aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

यस्ता छन् एकीकृत निर्देशनमा संशोधन तथा परिमार्जन भएका मुख्य व्यवस्थाहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ माघ २०७९
यस्ता छन् एकीकृत निर्देशनमा संशोधन तथा परिमार्जन भएका मुख्य व्यवस्थाहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७८ सार्वजनिक गरेको छ । जसमा यसअघि निर्देशनमा उल्लेख भएका व्यवस्थाहरुले संशोधनदेखि परिमार्जन, थप समेत गरिएको हो ।  

यस निर्देशनमा कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न नपाइने व्यवस्था गरिएको छ । साथै ब्याज पुँजीकरणसम्बन्धी व्यवस्थामा परिमार्जन गरि आवश्यकता एवं औचित्यका आधारमा बैंक तथा वित्तीय संस्थाले ब्याज पुँजीकरण गर्न सक्ने व्यवस्था गरिएको छ । 

त्यस्तै, वैदेशिक रोजगारीमा जाने नेपालीको विप्रेषण (रेमिट्यान्स) बचत खातामा बैंक तथा वित्तीय संस्थाका तर्फबाट जम्मा गरिएको प्रतिखाता एक सय रुपैयाँसम्मको खर्च रकमलाई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट खर्च व्यहोर्न सकिने व्यवस्था गरिएको निर्देशनमा उल्लेख छ । यसका साथै तीन लाख रुपैयाँसम्मको क्रडिट कार्ड कर्जा र संक्षिप्त प्रक्रिया पूरा गरी विद्युतीय माध्यमबाट स्वीकृत हुने पाँच लाखसम्मको कर्जामा कर्जा सूचना लिनु अनिवार्य नहुने समेत वयवस्था गरिएको छ । 

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा इजाजतपत्रप्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरणअनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको यकिन गरेर मात्र खाता खोल्नुपर्ने, Private Equity Venture Capital (PEVC) मार्फत लगानी गरेको साना तथा मझौला उद्योग कालोसूचीमा परेका कारणले मात्र PEVC सञ्चालन गर्ने संस्थालाई कालोसूचीमा समावेश नगरिने व्यवस्था गरिएको छ । शाखा कार्यालय खोल्नेसम्बन्धी व्यवस्थाबाट निष्क्रिय कर्जा अनुपातसम्बन्धी सर्त हटाइएका, ब्याजदर प्रकाशन गर्दा ग्राहकमा कुनै किसिमको भ्रम सिर्जना नहुने गरी अनिवार्य रुपमा वार्षिक ब्याजदर प्रतिशत प्रकाशित गर्नुपर्ने व्यवस्था गरिएको र छ महिनाभन्दा कम समयावधिको संस्थागत मुद्दती निक्षेप स्वीकार गर्न पाइने छैन । साथै, यस्तो मुद्दती निक्षेप छ महिना व्यतित हुनुअगावै कुनै पनि रकम भुक्तानी/फिर्ता (Pre mature) गर्न नपाइने निर्देशनमा व्यवस्था गरिएको छ । 

नयाँ निर्देशन अनुसार कृषि तथा उर्जा ऋणपत्रबाट संकलित रकम ऋणपत्र जारी भएको मितिले तीन वर्षभित्र सम्बन्धित क्षेत्रमा कर्जा प्रवाह गरिसक्नुपर्नेछ । पुनर्संरचना र÷वा पुनरतालिकीकरणसम्बन्धी व्यवस्थामा परिमार्जन गरी थप व्यवस्थित बनाइएको छ । पुनर्संरचना र÷वा पुनरतालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा वर्गीकरण भइरहेका कर्जालाई देहायबमोजिमका सबै अवस्थाको पालना गरी पुनरसंरचना र÷वा पुनरतालिकीकरण गरिएमा न्यूनतम १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस