
कुमारी र एनसीसीको मर्जरपछिको शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले मर्जरपछि कायम भएको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरेको छ । मर्जरपछि कायम कुल २६ करोड २२ लाख ५८ हजार ६१३ दशमलव ५७ कित्ता शेयर कुमारी बैंकको नाममा माघ ५ गते नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत गर्नुअघि बैंकले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) मा माघ ४ गतेनै खर्ता गराईसकेको छ । साविक कुमारी बैंकको १४ करोड ७१ लख ११ हजार ८३२ दशमलव ५७ कित्ता र साविक एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता शेयर नेप्सेमा कारोबारयोग्य भएको हो ।
कुमारी बैंक र एनसीसी बैंककले कुमारी बैंकको नामबाट गत पुस १७ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन । एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्ज भएका यी दुई बैंकका शेयरधनीहरूले आइतवारदेखि कुमारी बैंकको नामबाट शेयर कारोबार गर्न सक्नेछन् ।
सिडिएससीले मर्जर पछि कायम शेयर स्वाप रेसियोका आधारमा सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा शेयर जम्मा हुने व्यवस्था मिलाईसकेको छ । एकिकृत कारोबारका दिनदेखि रोक्का रहेको दुबै बैंकको शेयर कारोबार फुकुवा गर्ने निर्णय पनि नेप्सेले गरेको छ ।
पछिल्लो समय जारी भएको मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिकामा एकिकृत कारोबार गरेको बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का हुने व्यवस्था छ ।
यो बैंकले निर्देशिकामा भएको व्यवस्था बमोजिमनै बढीमा १५ दिनभित्र रोक्का रहेको शेयर कारोबार फुकुवा गर्न सफल भएको हो । गत असोज १० गते मर्जर सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका यी बैंकहरूले तीन महिना पुरा हुँदा मर्जर प्रकृया सम्पन्न गरी एकिकृत कारोबार सुरु गरेका हुन ।
प्रतिक्रिया दिनुहोस