aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
एटीएम ह्याक कसरी गर्छन् ?

यसरी हुन्छ एटीएमबाट पैसा चोरी (भिडियो सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ भदौ २०७६

काठमाडौं । एटीएमका पूर्वाधार मा खासगरी चार प्रकारका आक्रमण हुन्छ । त्यसमा पहिलो आक्रमण भनेको कार्डको क्लोनिङ गरेर गरिने आक्रमण हो । यसबाट पैसा निकाल्न धेरै ठूलो सीप र प्राविधिक ज्ञान चाहिँदैन । यसमा कार्डको सूचना सामाजिक संरचना, सम्बन्ध आदिबाट प्राप्त गर्ने गरिन्छ । व्यक्तिगत सूचनाको चोरी, एटीएमको स्विचमा नै आक्रमण गरी यस्तो काम गरिन्छ ।

यो विधिबाट चोरी गर्दा ठूलो गिरोह नै संलग्न हुन्छ । त्यो गिरोहले मानौ चोरी गर्न मानिस नेपाल पठाउँछन् । उनीलाई सादा कार्ड मात्र पहिले दिइन्छ र पछि इमेलबाट पिन कोड पठाइन्छ । यहाँ ती कार्डलाई प्रयोग गरेर पैसा निकालिन्छ । यसमा त्यसलाई स्वीकृत गर्ने काम पेमेन्ट प्रोसेसरले गर्ने हुनाले यो सामान्य बैंकिङ ट्रान्जेक्सन जस्तो देखिन्छ ।

यसरी नेपालबाट पैसा झिक्दा पनि नेपालको बैंकलाई नोक्सान हुँदैन । यहाँको बैंक र ग्राहकको पैसा चोरी हुँदैन ।  त्यही मुलुकका ग्राहकको पैसा घट्छ । त्यो कार्ड जारी गर्ने बैंक नै प्रभावित हुन्छ । यो चोरी विधि धेरै नै प्रचलित किसिमको हो । नेपालमा पटक–पटक भइरहेको चोरी पनि यही विधिबाट भएको देखिएको छ । यसबाट ठूलो नोक्सान हुँदैन । १/२ करोडसम्मको मात्र चोरी हुन्छ ।

नेपालमा भएको घटनामा पनि एटीएम मात्र यहाँका प्रयोग भएका हुन् । त्यसको सबै अकाउन्टिङ बाहिरकै बैंकबाट हुन्छ । यस प्रकारका चोरले जुन मुलुकमा एटीएमको सुपरीवेक्षण हुन्छ त्यहाँ गएर पैसा निकाल्ने गर्छन् । उनीहरु नेपाल आउनुको प्रमुख कारण पनि यही हो । 

दोस्रो,   यो विधिमा एटीएम नै कम्प्रमाइज  गराइन्छ । एटीएमको पूरै प्रणाली नै आक्रमणकारीले कब्जामा लिन्छन् । यसमा अथेन्टिकेसन लिने काम नै नगरी सिधैं एटीएमबाटै चाहिए जति पैसा निकाल्ने गर्छन् । यसमा उनीहरुलाई केही विशेष सीपको जरुरी हुन्छ । यसमा पूरै नोक्सानी यहीको स्थानीय बैंकलाई हुन्छ । यसमा बैंकका ग्राहकको भने कुनै पैसा चोरी हुँदैन । बैंकले नै नोक्सान व्यहोर्नु पर्छ ।

तेस्रो, यो विधिमा एटीएमको स्विच कम्प्रमाइज गराउने हो । यो विधिमा कार्ड छिराइन्छ । कार्डले पठाएको जे जस्तो सूचना पनि स्विचले स्वीकार गर्छ । अनुमति दिन्छ । यसमा स्विच नै आक्रमणकारीको  नियन्त्रणमा हुन्छ ।

यो केही बढी जटिल प्रविधिको प्रायोगबाट हुने गर्छ । यसबाट ठूलो मात्रामा पैसा निकाल्न सकिन्छ भने जुन बैंकको एटीएमबाट पैसा निकालिन्छ । त्यसलाई नै मात्र क्षति हुन्छ । यो त्यति धेरै र बारम्बार हुने आक्रमण होइन ।

चौथो, पेमेन्ट प्रोसेसर कम्प्रमाइज । यो अत्यन्त कम हुने आक्रमण हो । यस्तो आक्रमण अहिलेसम्म खासै भएको छैन । यदी यो आक्रमण भयो भने धेरैवटा बैंक र ग्राहकको पैसा नोक्सान हुन्छ ।

(साइवर सुरक्षा विज्ञ दिवस न्यौपानेसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस