
काठमाडौं । बैंकिङ कसुरका घटना बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा वीरगञ्जमा मात्रै दुई महिनामा यससंग सम्बन्धीत एक सय ६ वटा उजुरी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गत पुष महिनामा बैंकिङ कसुर मुद्दामा ५१ वटा उजुरी परेका छन् भने माघ महिनामा उक्त संख्या बढ्दो देखिन्छ । यो महिना मात्रै ५५ वटा बैंकिङ कसुरसंग सम्बन्धीत मुद्दा दर्ता भएका छन् ।
पर्सा प्रहरी कार्यालयमा यी दुई महिनामा तीन सय ६९ वटा मुद्दा दर्ता भएका छन् । यसमध्ये सबैभन्दा बढी मुद्दा बैंकिङ कसुरका रहेका छन् । त्यसपछि अभद्र व्यवहारका मुद्दा रहेका छन् । यस अवधिमा यो शिर्षकमा ९१ वटा मुद्दा दर्ता भएका छन् ।
त्यस्तै, गत पुष र माघ महिनामा चोरीका २९ वटा मुद्दा दर्ता भएका छन् भने बैंक तथा वित्तीय संस्था (हुण्डी)का ४ वटा रहेका छन् । यस्तै, मानव बेचविखन तथा ओसार पसारका ३, ठगी तथा अपािरधिक विश्वासघात सम्बन्धीका ८, कालोबजारीका २ वटा र लागु औषध सम्बन्धी ५३ वटा मुद्दा यस अवधिमा दर्ता भएका छन् ।
पर्सा प्रहरीले पुष र माघ महिनामा विभिन्न मुद्दामा फरार रहेका एक सय ९९ जना अभियुक्तहरुलाई पक्राउ समेत गरेको छ । पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत पर्सामा दाखिला गरिएको प्रहरीले जानकारी दिएको छ । यस अवधिमा प्रहरीले २० वटा हराएका मोबाइलहरुलाई फेला पारेर सम्बन्धीत धनिहरुलाई बुझाएको समेत जनाएको छ ।
माघ महिनाको मासिक प्रहरी कारवाही विवरण हेर्दा यस महिना तीन हजार भन्दा बढीलाई कारबाही गरिएको छ । यस अवधिमा ट्राफिक प्रहरीले तीन हजार पाँच सय जनालाई कारबाही गरि ३७ लाख २५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस