
काठमाडौं । बुधबार पक्राउ परेका कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण बस्नेतसहितका आरोपीहरुलाई प्रहरीले छोडेको छ । बैंकमा राखिएको धितोको मूल्यमा उच्चतम मूल्यांकन गरी बढी ऋण प्रवाह गरेको आरोपमा झापाको दमकबाट पक्राउ परेका सीईओ बस्नेतसहित तत्कालीन शाखाका रिस्क प्रमुख वीरेन्द्र सिंह भण्डारी, ऋणि हरेन्द्र दाहाल र चन्द्रबहादुर थापालाई प्रहरीले हाजिरी जमानीमा छोडेको हो ।
कमसल धितोमा कर्जा प्रवाह गरेको आशंकामा सुरुमा बैंक आफैंले अनुसन्धान थालेको बताएको थियो भने बैंकले नै नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको थियो । राष्ट्र बैंकले छानबिन गर्दा बढी मूल्यांकन गरी झापा र मोरङका जग्गाहरु राखी कम्तिमा पनि ८ करोड रुपैयाँ कर्जा अनियमितरुपमा प्रवाह गरेको देखिएपछि बैंकले अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सहयोग मागेको थियो ।
सोही बमोजिम छानबिन गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । घटनामा संलग्नहरुलाई बैंकिङ कसूर र सरकारी दस्तखत कीर्ते सम्बन्धी कसूरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस