
काठमाडौं । केही दिन अघि नेपाल तथा भारतका विभिन्न बैङ्कका एटीएममा भएको ह्याकिङ घटना बारे रिपोर्ट सार्वजनिक भएको छ । घटनाको अध्ययन गर्न गठित समितिले राष्ट्र बैङ्कका गर्भनर डा। चिरञ्जीवी नेपाललाई अल्पकालीन र दीर्घकालीन गरी दुई प्रकारका सुझावसहितको प्रतिवेदन बुझाएको छ ।
टोलीले अल्पकालीन रूपमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट यसअघि जारी भएका म्याग्नेटिक स्ट्रिप कार्ड तीन महिनाभित्र विस्थापित गरी चिप कार्ड प्रयोगमा ल्याउन सुझव दिएको छ ।
त्यस्तै टोलीले दीर्घकालीन रूपमा एटीएम कक्षमा जडित सीसी टिभीको नियमित रूपमा केन्द्रीकृत रूपले अनुगमन गर्ने व्यवस्था मिलाउन र यस्तो अनुगमन शनिबारलगायत अन्य बिदाको दिनमा समेत नियमित रूपले गर्ने व्यवस्था मिलाउनुपर्ने पनि सुझाव दिइएको छ ।
कार्डबाट हुने कारोबारको सीमा नियन्त्रणका लागि भिसा, मास्टर कार्ड लगायत अन्य भुक्तानी प्रणाली सञ्चालकहरूबाट सबै बैङ्क तथा वित्तीय संस्थाहरूले कारोबारको सीमा निर्धारण गर्न सेवा लिनुपर्ने व्यवस्था मिलाउनुपर्ने समेत प्रतिवेदनमा उल्लेख छ ।
उक्त घटनालाई विस्तृत रूपमा अध्ययन गर्नसिंगापुरको भेरीजोन कम्पनीका विज्ञहरू हिजो नै नेपाल आईसकेको र आजबाट काम थालेको फरेन्सिक अनुसन्धान सुरु गर्ने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्सा) का सीईओ प्रवीण क्षेत्रीले जानकारी दिएका छन् ।
उक्त दुई जना विज्ञापने चोरीको घटना कसरी भयो ? कुन बैङ्कको क्षति भयो ? र कसले बेहोर्नु पर्ने लगायतबारे यथार्थ विवरण दिने छन् ।
राष्ट्र बैंकले गत सोमवार नेप्सलाई ह्याकमार्फत भएको कारोबारको फरेन्सिक ल्याब टेस्ट गर्न पत्र पठाएको थियो । फरेन्सिक ल्याब टेस्ट गर्न १० दिनसम्म लाग्ने र त्यसको रिपोर्ट आएपछि यस घटनाबारे विस्तृत जानकारी हुने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस