aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

तरलता सहज हुनुमा रिपोको पनि भूमिका, राष्ट्र बैंकले बजारमा पठायो ६ महिनामा अढाई खर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ माघ २०७९
तरलता सहज हुनुमा रिपोको पनि भूमिका, राष्ट्र बैंकले बजारमा पठायो ६ महिनामा अढाई खर्ब

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा देखिएको लगानीयोग्य रकम (तरलता) अभावलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले चालु आर्थिक वर्षमा २ खर्ब ५० अर्ब रुपैयाँ भन्दा बढी रकम बैंकिङ प्रणालीमा पठाइसकेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको माघ ५ गतेसम्म सो बराबरको तरलता रकम बजारमा पठाएको हो । 

गत वर्षको सोही अवधिमा राष्ट्र बैंकले २ अर्ब ३० अर्ब रुपैयाँ बराबरको रकम रिपो मार्फत बजारमा पठाएको थियो। यसको समेत प्रभावका कारण पछिल्लो महिनामा तरलता केहि सहज भएको छ। 

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावलाई व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैकले रिपो मार्फत बैंकिङ प्रणालीमा रकम पढाउने गर्छ । तर, राष्ट्र बैंकले रिपो मार्फत बनाएको तरलताको सहजतालाई बैङ्किङ्ग प्रणालीमा सुधार भएको भनेर व्याख्या गरिंदैछ। तथापि पौष मसान्तको प्रभाव स्वरूप बैंकिंग प्रणालीमा केहि रकम जम्मा भएको पनि सत्य हो। 

राष्ट्र बैंकले गत वर्षको साउन महिनामा राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको थियो । त्यसयता त्यस्तो अवस्था आएको छैन। यदि ब्याजदर नघट्ने हो र आयात खुल्ला नगरिएको अवस्था हुन्थ्यो भने अहिले पनि रिभर्स रिपोको सम्भावना थियो। तर, बैंकले खुलेर लगानी गर्न पाउने र व्यापारीले यो वा त्यो बहानामा ऋण खाने गरी सरकारले नीतिगत परिवर्तन गरिदिएको छ। 

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रशोचन गर्न प्रयोग गर्ने उपकरण ‘रिभर्स रिपो’ हो । त्यो सौभाग्य राष्ट्र बैंकले पाउने र बैंकले पैसा धेरै भो लगानी गर्ने ठाउँ पाइएन भन्ने वातावरण अहिले नै निर्माण हुने देखिँदैन। 

राष्ट्र बैंकले चालु आवको साउन महिनामा सात दिन अवधिको लागि ३० अर्ब रुपैयाँ तरलता बजारमा पठाएको थियो । त्यस्तै, भदौ महिनामा मात्रै राष्ट्र बकले सात दिन अवधिको लागि २० अर्ब रुपैयाँ र १४ दिन अवधिको लागि २० अर्ब रुपैयाँ गरी ४० अर्ब रुपैयाँ बराबरको रकम रिपो मार्फत बजारमा पठाएको थियो ।

त्यसैगरी, असोज महिनामा सात दिन अवधिको लागि ३० अर्ब रुपैयाँ र १४ दिन अवधिको लागि ३० अर्ब रुपैयाँ गरी ६० अर्ब रुपैयाँ बैैंकिङ प्रणालीमा पठाएको थियो । 

मङ्सिर महिनामा राष्ट्र बकले १४/१४ दिन अवधिको लागि दुई पटकगरी ४० अर्ब रुपैयाँ तरलता रकम रिपो मार्फत बजारमा पठाएको थियो । राष्ट्र बैकले बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा अधिकतम सात दिनको अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्छ । तर, बैंकले पुस महिनामा १४ दिन अवधिको लागि २० अर्ब रुपैयाँ र ४५ दिन अवधिको लागि ५० अर्ब रुपैयाँ तरलता रकम बैंकिङ प्रणालीमा पठाएको छ । माघ महिनाको ५ गते राष्ट्र बैंकले १४ दिन अवधिका लागि १० अर्ब रुपैयाँ रकम बजारमा पठाएको छ ।

के हो रिपो ? किन जारी गरिन्छ

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘रिपो’ हो । नेपाल राष्ट्र बैंकले बजारमा तरलता आवश्यक परेको बैंक तथा वित्तीय संस्थाहरूबाट ट्रेजरी बिल  वा  विकास  ऋणपत्र धितोको रूपमा लिई निश्चित ब्याज लिने सर्तमा उक्त संस्थाहरूलाई अल्पकालीन नगद प्रदान गर्दछ । राष्ट्र बैंकले अल्पकालीन सापटी दिँदा बैंकिंग प्रणालीमा तरलता प्रवाह हुन जान्छ ।  

राष्ट्र बैंकले जारी गर्ने रिपो बोलकबोलमार्फत हुन्छ । बैंक तथा वित्तीय संस्थाहरूको नेपाल राष्ट्र बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँटअनुसारको रकम जम्मा गरिदिने भएकाले निश्चित समयावधिका लागि तरलता प्रवाह हुन जान्छ । यसरी तरलता प्रवाह गर्दा बोलकबोल विधिबाट सबैभन्दा बढी ब्याज तिर्न तयार बैंकलाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान  रकमसम्म  बाँडफाँट गरिन्छ । 

प्रतिक्रिया दिनुहोस