
काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा बिहिबार सोल्टी होटलमा बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा सफलताका साथ सु–सम्पन्न भएको हो । सो सभाबाट सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
बंैक तथा सभाका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले साधारण सभामा संचालक समितिको प्रतिवेदन पढि प्रस्तुत प्रस्तावहरुमा छलफल गरि अनुमोदनको लागि प्रस्तुत गरे ।
उनले बैंकका निवर्तमान अध्यक्ष तथा संस्थापकज्यूहरु हिमालय शम्शेर राणा, स्व. नरसिह बहादुर श्रेष्ठ, स्व. मोहन गोपाल खेतान, मनोज बहादुर श्रेष्ठ, तुलसी प्रसाद गौतम लगायत संचालक समितिका सदस्यहरुलाई बैंक स्थापनाकाल देखि देशको एक सबल र उत्कृष्ट बैंक बनाउन पुर्याउनु भएको योगदानको लागि विशेष धन्यवाद प्रदान गरे ।
साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहित सोही आ.व. को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयरले हुने जम्मा रु. १.०३ अर्ब तथा ११.११ प्रतिशत नगद लाभांशले (कर सहित) हुने जम्मा रु. १.४४ गरी कुल १९.११ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ । उक्त साधारणसभाले बिजय बहादुर श्रेष्ठलाई निर्बिरोध रुपमा सर्वसाधारण शेयरधनीका तर्फबाट संचालक समितिमा निर्वाचित गरेको छ ।
सो साधारण सभाबाट हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई स्वाप रेसियो १०० बराबर ८०.२८ (सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरुले हिमालयन बैंकको ८०.२८ कित्ता शेयर पाउने) शेयर आदान प्रदान अनुपातमा प्राप्ति गर्ने प्रस्ताव लगायतका अन्य प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति पश्चात “हिमालयन बैंक लिमिटेड” कै नाममा एकिकृत कारोबार गर्नेछ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको कूल अधिकृत पूँजी रु. २६ अर्ब हुनेछ भने जारी तथा चुक्ता पूँजी रु. २१.६५ अर्ब भन्दा बढी हुनेछ । प्राप्ति पश्चात बंैकको कूल पूँजीकोष रु. ३६.६९ अर्ब भन्दा बढी हुनेछ ।
प्रतिक्रिया दिनुहोस