
काठमाडौं । मर्जरमा गएका वाणिज्य बैंकहरुको खराब कर्जामा भारी वृद्धि भएको देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।
सार्वजनिक गरिएका वित्तीय विवरणहरु अनुसार चालु आवको पहिलो त्रैमाससम्म १.५७ प्रतिशत खराब कर्जा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक बीच मर्जर भएपछि अहिले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खराब कर्जा ३.७१ प्रतिशत पुगेको छ । चालु आवको पहिलो त्रैमाससम्म मेगा बैंकको खराब कर्जा २.५५ प्रतिशत मात्र रहेको थियो । नेपाल इन्भेस्टमेन्ट र मेगा बैंक एक आपसमा मर्ज भई पुस २६ गतेदेखि एकीकृत कारोबार गरेका थिए ।
त्यस्तै, पुस मसान्तमा ग्लोबल आईएमई बैंकको खराब कर्जा २.९२ प्रतिशत पुगेको छ । असोज मसान्तसम्म उक्त बैंकको खराब कर्जा २.१० प्रतिशत रहेको थियो । ग्लोबल आईएमई र बैंक अफ काठमान्डु मर्ज भई पुस २५ गतेबाट एकीकृत कारोबार गरेका छन् । असोज मसान्त अर्थात् चालु आवको पहिलो त्रैमाससम्म बीओकेको खराब कर्जा २.४६ प्रतिशत रहेको थियो । यी दुई बैंक एक आपसमा गाभिएपछि दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट भएको हो ।
त्यसैगरी, नेपाल क्रेडिट एण्ड कमर्स बैंकसँग मर्ज भएको कुमारी बैंकको खराब कर्जा ३.२५ प्रतिशत पुगेको छ । जबकि चालु आवको पहिलो त्रैमाससम्म कुमारी बैैंकको खराब कर्जा १.२८ प्रतिशत मात्र रहेको थियो भने एनसीसी बैंकको खराब कर्जा २.४६ प्रतिशत रहेको थियो । मर्जर पश्चात् यी दुई बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार गरेका छन् ।
चालु आर्थिक वर्ष पुस मसान्तसम्म प्रभु बैंकको खराब कर्जा १.९८ प्रतिशत पुगेको छ । जबकि असोज मसान्तसम्म बैंकको खराब कर्जा १.६८ प्रतिशत रहेको थियो । प्रभु बैंकले सेन्चुरी बैंकलाई प्राप्ति गरेपछि पुस २६ गतेदेखि एकीकृत कारोबार गरेका हुन् । असोज मसान्तसम्म सेन्चुरी कमर्शियल बैंकको खराब कर्जा १.८८ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया दिनुहोस