
काठमाडौं । नेपालको बैंकिङ प्रणाली ह्याक गरी एटिएमबाट पैसा लुट्ने चिनियाँ समूहका थप ४ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले थप ४ जना पक्राउ परेको पुष्टि गरे । उनका अनुसार शनिबार राति पक्राउ परेका ५ जना चिनियाँहरुको बयानका आधारमा ३ जनालाई ठमेलबाट पक्राउ गरिएको हो ।
अर्को १ जनालाई भने अध्यागमन विभागको मद्दतबाट पक्राउ गरिएको एसपी सिंहले बताए ।
‘अहिले थप ४ जना पक्राउ परेका छन् । उनीहरुलाई यहाँ (महानगरीय प्रहरी परिसर) ल्याउने काम भइरहेको छ । यहाँ पु¥याएर प्रारम्भिक अनुसन्धान गरेपछि थप केही खुल्छ,’ एसपी सिंहले भने ।
एसपी सिंहका अनुसार अध्यागमन विभागको सहयोगमा पक्राउ परेका व्यक्ति भने प्रहरीको फरार सूचीमा थिए । एटिएम ह्याक प्रकरणमा प्रहरीले ३ जनालाई फरारको सूचीमा राखेको थियो । जसमध्ये १ जना आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो भने सोहीमध्येका अर्का १ जना सोमबार पक्राउ परेका हुन् ।
एसपी सिंहले पक्राउ परेका ४ जनौ नै चिनियाँ नागरिक भएको जानकारी आएको बताए । यद्यपि थप अनुसन्धान हुन भने बाँकी रहेको सिंहको भनाइ छ ।
नेपालका बैंकहरुको एटीएम ह्याक गरी रकम झिक्ने चिनियाँ नागरिकले पैसा साट्न प्रयोग गरेको दुई मनी एक्सचेन्जका सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपालय मनी एक्सचेन्ज र डेक्सो मनी एक्सचेन्जका सञ्चालक रहेका छन् । मनी एक्सचेन्जका सञ्चालकहरु देवनाथ लामा रोशन श्रेष्ठ र रेवती दवाडीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चिनियाँ ह्याकरहरुले काठमाडौंको ठमेलमा रहेको ती दुई मनी एक्सचेन्जबाट २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ डलर लिएका थिए ।
स्रोत नखुलेको रकम साटेकाले अनुसन्धानका लागि पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस