
काठमाडौं । अहिले वाणिज्य बैंकहरुको खराब कर्जा धेरै नै बढेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ। बैंकहरुको बढ्दो खराब कर्जाको कारण कतै वित्तीय क्षेत्रबाट नै नेपालमा आर्थिक मन्दी शुरु हुने त होइन भन्ने चिन्ता बढिरहेको छ। यो चिन्ता अझ बढ्ने गरी लघुवित्तहरूको समेत खराब कर्जामा व्यापक वृद्धि भएको देखिएको छ।
हाल सञ्चालनमा रहेका ५८ वटा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेपछि यस्तो देखिएको हो । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये वित्तीय विवरण सार्वजनिक गरेका संस्थाहरूमा नौ वटा लघुवित्तको नाफा बढेको छ भने ४३ वटा संस्थाको नाफा घटेको छ । यस अवधिमा नौ वटा लघुवित्त कम्पनीको खराब कर्जा घटेको छ भने ४९ वटा कम्पनीको खराब कर्जा बढेको छ । यसरी ती संस्थाको नाफा घट्नुमा खराब कर्जाको ठुलो योगदान रहेको देखिन्छ ।
३४ प्रतिशतले बढ्यो खराब कर्जा
अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा ३४ प्रतिशतले वृद्धि भएको छ । लघुवित्तहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको पुस मसान्तसम्ममा यी कम्पनीहरूको औसत खराब कर्जा ४ दशमलव ३६ प्रतिशत पुगेको छ । गत आवको पुस मसान्तसम्म उक्त लघुवित्त कम्पनीहरूको औसत खराब कर्जा ३ दशमलव २५ प्रतिशत रहेको थियो ।
नाफा कमाउने नौ कम्पनी
चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नौ वटा लघुवित्त कम्पनीहरुले २.१६ प्रतिशत देखि ९०.५६ प्रतिशतसम्म नाफा कमाएका छन् । यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नाडे लघुवित्त वित्तीय संस्था रहेको छ ।
उक्त कम्पनीले दोस्रो त्रैमाससम्म एक करोड ८० लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको तुलनामा कम्पनीको नाफा ९३.५६ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा कम्पनीले ९३ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, यस अवधिमा आरएसडिसी लघुवित्तले ६२.३३ प्रतिशत, साना किसान लघुवित्तले ३४.३३ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तले २.६४ प्रतिशत, गणपति लघुवित्तले ४.५६ प्रतिशत, स्वावलम्बन लघुवित्तले २.१६ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्सले ३८.३४ प्रतिशत, आरएडीसी लघुवित्तले २२.५८ प्रतिशत र छिमेक लघुवित्त वित्तीय संस्थाले ११.५६ प्रतिशत नाफा कमाएको छ ।
नोक्सानीमा रहेका छ लघुवित्त कम्पनी
दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नोक्सानीमा रहेका कम्पनीहरूमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, वीन नेपाल लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था र लक्ष्मी लघुवित्त वित्तीय संस्था रहेका छन् । उक्त वित्तीय विवरण अनुसार अन्य ३९ वटा कम्पनीहरूको नाफा घटेको छ ।
यी हुन्, खराब कर्जा घटेका नौ लघुवित्त कम्पनी
वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्त कम्पनीमध्ये नौ संस्थाको खराब कर्जा घटेको वित्तीय विवरणले देखाएको छ । यस अवधिमा सबैभन्दा बढी निर्धन उत्थान, छिमेक, स्वावलम्बन, मिथिला, सपोर्ट, उन्नती सहकार्य र गणपति, नेष्डो समृद्ध र खप्तड लघुवित्त वित्तीय संस्थाको खराब कर्जा घटको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १५.१५ प्रतिशत खराब कर्जा रहेको निर्धन उत्थान लघुवित्तको खराब कर्जा चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा ६.७७ प्रतिशतले घटेर ८.३८ प्रतिशत पुगेको छ । त्यस्तै, यस अवधिमा छिमेक लघुवित्तको खराब कर्जा ०.९० प्रतिशत रहेको छ । जबकि गत आवको सोही अवधिमा यो संस्थाको खराब कर्जा १.०० प्रतिशत रहेको थियो ।
सार्वजनिक भएको वित्तीय विवरण अनुसार यस अवधिमा स्वावलम्बन लघुवित्तको खराब कर्जा घटेर ७.१० प्रतिशत रहेको छ । गत आवको सोही अवधिसम्म संस्थाको खराब कर्जा ७.२६ प्रतिशत रहेको थियो । त्यसै गरी, मिथिला लघुवित्तको पनि खराब कर्जा घटेको छ । गत आवको सोही अवधिमा ३.९५ प्रतिशत रहेको उक्त संस्थाको खराब कर्जा चालु आवको दोस्रो त्रैमाससम्म ३.२९ प्रतिशतमा झरेको छ ।
यसबिच सपोर्ट लघुवित्तको खराब कर्जा पनि घटेको छ । गत आवको सोही अवधिमा ३.७४ प्रतिशत रहेको सो संस्थाको खराब कर्जा चालु आवको दोस्रो त्रैमाससम्म ३.५३ प्रतिशत रहेको छ । त्यसै गरी, खराब कर्जा घट्नेमा उन्नती सहकार्य लघुवित्त पनि रहेको छ । चालु आवको पुस मसान्तसम्म संस्थाको खराब कर्जा ४.२९ प्रतिशत रहेको छ । जबकि गत आवको सोही अवधिमा संस्थाको खराब कर्जा ५.८४ प्रतिशत रहेको थियो ।
उक्त वित्तीय विवरण अनुसार पुस मसान्तसम्म गणपति लघुवित्तको खराब कर्जा ०.५८ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको ०.८१ प्रतिशत र खप्तड लघुवित्त वित्तीय संस्थाको खराब कर्जा पनि ०.२८ प्रतिशतले घटेको छ ।
सर्वाधिक खराब कर्जा बढेका कम्पनी
उक्त हालै सार्वजनिक वित्तीय विवरण अनुसार यस अवधिमा सर्वाधिक रूपमा खराब कर्जा बढ्ने कम्पनीहरूमा उपकार लघुवित्त वित्तीय संस्था, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्था रहेका छन् ।
गत आवको सोही अवधिमा २.०२ प्रतिशत खराब कर्जा रहेको उपकार लघुवित्त वित्तीय संस्थाको खराब कर्जा चालु आवको पुस मसान्तसम्म आइपुग्दा ७.१५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिको तुलनामा संस्थाको खराब कर्जामा ५.१३ प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै, यस अवधिमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको खराब कर्जामा ४.२ प्रतिशतले वृद्धि भएको । गत आवको सोही अवधिमा संस्थाको खराब कर्जा ४.७१ प्रतिशत रहेका थियो । चालु आवको पुस मसान्तसम्म आइपुग्दा ८.९१ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म सामुदायिक लघुवित्तको खराब कर्जा ९.०४ प्रतिशत पुगेको छ । जबकि गत आवको पुस मसान्तसम्म संस्थाको खराब कर्जा ४.७० प्रतिशत रहेको थियो ।
यस्तो छ अन्य लघुवित्तको खराब कर्जाको अवस्था
प्रतिक्रिया दिनुहोस