
काठमाडौं । उदयपुरको गाईघाटमा रहेको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका बचतकर्ता आन्दोलित बनेका छन् । बचत फिर्ताको माग गर्दै मंगलबार बचतकर्ताहरूले सहकारीको कार्यालय घेराउ गरेका हुन् ।
गाईघाटमा रहेको यस तुलसी बहुमुखी सहकारीको प्रमुख कार्यालय मोरङको विराटनगरमा रहेको छ । उक्त प्रमुख कार्यालयमा समस्या आएको हल्ला सामाजिक सञ्जालमा फैलिएपछि उदयपुरका बचतकर्ताहरूले पनि बचतको रकम फिर्ता गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।
बाहिर सहकारी डुब्न लागेको हल्ला भए पनि सहकारीमा त्यस्तो समस्या नरहेको गाईघाट शाखाका एक कर्मचारीले दाबी गरे । उनले भने, ‘सामाजिक सञ्जालमा विराटनगरमा यो सहकारी डुब्न लाग्यो भन्ने हल्ला सुनेर यहाँका बचतकर्ताहरू पनि आज कार्यालय अगाडी आन्दोलनमा उत्रिएका हुन् । हाम्रो सहकारीमा समस्या छैन । प्रमुख कार्यालयमा पनि त्यस्तो बचतको रकम फिर्ता गर्न नसक्ने खालको कुनै समस्या आएको छैन ।’
तीन वर्ष अघि खुलेको यस सहकारीको गाईघाट शाखामा मात्रै चार हजार भन्दा बढी बचतकर्ताहरू रहेका छन् । आन्दोलित बचतकर्ताहरूले सहकारी आर्थिक संकटमा रहेको भन्दै तत्कालै बचतको रकम फिर्ता पाउनु पर्ने माग राखेका छन् । बचतकर्ताहरू आन्दोलित बनेपछि सहकारी शाखा प्रमुख सिताराम अधिकारी भने प्रमुख कार्यालय विराटनगर तिर लागेका छन् ।
विराटनगरको कार्यालय भने सञ्चालनमै रहेको जानकारी पाएको बताउँदै ती कर्मचारीले आर्थिक न्युजसँग भने, ‘न हेड अफिसमा समस्या छ, न यहाँ समस्या छ । हल्लाको पछि लागेर बचतकर्ता आन्दोलित बन्दा हाम्रो काम प्रभावित बन्न पुगेको छ । सोमबारसम्म नियमित काम गरिरहेका हामी कर्मचारीहरू आज बचतकर्ताहरूले आन्दोलन गरेका कारण बजारमा बचत सङ्कलन गर्न जान समेत पाएका छैनौँ ।’
बचतकर्ताहरूले तत्कालै बचतको रकम फिर्ता माग गरे पनि सहकारीले बचतको रकम भने तत्कालै दिन नमिल्ने ती कर्मचारीको भनाई छ । कति अवधिको लागि बचतमा राखिएको हुन्छ त्यही अनुसार सहकारीले पैसा फिर्ता गर्ने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस