aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

बैंकहरुले कमिसनबाट कमाए १३ अर्ब, सर्वाधिक कमाउनेमा नबिल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ माघ २०७९
बैंकहरुले कमिसनबाट कमाए १३ अर्ब, सर्वाधिक कमाउनेमा नबिल

काठमाडौं। हालसम्म २१ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये १५ वटा बैंकहरुको नाफा बढेको छ भने ५ वटा बैंकहरुको नाफा घटेको छ । शायद पहिलो पटक नै हुनुपर्छ एउटा बैंकले भने नोक्सानी नै व्यहोरेको देखिएको छ।  

वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमा नबिल बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, नेपाल बैंक, सिभिल बैंक, प्रभु बैंक, सिटिजन्स बैंक लगायत रहेका छन् । त्यस्तै, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी बैंक, प्राइम बैंक, सनराइज बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, कुमारी बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुले फी तथा कमिसनबाट १३ अर्ब रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । यस अवधिमा बैंकहरुले फी तथा कमिसनबाट १३ अर्ब ९३ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेका हुन् ।

गत आवको सोही अवधिमा बैंकहरुले १३ अर्ब ७३ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेका थिए । गत आवको तुलनामा उक्त आम्दानी १.६४ प्रतिशतले बढी हो । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा फी तथा कमिसनबाट नौ वटा बैंकको आम्दानी बढेको छ भने १२ वटा बैंकको आम्दानी घटेको छ ।

फी तथा कमिसन आम्दानी बढेका नौ बैंक

चालु आवको दोस्रो त्रैमाससम्म ९ वटा बैंकहरुको फी तथा कमिसनको आम्दानी बढेको छ । आम्दानी बढेका बैंकहरुमा नबिल बैंक, एनआईशी एसिया, हिमालयन, कुमारी, ग्लोबल आईएमई, स्ट्याण्डर्ड चार्टर्ड, प्रभु, एभरेष्ट र सानिमा बैंक रहेका छन् ।

सर्वाधिक आम्दानी गर्नेमा नबिल बैंक

यस अवधिमा फी तथा कमिसनबाट सर्वाधिक आम्दानी गर्नेमा नबिल बैंक रहेको छ । बैंकले दोस्रो त्रैमाससम्ममा फी तथा कमिसनबाट एक अर्ब ३४ करोड ३७ लाख १२ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत आवको सोही अवधिको तुलनामा ५५.१० प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा बैंकले फी तथा कमिसनबाट ८६ करोड ६३ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तो छ, अन्य बैंकको अवस्था

उक्त वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्म फी तथा कमिसनबाट सर्वाधिक आम्दानी गर्ने दोस्रोमा ग्लोबल आईएमई बैक रहेको छ । सो बैंकले यस अवधिमा फी तथा कमिसनबाट एक अर्ब २२ करोड ११ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा सो बैंकले फी तथा कमिसनबाट एक अर्ब ११ करोड ३ लाख ९३ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

त्यसैगरी, एनआईशी एसिया बैैंकले फी तथा कमिसनबाट दोस्रो त्रैमाससम्म एक अर्ब १८ करोड ५८ लाख १९ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले फी तथा कमिसनबाट ९८ करोड ७७ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको थियो ।

हिमालयन बैंकको पनि फी तथा कमिसन आम्दानी बढेको छ ।  यस अवधिमा बैंकले फी तथा कमिसनबाट ४९ करोड २२ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको छ । जबकि सो बैकले गत आवको सोही अवधिमा ४६ करोड १० लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।  

त्यस्तै, यस अवधिमा कुमारी बैंकको फी तथा कमिसनको आम्दानी ३०.६६ प्रतिशतले बढ्दा बैंकले दोस्रो त्रैमासम्म्म फी तथा कमिसनबाट ५७ करोड ७ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको छ । सो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले फी तथा कमिसनबाट ६५ करोड ९० लाख २१ हजार रुपैयाँ, प्रभु बैंकले ७८ करोड ३७ लाख ६१ हजार रुपैयाँ, एभरेष्ट बैंकले ६१ करोड ३० लाख ८७ हजार रुपैयाँ र सानिमा बैंकले ५३ करोड ९० लाख ४ हजार रुपैयाँ आम्दानी गरेका छन् ।

१२ वटा बैंकको फी तथा कमिसन आम्दानी घट्यो

उक्त वित्तीय विवरण अनुसार चालु आवको दोस्रो त्रैमाससम्म १२ वटा बैैंकहरुको फी तथा कमिसनको आम्दानी घटेको छ । जसमा सिभिल बैंक, सनराइज, एनएमबी, नेपाल बैंक, सिद्धार्थ, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, सिटिजन्स इन्टनेशनल, लक्ष्मी, प्राइम कमर्शियल र माछापुच्छ्रे बैंक रहेका छन् ।

यस अवधिमा सर्वाधिक आम्दानी घट्नेमा प्राइम कमर्शियल बैंक रहेको छ । गत आवको तुलनामा उक्त बैंकको फी तथा कमिसनको आम्दानी ५९.०४ प्रतिशतले घटेको हो । बैंकले यस अवधिमा फी तथा कमिसनबाट २७ करोड ५४ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ । जबकि गत आवको सोही अवधिमा बैंकले ६७ करोड २५ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, कृषि विकास बैंकको फी तथा कमिसनको आम्दानी २१.४७ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा फी तथा कमिसनबाट ७३ करोड ८२ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको बैंकले चालु आवको दोस्रो त्रैमासम्म्ममा ५७ करोड ९७ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको छ । दोस्रो त्रैमाससम्मको रिपोर्टमा यो बैंक घाटामा गएको देखिएको छ। 

उक्त वित्तीय विवरण अनुसार यस अवधिमा सिभिल बैंकको फी तथा कमिसनको आम्दानी १३.३५ प्रतिशतले घटेको छ । त्यस्तै, सनराइज बैंकको १६.३६ प्रतिशत, एनएमबी बैंकको १.९२ प्रतिशत, नेपाल बैंकको १४.८६ प्रतिशत, सिद्धार्थ बैंकको २.५४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८.८४ प्रतिशत, सिटिजन्स इन्टनेशनल बैंकको ७.३९ प्रतिशत, लक्ष्मी बैंकको ६.९५ प्रतिशत र माछापुच्छ्रे बैंकको फी तथा कमिसनको आम्दानी ३.३३ प्रतिशतले घटेको छ । 

प्रतिक्रिया दिनुहोस