aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लिटरको १४४ रुपैयाँमा दूध बेच्दा समेत भैंसी फार्म घाटामा !

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • मंगलबार, १७ माघ २०७९
लिटरको १४४ रुपैयाँमा दूध बेच्दा समेत भैंसी फार्म घाटामा !

काठमाडौं। पोखराको काहुँकोट बहुउद्देश्यीय सहकारी गण्डकी प्रदेश कै उत्कृष्ट मध्येको एक हो। तर, यसैले चलाएको एउटा भैँसी फार्म भने अपत्यारिलो ढङ्गले घाटामा गएको छ। यो तथ्यले केही गम्भीर प्रश्नहरू समेत उब्जाएको छ। एक,किन सहकारीले सञ्चालन गरेका अधिकांश कृषि फर्म घाटामा छन् ? के नेपालमा गाई/भैँसी पालन वास्तवमा नै घाटाको व्यवसाय हो ? समस्या बजारमा छ  कि व्यवसायीमा ? आदि। यी यस्तै धेरै प्रश्नको सपाट जवाफ कसैले दिने गरेको छैन। बरु, सहकारीका आफ्नै कथा भने रोचक हुने गरेका छन्। 

काँहुकोट बहुउद्देश्यीयको वेदना  

काँहुकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बोधराज घिमिरेका अनुसार उनीहरू बि. स. ०७२ सालदेखि उत्पादनमा जोडिएका हुन् । सहकारीले बचत तथा ऋणको काम अर्थात् पैसाको व्यापार मात्र गर्नु हुँदैन भनेर उत्पादन क्षेत्रमा प्रवेश गरेका उनीहरूको निर्णय सही भने साबित हुन सकेन। अहिले वार्षिक रूपमा १३ करोड रुपैयाँ बराबरको दूध उत्पादन हुने गर्छ, उनीहरूले सञ्चालन गरेको भैँसी फर्मबाट । त्यो अहिलेसम्म कच्चा दूधको रूपमा नै बिक्री भइरहेको छ। प्रशोधन गरेर बजारीकरण गर्ने प्रयत्न समेत सफल हुन सकिरहेको छैन। 

सो संस्थाले प्रतिलिटर १४४ रुपैयाँमा दूध बिक्री गर्ने गरेको छ। संस्थाका सदस्य र गैर सदस्यहरूलाई एउटै मूल्यमा दूध बिक्री हुन्छ । बजारको समस्या छैन। तर, फर्म भने बर्सेनि नोक्सानमा नै चलिरहेको छ। हरेक वर्ष भैँसीको सङ्ख्या घट्दो क्रममा छ।  कुनै समय चार सयको हाराहारीमा त्यहाँ भैँसी थिए अहिले जम्मा ८० वटा मात्र छन्। 

घिमिरेका अनुसार अन्य उत्पादनबाट भन्दा दूधबाट नै फाइदा हुने गरेको छ । आधाभन्दा बढी सदस्यहरूले उपभोग गर्छन् । सहकारीले भैँसी पाल्ने थालेपछि स्थानीयहरूले भैँसी पाल्न छाडेको उनी बताउँछन् । त्यसले गर्दा दूधको बजार अझ सुरक्षित बन्यो। तर, समस्या बजारको बढ्दो महँगीले पार्‍यो। उनी भन्छन्, ‘बजारले हामीलाई पेलेको कारणले हामीलाई समस्यामा पारेको छ। भैँसीको आहार नै अत्यधिक महँगो भएको छ। त्यसैले उत्पादन हुने क्षेत्र हाम्रा लागि होइन भन्ने तर्फ हामी लागेको छौँ ।’

उनीहरूले कच्चा पदार्थ र प्रविधि किसानलाई हस्तान्तरण गरी उत्पादनमा लगाउने हाम्रो लक्ष्य राखेका थिए । तर, अहिले उल्टो भएको छ । सहकारीले भैँसी पाल्न थाले पनि किसानले आफ्नो भैँसी बेचे । त्यसपछि आफ्नोमा भएको घाँस प्रतिकिलो ५ रुपैयाँमा सहकारीको फर्मलाई बेच्न थाले।

दूध उत्पादनका लागि आवश्यक पर्ने आहारको मूल्य बढेको छ । त्यसैले उत्पादन लागत महँगो भयो । फलतः लिटरको १४४ रुपैयाँमा बेच्दा समेत नाफा हुन सकेन। उनी भन्छन्, 'दूधको मूल्य निर्धारण गर्ने बेलाको चोकरको मूल्य १ हजार रुपैयाँ थियो, अहिले २२ सय रुपैयाँ पुगेको छ । भैँसी फर्ममा सदस्यको पैसालाई असुरक्षित बनाएर हामी लगानी गदैनौं ।'

फर्मले घाँस खेती पनि गरेको छ । त्यहाँ घाँस उत्पादनको क्षेत्र कम भएका कारण पनि समस्या छ । स्थानीय उत्पादनले मात्रै धान्दैन।  त्यसैले बाहिरबाट ल्याउनुपर्ने हुन्छ । यसले गर्दा सामान्य घाँस/परालमा पनि लगानी धेरै नै हुने गरेको छ। 

अध्यक्ष घिमिरेका अनुसार २०६८ सालदेखि निरन्तर उत्पादनमुलक क्षेत्रमा युवालाई जोड्ने मुख्य उद्देश्यले फार्म सञ्चालन गरिएको हो । उक्त फार्मको लागत २ करोड रुपैयाँ रहेको छ । ४० रोपनी जग्गामा सञ्चालित उक्त फार्ममा मुर्रा जातका ८० वाट भैँसी रहेका छन् । सदस्यहरूलाई त्यहाँको गोबर मल ५० प्रतिशत छुटमा दिने नीति सहकारीको रहेको छ । हाल, दैनिक ३ सय लिटर दूध उत्पादन हुने गरेको छ । ८० प्रतिशत दूधको उपभोग स्थानीयले गर्ने गरेका छन् ।

त्यहाँ कुखुरा पालनका लागि राम्रो ठाउँ छ। बजार नजिक भएका कारणले केही सदस्यहरूले पशुपालन पनि गरेका छन् ।सहकारीको ऋण पनि तिरिरहेका छन्  । हाल ५० जना सदस्यहरूले कुखुरा पालन गरेका छन् । एक जना सदस्यले न्यूनतम ५ सय देखि एक हजारसम्म कुखुरा पालन गरेका छन् । सहकारीले ५ सय कुखुरा पालनका लागि एक लाख रुपैयाँ २ देखि ३ वर्षका लागि ऋण दिने गरेको छ। उनीहरूले धेरै कुखुरा पाल्ने कृषकहरूलाई भने आम्दानीको अवस्था हेरेर ५ वर्षसम्मको लागि ऋण प्रवाह गर्ने गरेको छ।

 

प्रतिक्रिया दिनुहोस