
काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अहिले नेपालका बैक तथा वित्तीय संस्थाहरूको लगानी-निक्षेप अनुपात (सिडी रेसियो) ८६.५४ रहेको छ। यसले एकैसाथ नेपालको बैंकिङ क्षेत्रमा केही सकारात्मक र थोरै अनौठा परिदृश्यलाई संकेत गरिरहेको छ।
लामो समयसम्म लगानीयोग्य पुँजीको अभावमा रहेका बैंकहरुको सिडी रेसियो एकाएक ह्वात्तै तल झर्नु स्वाभाविक होइन। साना-साना ऋणका लागि आवेदन गर्नेहरूलाई समेत निराश बनाउँदै आएका बैंकमा अहिले २ खर्व भन्दा बढी लगानीयोग्य रकम थुप्रिएको अवस्था छ। त्यसले बैंकरहरुलाई नै अब कस्तो व्यापारिक नीति अवलम्बन गर्ने भन्ने अन्योलपूर्ण अवस्थामा पुर्याएको छ।
यसरी लगानीयोग्य रकम नहुँदाको खटपटीबाट बैंकहरुले मुक्ति पाउँदा बैंकरहरु मख्ख पर्नुपर्ने हो। तर, छक्क पर्नुपर्ने अवस्था देखिएको छ। किनकि विगतमा पैसा नहुँदा ऋण माग्नेको ताँती थियो। अहिले पैसा हुँदा कोही ऋण माग्न आइरहेका छैनन्। एकातिर बैंकको ब्याजदर उच्च छ। त्यो तत्कालै घटाउन सक्ने अवस्था छैन। अर्कोतिर महँगो ब्याजमा ऋण लिन व्यवसायीहरू बैकसम्म नगइरहेको स्थिति छ। त्यसैले यो बेला घट्दै गएको सिडी रेसियोले के कुराको संकेत गर्छ भन्नेबारे चर्चा गरौँ।
के देखाउँछ सिडी रेसियोले ?
लगानी - निक्षेप अनुपात (सिडी रेसियो) बैंकको तरलताको मापन हो, जसलाई बैंकको निक्षेपको सापेक्षतामा ऋणको अनुपातको रूपमा गणना गरिन्छ। बैंकहरूको लागि यो अनुपातको महत्त्व यसकारण रहन्छ कि यसले बैंकको निक्षेपहरूको तुलनामा लगानी कति छ भनेर देखाउँछ। उच्च सिडी रेसियोले बैंकले स्थिर निक्षेप कोषमा कम र ऋणमा बढी भर परेर बढी जोखिम लिइरहेको संकेत गर्न सक्छ। नियामक र लगानीकर्ताहरूको लागि यो रातो झन्डा उठाउने बेला हो।
अर्कोतर्फ, कम सिडी अनुपातले बैंकले आफूलाई केही सङ्कुचित रूपमा व्यवस्थित गरेको संकेत गर्न सक्छ। यसले नयाँ ऋण लगानी गर्न र आफ्नो व्यवसाय बढाउने सीमित क्षमतालाई पनि संकेत गर्न सक्छ। त्यसैले सिडी रेसियो बढ्नु घट्नु भन्दा बढ्नु चिन्ताको विषय हो। तथापि कहिले काहीँ सिडी रेसियो घट्नुलाई पनि चिन्ताको विषयका रूपमा हेरिन्छ। विशेषगरि बैंकको आम्दानी घट्ने पो हो कि भन्ने चिन्ता एकथरी लगानीकर्तामा छाउने गरेको पाइन्छ।
के सिडी रेसियो कम हुनु राम्रो हो ?
सिडी रेसियो कम हुनु यो बैंकको स्थायित्व र जोखिम व्यवस्थापनको दृष्टिले सकारात्मक संकेत हुन सक्छ तर यसले बैंकको ऋण दिने क्षमता सीमित रहेको पनि संकेत गर्न सक्छ । कम सिडी अनुपातले वृद्धि भन्दा सुरक्षा र स्थिरतालाई प्राथमिकता दिने बैंकको निर्णयलाई प्रतिबिम्बित गर्न सक्छ। यसले कुनै बैंकले ऋण लिने नयाँ ग्राहकहरू आकर्षित गर्न सकिरहेको छैन भन्ने पनि देखाउँछ। त्यसैगरी यसले बजारमा ऋणको माग कमजोर भएको संकेत पनि गर्न सक्छ।
हाल नेपालमा घट्दै गएको सिडी रेसियोले कतै ऋणको माग नै कम भएको त होइन भन्ने चिन्ता थपेको छ। यसलाई किन चिन्ताको विषयका रूपमा हेर्नुपर्ने हुन्छ भने अहिले बैंकहरु सँगै रहेको लगानीयोग्य रकम भनेको महँगो ब्याज दिने सर्तमा बैंकहरुले सङ्कलन गरेको निक्षेप हो। यदि त्यो लगानी गर्न नसकेर त्यतिकै भल्टमा राख्नुपर्यो भने बैंकको मुनाफा नराम्ररी घट्छ।त्यसैले निष्कर्षमा के भन्न सकिन्छ भने कम सिडी अनुपातले सधैँ ऋण दिने उच्च क्षमतालाई संकेत गर्दैन, किनकि यो प्रत्येक बैंकको सन्दर्भ र विशिष्ट परिस्थितिहरूमा निर्भर गर्दछ।
नाफामा सिडी रेसियोको असर
सिडी रेसियोले बैंकको नाफालाई असर गर्न सक्छ, यद्यपि यो सम्बन्ध सीधा भने छैन। सामान्यतया, कम सिडी अनुपातले बैंकलाई कम जोखिम र कम ऋण घाटाको अवस्थामा रहेको भन्ने देखाउँछ। यसले बैंक अलिक बढी नै रूढिवादी ढङ्गले चलिरहेको छ भन्ने पनि देखाउँछ।
यद्यपि, कम सिडी अनुपातले बैंकको कर्जा पोर्टफोलियो बढाउने र ब्याज आम्दानी बढाउने क्षमताको प्रयोग नभएको रूपमा पनि व्याख्या गर्न सकिन्छ । यदि ऋणको माग उच्च छ र बैंकले यसको सिडी अनुपात कम भएको बेला समेत सो माग पूरा गर्न सकेन भने यसले सम्भावित नाफा गुमाउन सक्छ। यसको विपरीत, यदि ऋणको माग कमजोर छ भने कम सिडी अनुपातले बैंकको नाफामा उल्लेखनीय तुलनात्मक प्रभाव पार्न सक्दैन।
सारांशमा, बैंकको नाफामा कम सिडी अनुपातको प्रभाव सकारात्मक र नकारात्मक दुवै हुन सक्छ। यो समग्र आर्थिक वातावरण, बजारमा लगानी प्रतिस्पर्धा र बैंकको विशिष्ट परिस्थितिहरू जस्ता विभिन्न कारकहरूमा निर्भर गर्दछ।
सर्वाधिक सहज अवस्थामा स्ट्याण्डर्ड चार्टर्ड बैंक
नेपाल राष्ट्र बैंकका अनुसार अहिले समग्र बैंकिङ क्षेत्रले ८६.५४ प्रतिशतको सिडी रेसियो कायम गरेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार यस्तो अनुपात ९० प्रतिशत भन्दा बढी हुनुहुँदैन ।
चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा लगानी गर्नका लागि सर्वाधिक सहज अवस्थामा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । यो बैंकको सिडी रेसियो ८० प्रतिशत भन्दा कम रहेको छ । गत आवको सोही अवधिमा ८७.९२ प्रतिशत सिडी रेसियो कायम गरेको बैंकले चालु आवको पुस मसान्तसम्म आइपुग्दा ९.३२ प्रतिशतले घटाएर ७८.६० प्रतिशत कायम गरेको छ ।
कस्तो छ अन्य बैंकको अवस्था
पुस मसान्त सम्म अधिकांश वाणिज्य बैंकहरुले कर्जा निक्षेपको अनुपात घटाएका छन् । बैंकहरुले यस अवधिमा ०.५८ प्रतिशत देखि ९.३२ प्रतिशतसम्मले सिडी रेसियो घटाएका छन् ।
बैंकहरुको पछिल्लो वित्तीय विवरण अनुसार नबिल बैंकले चालु आवको दोस्रो त्रैमाससम्ममा ८८.९१ प्रतिशत सिडी रेसियो कायम गरेको छ । त्यस्तै, एनआईसी एसिया बैंकले ८३.४४ प्रतिशत, हिमालयन बैंकले ८७.१२ प्रतिशत, सिभिलले ८७.०५ प्रतिशत, सनराइजले ८५.८२ प्रतिशत, एनएमबीले ८७.२५ प्रतिशत र नेपाल बैंकले ८२.१२ प्रतिशत सिडी रेसियो कायम गरेका छन् ।
त्यसैगरी, यस अवधिमा सिद्धार्थ बैंकले ८३.३० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८१.६५ प्रतिशत, कृषि विकास बैंकले ८७.५४ प्रतिशत, सिटिजन इन्टरनेशनलले ८६.९४ प्रतिशत, कुमारीले ८९.५४ प्रतिशत, ग्लोबल आईएमईले ८९.४३ प्रतिशत, लक्ष्मीले ८५.४८ प्रतिशत, नेपाल एसबीआईले ८७.३५ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ८७.२४ प्रतिशत सिडी रेसियो कायम गरेका छन् ।
गत आवको पुस मसान्तसम्म ९४.८३ प्रतिशत सिडी रेसियो कायम गरेको प्राइम कमर्शियल बैंकले चालु आवको सोही अवधिमा आइपुग्दा सिडी रेसियो घटाएको छ । बैंकले यस अवधिमा ५.९४ प्रतिशतले कर्जा निक्षेप अनुपात घटाई ८८.८९ प्रतिशत कायम गरेको छ ।
त्यस्तै, यस अवधिमा माछापुच्छ्रे बैंकको सिडी रेसियो ८५.१८ प्रतिशत कायम गरेको छ । भने, एभरेष्ट बैंकले ८६.९९ प्रतिशत र सानिमा बैंकले ८३.०३ प्रतिशत सिडी रेसियो कायम गरेको छ ।
प्रभु बैंकले बढायो कर्जा लगानी
अधिकांश बैंकहरुले कर्जा निक्षेपको अनुपात घटाइरहेका बेला प्रभु बैंकको भने बढेको छ । गत आवको पुस मसान्तसम्म ८१.९० प्रतिशत सिडी रेसियो कायम गरेको बैंकको सिडी रेसियो चालु आवको पुस मसान्तसम्म आइपुग्दा ६.४ प्रतिशतले बढेर ८८.३० प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस