aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पूर्णसिंह साउदः जसलाई कृषि विकास बैंकले केराको डाक्टर बनायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ माघ २०७९
पूर्णसिंह साउदः जसलाई कृषि विकास बैंकले केराको डाक्टर बनायो

महेन्द्रनगर बजारबाट हल्दुखाल हुँदै उत्तरतर्फ जाँदै गर्दा स्थानीयहरूलाई केराका डाक्टर कता बस्नुहुन्छ ? भनेर सोधेमा थाहा लाग्छ– कञ्चनपुर जिल्लाको उत्तर पश्चिमी क्षेत्र भिमदत्त न.पा. वडा नं. १० तिलकेनी बस्ने ५२ वर्षीय पूर्णसिंह साउदको घर । उनलाई सो क्षेत्रमा यही नामले चिनिँदो रहेछ । ११ वर्षको कलिलो उमेरमा बुबाको अभिभावकत्व गुमाएका सावद हाल सो क्षेत्रका धेरैको अभिभावकको रूपमा परिचित छन् । 

बुबाको निधनपछि जेठी दिदी, आमा र उनको टाउकोमा सम्पूर्ण घरको आर्थिक भार पर्यो ।  परिवारको हातमुख जोर्ने सिलसिलामा उनले सानै उमेरमा नै काँचो मकै लगेर नेपाल भारतको सीमानामा रहेको गड्डाचौकी भन्सार नाकामा सडक किनारामा बसेर पोलेर बेच्ने काम समेत गरे । त्यसरी मकै पोलेर आफ्नो र भाइबहिनीहरूको पढाइ खर्च जुटाउने गरेको कुरा उनको स्मृतिमा ताजै छ । 

उनी वयस्क हुँदै गर्दा अर्काको खेत समेत जोत्न जान्थे । एकपटक उनले ४ बिगाह खेत जोतेवापत एक हजार पाँच सय रूपैयाँ हात पारी नयाँ स्कुल ड्रेस, कापी, किताब र कलम किनेको अहिले पनि झलझली सम्झिन्छन् । जेनतेन एसएलसीसम्म पढाइ गरेका साउद त्यसपछि करारमा सीप विकास तालिम केन्द्र महेन्द्रनगरमा जागिर गर्न थाले । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कार्यालयको काममा व्यस्त हुने सायद बाँकी समय परमा खेतीपातीकै काम गर्थे । 

परम्परागत खेतीबाट मात्रै केही नहुने देखेपछि २०५२ सालमा उनले १ कट्ठा जमीनमा केरा खेती लगाउनेबारे सोचे । उक्त खेतीबाट उहाँलाई नौ हजार आम्दानी भएपछि त्यसैबाट हौसिएर अर्को वर्षदेखि निरन्तर रूपमा केरा खेती विस्तार गर्दै जान थाले । 

यस क्रममा वि.सं. २०५७ सालमा कृषि कार्यका लागि कर्जा प्रदान गर्ने बैंक भनेर चिनिएको कृषि विकास बैंकमा गएको र तत्कालीन अवस्थामा महेन्द्रनगरमा रहेका बैंकका दुईवटा शाखाहरूमध्ये विकास बैंक शाखाको रूपमा रहेको शाखाबाट ६० हजार कर्जा लिई कारोबारको सुरुवात गरेका थिए । हाल उनले बैंकबाट सञ्चालन पुँजी कर्जा ४५ लाख रुपैयाँ लिई कारोबार गरिरहेका छन् । 

कृषि बैंकबाट कर्जा लिइसकेपछि कारोबार विस्तार गर्न उनलाई निकै सहजता महसुस हुँदै गयो । सुरुमा केराको फलको मात्रै व्यवसाय गरिरहेका साउदले केही समयपछि टिस्यूकल्चर प्रविधिबाट केराको बेर्ना समेत बनाउन सुरुवात गरे । महेन्द्रनगर क्षेत्रम त्यस प्रकारको सुरूवात गर्ने उनले सुरूमा टिस्यूकल्चरबाट उमारिएका स–साना केराका बेर्ना रोप्न लागेको देखेर ’यति ज्यादा जग्गामाई हल्दाको बोट लगाइबर के गददा है बा ? (यति धेरै जग्गामा बेसारको बोट लगाएर के गर्ने बाबु) भनेर अग्रज गाउँले काकाले सोधेका थिए । उनले ‘यो बेसार होइन काका, केराको बोट हो ।

यसले राम्रो केरा उत्पादन हुन्छ’ भन्दा काकाले ’कति ठूला ठूला केराका बोट लगाउँदा त राम्रो उत्पादन हुँदैन, यति सानो बोट लगाएर के उत्पादन होला र भनेर कुरा काटेका थिए । तर पछि उक्त केराको उत्पादन देख्दा सबैले प्रशंसा गरेको उनी बताउँछन् । त्यसपछि बिस्तारै मानिसले उनलाई गाउँभरि केराका डाक्टर’ भनेर चिन्न थाले । 

हाल आफ्नो १५ कठ्ठा र भाडामा २२ बिगाह जमीन लिएर केरा खेती गरिरहेका साउद केरा खेती आफ्नो अम्मल जस्तै भइसकेको बताउँछन् । उनले यही केराखेतीका लागि २५ वर्षे जागीरे जीवनबाट समेत राजीनामा दिएर लागि परेका छन् छ । हाल तिनै केराका डाक्टरले करिब १ करोड २० लाखको लागतमा २२ बिगाहभन्दा बढी जमीनमा केराको व्यावसायिक खेती गरिरहेका छन् । 

अघिल्लो वर्ष ६८ लाख रूपियाँको केरा र ४० लाख रूपियाँको बिरुवा बिक्री गरेर मनग्य आम्दानी गरेका साउदले आफ्नो प्रकाश केरा फार्म तथा प्रशोधन केन्द्रमा ४ जनालाई नियमित र २० जनालाई आंशिक रूपमा काम गर्ने कर्मचारीको रूपमा रोजगारी प्रदान गरिरहेका छन् ।

आफ्नो उत्पादनको बिक्री वितरण सुदूरपश्चिम प्रदेशका ठूला बजारहरू महेन्द्रनगर, अत्तरिया, धनगढी, डडेल्धुरा लगायतमा हुने गरेको बताउने साउद भारतबाट आयातित केराले नेपाली केराको बजारमा अप्ठ्यारो परेको बताउँछन् । भारतीय केराले सिजनका बेला अनावश्यक रूपमा सस्तो मूल्यमा बजार प्रवेश गर्ने तथा अफ–सिजनका बेलामा सोको क्षतिपूर्ति गर्न उच्च मूल्य कायम गर्ने उनी बताउँछन् । 

यसका लागि सरकारी पहल आवश्यक रहेको उनी  लगायतका जानकारहरू बताउँछन् । वि.सं. २०७६ सालमा आएको हावाहुरीले केरामा भएको क्षतिको बीमा दाबीका लागि बीमा समितिसम्म पुग्नु परे पनि हाल बीमा प्रक्रियामा सहजता भएको उनी बताउँछन् ।

स्वदेशमै बसेर पनि कृषि व्यवसायबाट उल्लेख्य प्रगति गर्न सकिन्छ भन्ने उदाहरण बनेका  केराका डाक्टरले यसै व्यवसायको आम्दानीबाट घर निर्माण गर्नुका साथै जेठो छोरालाई सूचना प्रविधि विषयमा फ्रान्समा स्नातकोत्तरको पढाइ तथा अर्को छोरालाई ४ वर्ष जापानमा पढाउन सफल भएको र छोरीलाई काठमाडौमा पढाइरहेको बताउँछन् । 

वि.सं. २०५७ सालमा सुरूवाती दिनमा कर्जा माग गर्न जाँदा बैंकमा केही कठिनाइ भएकोमा दुःख भएता पनि तत्पश्चातका बैंक कर्मचारीहरूको व्यवहारले बैंकको व्यवहार आफ्नो घरकै सदस्य जस्तो लागेको र बैंकको सेवाप्रति पूर्णरूपमा सन्तुष्ट रहेको उनी बताउँछन् ।

आफू नै संलग्न रहेर निरन्तर रूपमा व्यवसाय गरेमा सफल भइन्छ भन्ने उदाहरण बनेका साउद वास्तविक रूपमा गरिखाने कृषकलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउनमा कृषि विकास बैंकले अग्रता लिइरहेको र भविष्यमा पनि यसलाई निरन्तरता दिन सुझाव दिन्छन् । (सफलताको कथाबाट साभार) 

प्रतिक्रिया दिनुहोस