aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तीन अर्ब बढिको मागदावी गर्दै ४२ सय ओरेण्टल पीडितले दिए आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ माघ २०७९
तीन अर्ब बढिको मागदावी गर्दै ४२ सय ओरेण्टल पीडितले दिए आवेदन

काठमाडौं । ओरेण्टल को–अपरेटिभ लिमिटेडका पीडित बचतकर्ताको संख्या ४ हजार २ सय पुगेको छ ।  पछिल्लोपटक थपिएको म्यादसँगै पीडितहरुको संख्या पनि बढेको हो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार उक्त सहकारी विरुद्ध ४ हजार २ सय जना बचतकर्ताहरुले ३ अर्ब रुपैयाँ भन्दाबढिको मागदावी गरेका छन् । ‘यसअघि आवेदन माग गरिएकोमा ३ अर्ब २२ करोड ७२ लाख रुपैयाँ मागदावी परेको थियो । तर, त्यसलाई भेरिफाइ गर्दा हालसम्म जम्मा ३ अर्ब रुपैयाँको मागदावी परेको देखिन्छ’, समितिको कार्यालय प्रमुखसमेत रहेका सदस्य सचिव केशवप्रसाद पौडेलले भने । 

ओरेण्टल सहकारीका पीडितहरु काठमाडौं उपत्यका बाहिरका पनि रहेका छन् । उनीहरुले आवेदन दिनका लागि समय थप गर्नुपर्ने माग राखेको थिए । उनले उपत्यका बाहिर रहेका पीडितहरुले आवेदनको समय थप गर्न माग गरेकाले पुस मसान्तसम्म पुर्याइएको समेत बताए । 

समितिको कार्यालयले पहिलोपटक मङ्सिर ९ गते सूचना जारी गरेको थियो । त्यसपछि समितिले मंसिर २३ गते १५ दिनको समय थप गरी ओरेण्टल पीडितलाई अनलाइनमार्फत मागदावी गर्न सूचना प्रकाशित गरेको थियो । 

सरकारले पहिलोपटक २०७४ कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेण्टल को–अपरेटिभ लिमिटेडले देशभर नौ शाखा खोली १० अर्ब रुपैयाँ भन्दामाथि बचत सङ्कलन गरेर भागेको अभिलेख पाइएको समितिको कार्यालयले जनाएको थियो । यसअघि माग दावी गर्नेमा सहकारीका बचतकर्ताको साँवा, ब्याज, शेयर र अपार्टमेन्टको समेत गरी १० अर्ब रुपैयाँ भन्दामाथि पैसा फिर्ता गर्नुपर्ने अभिलेख रहेको समितिले जनाएको छ । 

विसं २०७४ मा सहकारी मन्त्रिस्तरीय निर्णय गरी ओरेण्टललाई समस्याग्रस्त घोषणा गरिएको थियो । ओरेण्टललाई समस्याग्रस्त घोषणा गरेको केही समयमै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्चले २०७६ फागुन ११ गते सहकारीलाई नै बचत फिर्ताको समस्या समाधान गर्न आदेश दिएको थियो । सहकारी सञ्चालक समितिले समस्या समाधान नगरेपछि सरकारले दोस्रोपटक ओरेण्टललाई समस्याग्रस्त घोषणा गरेको हो ।

यस वर्ष गत असोज ७ गते सरकारले दोस्रोपटक ओरेण्टललाई समस्याग्रस्त घोषणा गरेको थियो । दोस्रोपटक समस्याग्रस्त घोषणा गरेपछि यही मङ्सिर ९ गतेदेखि एक महिनाको समय दिएर पीडितहरुलाई मागदावी गर्न भनिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस