
काठमाडौं । लामो समयदेखि बैैंक तथा वित्तीय क्षेत्रमा देखिएको लगानीयोग्य रकम (तरलता) अभावको समस्या हट्दै गएको छ । वित्तीय क्षेत्रहरूमा देखिएको तरलता सहज हुँदै जाँदा बैंक तथा वित्तीय संस्थाहरूले लगानी गर्ने वातावरण बन्दै गएको देखिएको छ ।
तर, नेपाल राष्ट्र बैंकको नियमन भन्दा बाहिर रहेर वित्तीय कारोबार गर्दै आएका सहकारी संस्थाहरूको सङ्कट भने उस्तै छ । परिणाम स्वरूप समयमै ऋण तिर्न नसक्दा कालोसूचीमा पर्ने सहकारी संस्थाहरूको सङ्ख्या थपिँदै गएको छ । सहकारीका सञ्चालकहरूले महत्त्वाकाङ्क्षी बन्दै अनुत्पादन क्षेत्रमा गरेको लगानीले एकातिर ती संस्थामा बचत गर्ने सर्वसाधारणको रकम जोखिममा परेको छ भने त्यस्ता सहकारीलाई लगानी गरेका बैंक तथा वित्तीय संस्था समेत पछुताउनु पर्ने स्थिति बन्दै छ।
त्यसो त स्वनियमनमा रहेका सहकारीहरू सहकारीको आधारभूत सिद्धान्तमा बसेर गतिविधि गरेका भए अहिलेको जस्तो अवस्था आउने नै थिएन। तर, राष्ट्र बैंकको नियमन नहुने भएकोले मनलाग्दी गर्न पाउने देखेर कालो मन र त्यस्तै धन बोकेर सहकारीको व्यापार थालेकाहरूले एउटा सही अवधारणाको मात्र हत्या गरिरहेका छैनन् कि धेरै सर्वसाधारणलाई समेत रुवाउने पाप गरिरहेका छन्।
यदि सञ्चालकहरूले बचतको रकमको सही सदुपयोग र ठिक ठाउँमा लगानी गर्ने हो भने कुनैपनी सहकारी कहिल्यै समस्यामा पर्दैनन्। सिद्धान्त आफ्नै सदस्यबाट रकम संकलन गर्ने र त्यहीँ सुरक्षित लगानी गर्नु पर्ने हो सहकारीले। तर, सदस्यबाट पैसा उठेर जथाभाबी लगानी गरेका कारण अहिले धेरै सहकारीको अवस्था नाजुक बनेको छ।
विधि विधान बिर्सेर काम गर्दा संस्था नै डुब्ने अवस्थामा पुगेका यस्ता सहकारी मध्ये माघ महिनाका २० दिनमा नै आधा दर्जन सहकारी संस्थाहरू कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ महिनामा मात्रै छ सहकारी संस्था कालोसूचीमा परेका हुन् । जसमा एक बहुउद्देश्यीय सहकारी र अन्य बचत तथा ऋण सहकारी रहेका छन् ।
केन्द्रका अनुसार कालोसूचीमा परेका सहकारीमा जलजल बचत तथा ऋण सहकारी, सुयोग बहुउद्देश्यीय सहकारी संस्था, आस्था सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, श्री जनशक्ति बचत तथा ऋण सहकारी संस्था, पुन्यभूमि सेभिङ एण्ड क्रेडिट को अपरेटिभ र विन्ध्यवासिनी सेभिङ एण्ड क्रेडिट को अपरेटिभ रहेका छन् ।
जलजल बचत तथा ऋण सहकारीका सञ्चालकमा जय प्रकाश श्रेष्ठ र सुमित्रा देवी राई रहेका छन् । त्यस्तै, सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकमा सुनिल महर्जन रहेका छन् । केन्द्रका अनुसार आस्था सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालक अनिल खड्का, खुम्बराज जोशी र सुनिल खड्का रहेका छन् ।
त्यसैगरी, श्री जनशक्ति बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूमा डम्बर बहादुर बस्नेत र मधुमाया लाक्पा, पुन्यभूमि सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकमा सुनिल कुमार श्रेष्ठ, टंक बहादुर कार्की र विन्ध्यवासिनी सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकमा गंगाधर सुवेदी र सुवर्णमान नकर्मी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस