नाम, जन्म मिति, इमेल ठेगाना, मोबाइल नम्बर र नागरिकता नम्बर मात्र भर्नुपर्नेछ । खोलिएको खाता ग्राहकहरूले आफ्नो केवाइसी अद्यावधिक गर्नुभन्दा पहिले १५ दिनका लागि सञ्चालन हुनेछ । 

केवाइसी अद्यावधिक पनि त्यही एपबाट नै गर्न सकिनेछ । कुनै डकुमेन्ट मिलेन भने इमेल मार्फत बैंकले जानकारी गराउनेछ । सच्याउने काम पनि ग्राहकहरूले आफ्नो एन बैंक एपबाट सिधै गर्न सक्नेछन् । एन बैंक छुट्टै जस्तो देखिए पनि खाता खोलिसकेपछि ती ग्राहक नबिल बैंकका ग्राहक नै हुनेछन् । यो खातामा पैसा राख्दा डराउनु पर्दैन। भौतिक खातामा झैँ ग्राहकको पैसा नबिल बैंकमा सुरक्षित नै रहन्छ ।   

त्यस्तै, नेपालभित्र पैसा पठाउने बाहेक विदेशमा बस्ने ग्राहकले एन रेमिट छनोट गरेर आफ्नो मास्टर कार्ड वा भिसा कार्डहरू प्रयोग गरेर आफ्नो अन्तर्राष्ट्रिय बैंकहरूबाट सिधै नबिल बैंकको खातामा पैसा पठाउन सकिनेछ । प्रेषक र प्रापक विवरणहरू सहित (अमेरिकी डलरमा) पठाइने रकम सहितको फारम मात्र भरे पुग्नेछ । प्राप्त कर्ताले केही सेकेन्डमा नबिल बैंक खातामा पैसा सिधै प्राप्त गर्न सक्नेछन् ।   

एन बैंक एपबाट सिधै ऋणका लागि डिजिटल आवेदन दिन सकिनेछ । यसबाट नबिल फोन लोन र लोन अगेन्स्ट फिक्स डिपोजिट गरी दुई प्रकारका डिजिटल ऋण लिन सकिनेछ । ग्राहकले आफ्नो ६ महिनाको कारोबार इतिहासको आधारमा नबिल फोन लोन प्राप्त गर्न सक्छन् । बैंकको अल्गोरिदमले उपयुक्त क्रेडिट सीमा निर्धारण गर्छ । योग्य ग्राहकले ऋणका लागि दर्ता गर्न सक्छन् । ग्राहकको एनबैंक एपबाट सिधै तोकिएको सीमासम्म आवेदन दिन सक्छन् । 

विदेशमा बस्ने ग्राहकले आफ्नो अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी एन बैंक एपमा दर्ता गर्न र आफ्नो नबिल बैंक खाता सञ्चालन गर्न सक्नेछन् ।  विदेशमा बस्ने ग्राहकले नबिल बैंकबाट एसएमएस अलर्ट, ओटिपी, सूचनाहरू, समाचार र अलर्टहरू पनि प्राप्त गर्नेछन् । 

बैंकले आफ्ना ग्राहकलाई बैंकको कस्टमर केयर सेन्टर र भिडिओ केवाइसी मार्फत २४ सै घण्टा सेवा प्रदान गर्नेछ । एन बैंकको कुनै सेवा प्रयोग गर्दा आउन सक्ने समस्यालाई तुरुन्तै समाधान गर्ने मनसायले यो सुविधा सञ्चालन गरिएको छ । नयाँ डेबिट कार्ड, डेबिट कार्ड प्रतिस्थापन, क्रेडिट कार्ड, व्यक्तिगत ऋण लगायत सेवाहरू समेत सो एपबाट लिन सकिन्छ।  

अनलाइनबाटै ऋण पाइने 

एन बैंक चलाएपछि ऋण लिन बैंकको शाखा कार्यालय धाउनै पर्दैन । यसमा खाता खोल्नेदेखि ऋणसम्मको सुविधा तुरुन्तै पाइन्छ । एन बैंकमा खाता नखोले पनि यस एपबाट कुनै पनि व्यक्तिले बिल भुक्तानी लगायतको काम गर्न सक्नेछन् ।  

नबिल बैंकले पहिलादेखि नै नबिल फोन लोन भनेर ल्याएको थियो । तर, अहिले एन बैंक लोन भनेर ल्याइएको छ। यो लोन दुई प्रकारका ग्राहकहरूले लिन सक्छन् । जसमा बचत खातावालाहरू र क्युआर मर्चेन्टहरु रहेका छन् ।  

बचत खातावालहरूलाई ६ महिनाको कारोबार (ट्रान्जेसन हिष्ट्रि) हेरेर दुई लाखसम्मको ऋणको सीमा तोकिन्छ । यसमध्ये कति पैसा लिने हो आफ्नो हिसाबले ग्राहकले माग गर्न सक्नेछन् । उक्त ऋण तीन महिना, ६ महिना, ९ महिना र १२ महिना गरेर किस्तामा ऋण तिर्न सकिन्छ । यसबाहेक निर्धातिर समय भन्दा अगाडी पैसा तिर्छु भनेर ग्राहकले चाहेमा त्यो पनि पाइने सुविधा यसमा रहेको छ । 

अर्को क्युआर मर्चेन्टहरुले नबिल बैंकको क्युआर लिएका छन् भने त्यस्ता प्रोप्राइटर वा व्यक्तिको विगत एक महिनाको कारोबार हेरिन्छ । जसमा एक महिनाभित्रमा १० हजार रुपैयाँसम्मको क्युआर मार्फत कारोबार गरेको हुनुपर्छ । यसमा पनि दुई लाखको लिमिट तोकिएको छ । यसमा पनि ग्राहकले तुरुन्तै ऋण पाउन सक्छन् । लिएको ऋण तिर्न पनि शाखा कार्यालयहरूमा धाउनु पर्दैन । त्यही एप मार्फत ऋण तिर्न मिल्छ । 

एप चलाउन कति पैसा लाग्छ ? 

यो एप प्रयोग गर्दा पैसा लाग्दैन । यसको नवीकरणको लागि वार्षिकरुपमा तीन सय रुपैयाँ भने ग्राहकले तिर्नु पर्ने हुन्छ । कारोबार गर्दा सूचना प्रवाह गर्न एसएमएस मार्फत सूचनाहरू पठाउनु पर्ने भएकोले उक्त चार्ज लिइएको बैंकको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस