aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

फाइनान्स कम्पनीहरूलाई समेत सतायो खराब कर्जाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ माघ २०७९
फाइनान्स कम्पनीहरूलाई समेत सतायो खराब कर्जाले

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको खराब कर्जा बढेको पाइएको छ । आर्थिक मन्दीका कारण ऋणीहरूले किस्ता नै तिर्न नसक्ने वातावरण बन्दै गएपछि वित्तीय संस्थाहरूले गरेको लगानीमा जोखिम बढेको हो। 

प्रकाशित वित्तीय विवरण अनुसार एक वर्षमा बैंकहरुको खराब कर्जा ११२ प्रतिशतले बढेको देखिएको छ। वाणिज्य बैंक र विकास बैंकको मात्र नभएर वित्तीय संस्थाहरूको पनि खराब कर्जा बढेको ती संस्थाहरूले प्रकाशित गरेको चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणमा देखिएको छ । फाइनान्स कम्पनीको खराब कर्जामा पनि उल्लेख्य वृद्धि भएको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म फाइनान्स कम्पनीको खराब कर्जा ६.९८ प्रतिशतले बढेको छ । हाल सञ्चालनमा रहेका फाइनान्स कम्पनीहरूमध्ये १४ वटा फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा यस्तो देखिएको हो । वित्तीय विवरण अनुसार यस अवधिमा सबैभन्दा बढी खराब कर्जा बढ्नेमा समृद्धि फाइनान्स रहेको छ ।

यस अवधिमा उक्त फाइनान्सको खराब कर्जा १०.२२ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा कम्पनीको खराब कर्जा ३.७ प्रतिशत रहेकोमा चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा बढेर १३.९९ प्रतिशत पुगेको छ ।

त्यसैगरि, ६ महिनामा सेन्ट्रल फाइनान्सको खराब कर्जा ६.०२ प्रतिशत र जानकी फाइनान्स कम्पनीको खराब कर्जा ५.८७ प्रतिशतले बढेको छ । दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको खराब कर्जा २.३२ प्रतिशत र पोखरा फाइनान्सको २.३३ प्रतिशतले बढेको छ ।

तीन फाइनान्सको भने घट्यो खराब कर्जा 

उक्त वित्तीय विवरण अनुसार यस अवधिमा तीन कम्पनीको खराब कर्जा भने घटेको छ । जसमा नेपाल फाइनान्स, मल्टी प्रपोज फाइनान्स र गोर्खाज फाइनान्स रहेका छन् । गत आवको सोही अवधिमा १९.०३ प्रतिशत खराब कर्जा रहेको कम्पनीको खराब कर्जा चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा ४.८४ प्रतिशतले घटेर १४.१९ प्रतिशत रहेको छ ।

त्यस्तै, चालु आवको दोस्रो त्रैमाससम्ममा मल्टी प्रपोज फाइनान्सको खराब कर्जा ०.३९ प्रतिशत रहेको छ जबकि गत आवको सोही अवधिमा कम्पनीको खराब कर्जा २ं.३८ प्रतिशत रहेको थियो । त्यसैगरी, गत आवको सोही अवधिमा ८.१७ प्रतिशत खराब कर्जा रहेको गोर्खाज फाइनान्स खराब कर्जा १.४१ प्रतिशतले घटेर चालु आवको दोस्रो त्रैमाससम्म ७.६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस