aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

‘बैंकहरुले व्यवसायीको सम्पत्ति लिलाम गरेर सुकुम्वासी बनाउन खोजे’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ माघ २०७९

काठमाडौं । काठमाडौं उपत्यकाका व्यवसायीहरूले सोमबार काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन् । बैंकहरुको आतंका बढेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

गत हप्ता आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यको माग सम्बोधन गर्नेदेखि ब्याजदर घटाउनेसम्मका मागहरू उनीहरूका थिए । यसका साथै उनीहरूले व्यवसायीप्रति सरकारको विभेद तथा वित्तीय संस्थाको आतंकविरुद्ध उनीहरूले विरोध जनाएका हुन् । उनीहरूले सहज व्यवसायीक वातावरण कायम गर, उद्योग व्यापार बचाउ, राष्ट्रिय अर्थतन्त्र उठाउँ, बैंक सधै नाफामा उद्योगी व्यवसायी घाटामा, उद्योगी व्यवसायीलाई आत्महत्या गर्न बाध्य नगर, बैंक आतङ्क बन्द गर जस्ता प्लेकार्ड सहित आन्दोलन गरेका थिए । 

प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले सरकारले उद्योगी तथा व्यापारीहरूलाई संरक्षण गर्न नसकेको आरोप लगाए । व्यवसायी मैत्री अर्थनीति नल्याउनु र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा साना तथा मझौला उद्योगी व्यवसायीको हित संरक्षणमा ध्यान नदिँदा अर्थतन्त्र नाजुक बनेको उनीहरूको टिप्पणी थियो । 

विशेषगरि, सरकारका गलत नीति र ऋण तिर्न नसक्दा बैंकहरुले कालोसूचीमा राख्न गर्ने सिफारिसदेखि लिएर चर्को ब्याजदरको विरोधमा आफ्नो व्यापार व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ समेत सहभागी रहेका थिए । 

उपाध्यक्ष श्रेष्ठले व्यवसायीहरूलाई मार्कामा पारेर बैंकहरु नाफामा जाने वातावरण सिर्जना भएका कारण विरोध गर्न सडकमा उत्रिन बाध्य भएको बताए । उनले भने, ‘व्यवसायीलाई समस्यामा पारेर बैंकहरु मोटाए । राज्य र बैंकहरुले चालेका कदमका कारण व्यवसायीहरू सडकमा आउनु पर्‍यो ।’

त्यस्तै, उनले व्यवसायीहरूले राखेका मागहरूको चाडै सम्बोधन हुनु पर्ने बताए । ‘ऋण तिर्नकै लागि लिएको हो । हामी व्यवसायीले ऋण तिर्दैनौँ भन्न खोजेको होइनौँ । अहिलेको असहज परिस्थितिमा सहज बनाउनका लागि ऋणको म्याद थप गर्न र ब्याजदर घटाउन माग राखेका हौँ । हामीले मागको माग जायज छ । यसलाई सम्बोधन गर्नु पर्छ ।’

उनका अनुसार व्यवसायीको लगानी सुरक्षित बनाउने खालका कानुनहरू बन्नु पर्छ । ऋणीहरूका लागि सहज वातावरण बनाउनु पर्छ । यसबारे राष्ट्र बैंकले सही नीति ल्याउनु पर्छ । व्यवसायीलाई मार्कामा पारेर बैंकहरुले नाफा खाएर बस्न मिल्दैन ।

‘धेरैले राजनीतिक परिवर्तन पछि आर्थिक परिवर्तन हुन्छ भनेर आशा राखेका थिए । तर, त्यस्तो भएन । गरिखान लागिपरेका व्यक्ति आत्मदाह गर्नु परेको छ । बैंकहरुले धेरै प्रकारको प्रेसर दिएको कारण भोलिका दिनमा यस्ता घटना अरू पनि आउन सक्छन् । यसबारे राज्यले चासोमा साथ सही नीति ल्याउनु पर्छ’, उनले भने । 

त्यस्तै, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले बैंकहरुले ब्याजदर आतङ्क सिर्जना गरेर व्यवसायीको सम्पत्ति लिलामी गर्न थालेको भन्दै आपत्ति जनाए । उनले भने, ‘बैंकहरुले ब्याजदर बढाएका कारण व्यापारीहरू समस्यामा परेका छन् । कोरोना महामारीका कारण थलिएका व्यापारीहरू बैंकहरुले ब्याजदर आतङ्क मात्र गरे सम्पत्ति लिलामी समेत गर्न थालेको छ । बैंकले न थप ऋण दिन मान्छ न तिर्ने भाकाको समय थप गरिदिन्छ । यसले गर्दा हामी आन्दोलन गर्न बाध्य भयौँ ।’ 

बैंकहरुले ३५ दिने सूचना जारी गर्दै सम्पत्ति लिलाम गरेर सुकुम्वासी बनाउन खोजेको उनको आरोप छ । एकल अंकमा ब्याजदर कायम हुनु पर्ने माग राख्दै उनले भने, ‘एकातिर राज्यले सुकुम्वासीलाई लखेट्दै छ भने अर्कोतिर बैंकले लाखौँ व्यवसायीलाई घर न घाटको बनाउँदै छ । हामीलाई सडकमा उत्रिन बाध्य भएका छौँ । हाम्रा मागहरू पुरा नभए चरणबद्धरुपमा आन्दोलन गर्छौ ।’

राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीलाई तर्साएर अर्थतन्त्र चलायमान हुन नसक्ने बताए । उनले भने, ‘बैंकको चर्को ब्याजदरका कारण व्यवसाय चल्न सकेको छैन । सबै व्यवसायीहरू समस्यामा रहेका कारण नेपाल राष्ट्रिय व्यवसायी महासंघ पनि सामेल भएको हो । व्यवसायीहरूले पिटेर चुटेर होइन, लगानीमैत्री वातावरण सिर्जना गरेर अर्थतन्त्रलाई चलायमान बनाउनु पर्छ ।’ 

सरकारले व्यवसायीसँग पार्टनरसिपको वातावरण बनाउनु पर्ने उनको भनाई छ । यातायात व्यवसायी पनि अहिले मार्कामा परेको बताउँदै उनले भने, ‘विभिन्न खालका नीतिहरू आउने गरेका छन् । कहिले के आउँछ त कहिले के नीति आउँछ । राज्यको नीतिले समस्यामा रहेका बेलामा व्यवसायीलाई बैंकले थप समस्यामा पारेको छ । बैंकको ब्याज तिर्न नसकेर यातायात व्यवसायी आज डिप्रेसनमा पुग्नु पर्ने अवस्था आएको छ । मोबाइल अफ गरेर बस्नु परेको छ ।’ चर्को ब्याजदर घटाएर व्यवसायीहरूलाई सडकमा आउनबाट जोगाउनु पर्ने उनको भनाई छ । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्व अध्यक्ष नरेश कटुवालले बैंकहरुको आतङ्क थेग्न नसकेर व्यवसायीहरू आत्महत्या गर्न बाध्य भएको आरोप लगाए । उनले भने, ‘राज्यले सही नीति ल्याएर लागू नगर्दा व्यवसायीहरू आत्महत्या गर्नु पर्ने स्थितिमा आएका छन् । उद्योग व्यवसाय बन्द भएको छ । वैज्ञानिक भाडा लागू नहुने र बैंकको आतङ्क थेग्न नसकेर व्यवसायीहरू आत्महत्या गर्न बाध्य भएका छन् ।’

व्यवसायीलाई पिडामा पारेर बैंकहरु आफू मोटाउँदै जाने वातावरण अन्त्य हुनु पर्ने माग राख्दै उनले भने, ‘बैंकहरुको एकात्मक दादागिरी अन्त्य गर्न हामी सडकमा उत्रिएका हौँ । हामी व्यापारीहरू सडकमा आएर जिन्दाबाद र मुर्दावादको स्थिति सिर्जना भएको छ । यो वातावरण आउनु हुँदैन । व्यवसायीलाई परेको समस्याबारे सम्बोधन नभएर व्यवसायीहरूले चाबी राज्य र राष्ट्र बैंकलाई बुझाउन बाध्य हुने छौँ ।’ साथै सरकारले व्यवसायीहरू पनि विदेश पलायमान गर भन्न खोजेको उनले बताए । 

यस्तै, सोही महासंघको महिला उपाध्यक्ष लक्ष्मी खड्काले बैंकहरुले व्यवसायी समस्यामा परेको मौका छोपेर फाइदा उठाउन खोजेको बताइन् । उनले भनिन्, ‘कोरोना महामारीदेखि नै हामी व्यवसायीहरू धराशायी अवस्थामा छौँ । बैंकहरुले २० करोडको घरलाई १० करोडमा लिलाम गरेर सम्पत्ति जफत गर्ने काम गरिरहेको छ । हामीले हाम्रो सम्पत्ति बैंकहरुले खाओस् भनेर ऋण लिएको होइन । तिर्नकै लागि लिएका हौँ । अहिले समस्यामा हामी पर्‍यो भन्दैमा बैंकले फाइदा उठाउन हुँदैन ।’

व्यवसायीहरूले आफूहरू समस्यामा परेको भन्दै सम्बन्धित निकाय धाउँदा समेत सुनुवाइ नभएको उनले बताइन् । व्यापारीहरूलाई मर्न बाध्य पार्नु हुँदैन भन्ने आफूहरूको माग रहेको उनले बताइन् । 

बैंक आतंकविरुद्ध व्यवसायी उत्रिए सडकमा (फोटो फिचर)

 

प्रतिक्रिया दिनुहोस