काठमाडौं । एटीएमबाट पैसा चोरी भएको घटना सार्वजनिक भएसँगै नेपालका एटीएम कति सुरक्षित छन् भन्ने बहस शुरु भएको छ । बैंकले सामान्यतया एटीएम मेसिनको (बुथको) सुरक्षामा ध्यान दिने तर यसको समग्र सञ्जालको संरचनागत सुरक्षालाई बेवास्था गरेकै कारण पटक–पटक यस्ता घटना दोहोरिने गरेको यो क्षेत्रका बिज्ञहरुको भनाइ रहेको छ ।
नेपाल राष्ट्र बैंकका पूर्वसूचना प्रविधि प्रमुख तथा सूचना प्रविधि सुरक्षाविद् दिवस न्यौपानेका अनुसार नेपाली बैंकले २४सै घण्टा अनुगमन र सुपरीवेक्षण नगरेकै कारण यसप्रकारका विदेशी चोर ले नेपाललाई निशानामा राखिरहेका हुन् । यदि बैंकको सुपरिवेक्षण प्रणाली चुस्त हुने हो भने कुनै विशेष एटीएमबाट अत्याधिक कारोबार भएको तुरुन्तै थाहा हुन्छ । जसले गर्दा त्यस्तो अवास्भाविक कारोबारको निगारानी र आवश्यक कारबाही गर्न सकिन्छ ।
कतिपय मानिसले यहाँका बैंकहरुले राम्रा र सुरक्षित प्रणाली नराखेको कारण यस्ता चोरीको घटना सम्भव भएको आरोप समेत लगाउने गरेका छन् । तर, उनी भन्छन–‘ कारण त्यो होइन, बरु यसको सुपरीवेक्षणमा गरिएको कन्जुीयाईको उपज हो यो । ’ त्यसैले यसलाई रोक्न बैंक चनाखो हुनु जरुरी हुन्छ । यदि कहींबाट एटीएम नै रित्तो हुने गरी पैसा निकालिएको छ भने त्यसको तुरुन्तै सूचना आउने गरी प्रणाली जडान गर्नुपर्छ । यदी एक वा दुईवटा एटीएमबाट रित्तो हुने गरी पैसा निकालियो भने त्यसमा केही गडबड छ भन्ने बुझ्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस