aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कर्णाली प्रदेशका सहकारीको कुल पुँजी ३०.७७ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ पुस २०७९
कर्णाली प्रदेशका सहकारीको कुल पुँजी ३०.७७ प्रतिशतले बढ्यो

काठमाडौं । कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल पुँजी बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन अनुसार समिक्षा अवधिमा उक्त प्रदेशको सहकारी संस्थाहरुको कुल पुँजी ३०.७७ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्षमा यस्तो पुँजी ५९.३७ प्रतिशतले बढेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को असार मसान्तमा २४.६७ प्रतिशतले बढेको कुल बचत चालु आर्थिक वर्षमा ६.१० प्रतिशतले बढेको देखिन्छ ।

कर्णाली प्रदेशका बचत तथा ऋण सहकारी संस्थाहरुको पुँजी, बचत, ऋण, सदस्य संख्या र ती संस्थाबाट सिर्जीत रोजगारी संख्याको अवस्था विश्लेषण गर्न रुकुम पश्चिमबाट ३, दैलेखबाट २, सुर्खेतबाट ४ र कालिकोटबाट १ गरी जम्मा १० वटा सहकारी संस्थाहरु छनौट गरी सो नमुनाका आधारमा यस प्रदेशको समग्र सहकारी क्षेत्रको विश्लेषणात्मक अध्ययन गरेको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा वर्षमा कुल ऋण प्रवाह करिव १८.०४ प्रतिशतले वृद्धि भएको छ । यो तथ्याङ्क अघिल्लो आर्थिक वर्षमा करिव २८.२५ प्रतिशतले बढेको थियो । सहकारी संस्थामा आवद्ध सदस्य संख्यामा पनि समीक्षा वर्षमा वृद्धि भएको देखिन्छ । गत वर्षमा ८.५७ प्रतिशतले बढेको सदस्य संख्या समीक्षा वर्षमा ९.४६ प्रतिशतले वृद्धि भएको छ । 

समीक्षा वर्षमा सहकारी संस्थाले सिर्जना गरेको रोजगारीमा ६.२५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै गत वर्षमा ५.५६ प्रतिशतले घटेको सहकारी संस्थाको शाखा संख्या समीक्षा वर्षमा ५.८८ प्रतिशतले वृद्धि भएको छ । यस अध्ययनबाट यस प्रदेशका सहकारी संस्थाहरुले कुल पुँजी र कुल बचतको तुलनामा अधिक मात्रामा कर्जा प्रवाह गरेको प्रष्ट हुन्छ । 

प्रतिक्रिया दिनुहोस