aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

दुई खर्ब रकम बैंकमा थुप्रिँदा समेत भएन ऋण लगानी, ब्याजदर घटाउन हच्कींदैछन् बैंकर

  • रिता राउत
    रिता राउत
  • मंगलबार, १७ माघ २०७९
दुई खर्ब रकम बैंकमा थुप्रिँदा समेत भएन ऋण लगानी, ब्याजदर घटाउन हच्कींदैछन् बैंकर

काठमाडौं । लामो समयदेखि तरलताको अभावको समस्यामा रहेका बैंक तथा वित्तीय संस्थाहरुमा पछिल्लो समय पैसा जम्मा हुन थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाहरूमा साढे ५३ खर्ब रुपैयाँ निक्षेप नाघेको देखिन्छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार यही माघ ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा ५३ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप माघ १४ गतेसम्म अर्थात् ३ दिनमा १४ अर्ब रुपैयाँले बढ्यो। माघ १४ गते शनिवारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा ५३ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । यो अघिल्लो दिनको भन्दा १ अर्बले कम हो।    

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप सङ्कलन बढे पनि कर्जा प्रवाह भने घटेको छ । माघ १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले ४७ खर्ब २० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह एक अर्ब रुपैयाँले घटेर माघ १४ गतेसम्म आइपुग्दा ४७ खर्ब १९ अर्ब रुपैयाँमा सीमित बनेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । माघ ११ गते पनि बैंकहरुले प्रवाह गरेको कुल कर्जा ४७ खर्ब १९ अर्ब नै  रहेको थियो।   

यता, वाणिज्य बैंकहरुको मात्रै कुरा गर्ने हो भने निक्षेप सङ्कलन ४७ खर्ब नाघेको छ । यही माघ ११ गतेदेखि १४ गतेसम्मको अवधिमा बैंकहरुमा १३ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । माघ ११ गतेसम्म वाणिज्य बैंकहरुमा ४७ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप माघ १४ गतेसम्म आइपुग्दा ४७ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ ।    

त्यस्तै, यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने बढ्न सकेको छैन । माघ १३ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह अहिले पनि सोही नै रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।   

यसरी हेर्दा वाणिज्य बैंकहरुसंग मात्र नै अहिले साढे चार खर्बजति रकम छ । जसमध्ये उनीहरुसंग दुई खर्ब रुपैयाँ हाराहारी लगानी गर्न मिल्ने रकम छ । अहिले बैंकहरु सिडी रेसियोको दबाबमा पनि छैनन । किनभने सिडी रेसियो ८६ प्रतिशतको आसपास छ । 

निक्षेप सङ्कलन बढाइरहेका बैकहरूले कर्जा प्रवाह भने गर्न सकेका छैनन । ऋण दिनका लागि बैंकहरुले नयाँ योजना समेत ल्याउन सकेका छैनन । अहिले निक्षेप बढे पनि तत्काल बैङ्कहरू लगानी गर्ने योजनामा नरहेको नेपाल बैंकर्स सङ्घका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसी बताउँछन् । 

अध्यक्ष केसी भन्छन्, ‘लामो समयदेखि बैङ्कहरू लगानीयोग्य रकम अभावको कारण बिना योजना बसिरहेका थिए । यसले गर्दा अहिले निक्षेपमा केही सुधार भए पनि बैंकहरुले लगानी गर्ने योजना सार्वजनिक गरिसकेका छैनन ।’   

त्यस्तै, उनले तत्कालै बैंकहरुले ब्याजदर नघटाउने समेत जानकारी दिए । अध्यक्ष केसीले आर्थिकन्युजसंग भने, ‘सिडी रेसियो घट्दै गएपछि सबै बैंकहरुले आ-आफ्नो लगानीका योजनाहरू सार्वजनिक गर्लान् नै ।' बैंकमा लगानीयोग्य रकम थुप्रिएर बस्दा कतै बैङ्कहरू घाटामा पो जाने हुन् कि भन्ने चिन्ता समेत बढ्न थालेको छ। तर, अवस्था त्यस्तो बन्दै गए पनि अहिले नै आत्तिएर ब्याज घटाउने निर्णयमा बैङ्कहरू नपुग्ने उनको भनाई रहेको छ। उनी भन्छन्, 'हो, बैंकमा लगानीयोग्य रकम जति धेरै थुप्रियो त्यति धेरै बैंकहरुको नाफामा असर गर्छ । तर, निक्षेप आयो भन्दैमा ब्याजदर तुरुन्तै घटाइहाल्ने अवस्था पनि छैन ।’    

तर, नेपाल बैंकर्स सङ्घका पूर्व अध्यक्ष भुवन दाहाल भने तथ्याङ्क हेर्दा केही बैंकले तुरुन्त नै ब्याजदर घटाउनु पर्ने बाध्यता रहेको तर्क गर्छन्। उनी भन्छन्, 'केही बैंकहरुले माघ महिनादेखि नै कर्जामा ब्याजदर घटाउनु पर्ने हुन्छ किनभने पुस मसान्तमा नै उनीहरूको स्प्रेडदर ४.४ को हाराहारीमा छ । यो भन्दा माथि ब्याजदर राख्न नपाइने बाध्यताका कारण पनि उनीहरूले ०.३ को हाराहारीमा माघ महिना देखि नै ब्याज घटाउनु पर्ने हुन्छ । 

अहिले बैंकहरुसंग लगानीयोग्य रकम पर्याप्त रहेको दाहाल पनि बताउँछन् । उनी भन्छन्, ‘दुई खर्ब रुपैयाँ जति लगानीयोग्य रकम अहिले बैंकहरुसंग रहेको देखिन्छ । बैंकहरुसंग पैसा पनि छ । ब्याजदर पनि राम्रो छ । लगानी गर्न सक्ने अवस्था बनेपछि माघदेखि केही बैंकहरुले ब्याजदर घटाउन सुरु पनि गरिसकेका छन् । सबै बैंकहरुले वैशाख महिनादेखि कर्जामा पनि ब्याजदर घटाउलान् नै । तर, कतिपयले अहिले नै पनि ब्याजदर घटाउन सक्ने अवस्था छ ।’

तर, त्यो घटेको ब्याज कस्ता ऋणीहरूलाई दिने भन्ने विषय बैंकहरुले नै छनौट गर्ने हुनाले सबैले त्यो सुविधा पाई हाल्नेमा भने उनी विश्वस्त छैनन् । उनी भन्छन्', 'माघ महिना देखि नै सबैले घटेको दरमा कर्जा पाउँछन् भन्ने छैन । त्यो अवस्था भनेको वैशाखदेखि मात्रै आउँछ । केही केही बैंकहरुको चाहिँ चैत्र महिनामा मै पनि घट्छ । किनकि राष्ट्र बैंकले स्प्रेडदर ४.२ मा झार्नु भनेको छ । जबकि अहिले सबैको ४ भन्दा माथि छ।' 

बैंकहरुमा निक्षेप थुप्रिने तर कर्जा प्रवाह नहुने हो की भन्ने आशङ्काबारे पूर्व अध्यक्ष दाहाल भन्छन्, ‘कतिपयले शङ्का गरेझैँ बैंकहरुले लगानी नै गर्न नसक्ने वा भनौँ ऋण लिन  ऋणीहरू नै नजाने परिस्थिति बन्छ जस्तो मलाई लाग्दैन। यसो किन भनिएको हो भने ब्याजदर घटेपछि ऋणको माग बढ्छ ।’ उनी पनि लगानी बढ्न ब्याजदर घट्ने पर्ने सर्तलाई भने स्विकार्छन्। 

हामीले आर्थिक वर्ष २०७७/७८ लाई हेर्यौं भने त्यो वर्ष आठ खर्ब ऋण प्रवाह भएको थियो । सामान्यतया एक वर्षमा चार/पाँच खर्ब भन्दा माथि लगानी नहुने अवस्था रहेकोमा किन त्यति धेरै ऋण त्यो बेला प्रवाह भयो भने ब्याजदर अत्यन्तै तल झरेको थियो । दाहालका अनुसार, 'त्यसैले बैंकमा पैसा थपिने र लगानी नहुने भन्ने अवस्था आउने सम्भावना अत्यन्तै कम छ।' 

त्यस्तै, अहिले कर्जा लिन कोही आउने खालको वातावरण नरहेको नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवाली बताउँछन् । उनी भन्छन्, ‘अहिले बजारको अवस्था हेर्दा १४ प्रतिशतसम्म ब्याजमा कर्जा लिएर व्यापार उकास्न सकिन्छ भन्ने कसैमा विश्वास छैन। १४ प्रतिशतसम्म ब्याजदर यस पटक मात्रै पुगेको होइन । यसअघि पनि ब्याजदर यस्तै धेरै थियो । तर, त्यस बेला कर्जा लिएर लगानी गर्दा बजारमा डिमान्ड राम्रै थियो । अहिले बजारमा डिमान्ड नै छैन । अर्थतन्त्र सकारात्मक नै छैन । डिमान्ड नै नभएको बेलामा कसले महँगो ब्याजमा ऋण लिएर लगानी गर्छ ?’ 

निक्षेप सङ्कलन र कर्जा प्रवाहमा फरक देखिए पनि बजारमा सहज स्थिति भने आइ नसकेको उनले बताए । उनले भने, ‘कर्जा प्रवाहमा कमी आउँदा बैङ्कहरू समस्यामा नै पर्ने अवस्था आउँदैन । तर, गएको कर्जा समयमा फिर्ता नहुँदा समस्या थप हुने गर्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा निक्षेप भन्दा कर्जा प्रवाह कम भएको देखिए पनि समग्रमा हेर्दा त्यति सहजवाला स्थिति भने आइसकेको छैन ।’ 

उनका अनुसार नेपालको अर्थतन्त्र पर्ख र हेरको अवस्था रहेको छ । यस्तो अवस्थामा बैंकहरुले नयाँ खालका बजार नीति ल्याउने कुरा पनि भएन । सरकारको नीतिहरूले कसरी साथ दिन्छन् र भोलि कस्तो स्थिति आउँछ भनेर बैंकहरुले पनि पर्खिरहेको अवस्था छ । 

‘समग्र अर्थतन्त्र नै समस्यामा रहेका बेलामा भएको ऋण ठिकठाक राख्नु नै बैंकहरुका लागि ठुलो कुरा हो । यस्तो बेला बैंकहरुले नयाँ प्रडक्ट ल्याउने, नयाँ योजना ल्याउने प्रतिस्पर्धामा छैनन्, नबिल बैंक पनि छैन’, ज्ञवालीले भने। 

 

प्रतिक्रिया दिनुहोस