aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

बैंकर्स संघले भन्यो: ‘ब्याजदर घटाउन सकिँदैन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ फागुन २०७९
बैंकर्स संघले भन्यो: ‘ब्याजदर घटाउन सकिँदैन’

काठमाडौं । ब्याजदर घट्ला भन्ने आशामा बसेका व्यवसायीहरूलाई नेपाल बैंकर्स संघले निराश पार्ने खबर सम्प्रेषण गरेको छ । बुधवार आयोजित पत्रकारसँगको अन्तरक्रियामा संघका अध्यक्ष सुनिल केसीले अहिले नै ब्याजदर नघट्ने स्पष्ट पारेका हुन् । 

एकल विन्दुमा ब्याजदर झार्नु पर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरूलाई त्यसो गर्न नसकिने सन्देश पठाउँदै केसी भने, ‘तुरुन्तै एकल विन्दुमा ब्याजदर झर्ने सम्भावना छैन । अहिले नै त्यस्तो अपेक्षा नगर्दा हुन्छ ।’

अन्तर्राष्ट्रिय परिस्थितिले समेत ब्याजदर घट्ने सम्भावनालाई साथ नदिएको उनले जानकारी गराएका छन् । विदेश उदाहरण पेश गर्दै उनले भने, ‘एक वर्षअघि अमेरिकामा एक प्रतिशत भन्दा तल ब्याजदर थियो । अहिले ४.७ प्रतिशतमा पुगेको छ । हाम्रै छिमेकी भारतमा पनि हालै ०.२५ प्रतिशतले बढेको छ ।’ 

बाह्यरुपमा देखिएका यस्ता लक्षण र खनिज तेलको मूल्यमा हुनसक्ने वृद्धिलाई ध्यानमा राखेर पनि अहिले नै ब्याजदर घटाउने नसकिने उनको भनाई छ । अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंकले समेत आगामी वर्ष मूल्यवृद्धि अत्यधिक हुने प्रक्षेपण गरेअनुसार पनि ब्याजदर कटौतीको निर्णयमा पुग्न नसकिने उनको तर्क छ । 

त्यसबाहेक नेपालका आन्तरिक पक्षहरूले समेत तुरुन्तै ब्याजदर कम गर्न छुट नदिने कुरा उनले दोहोर्‍याए । यदि विदेशबाट भित्रिने रेमिट्यान्समा हाल रहेको वृद्धि कायमै रहेको खण्डमा भने ब्याजदर कटौतीमा त्यसले सहयोग पुर्‍याउने उनको भनाई छ । 

ब्याजदर घटाएर बजारमा अध्याधिक तरलता पठाउने हो भने त्यसले आयातमा वृद्धि गराउने र मुलुक विगत ६ महिना अघि कै अवस्थामा पुग्ने खतरा बढ्ने अध्यक्ष केसीले बताए । अहिले बैंकहरुसंग एकैसाथ लगानी बढाउनु पर्ने र बजारलाई नियन्त्रणमा राख्नु पर्ने दोहोरो चुनौती रहेको उनले जानकारी दिए । 

विगतमा बैंकहरुसंग अत्याधिकरुपमा तरलता रहेका बेला ब्याजदर धेरै नै घटाएर लगानी गरेको स्मरण गर्दै उनले भने, ‘विगतमा पैसा हुँदा ब्याज घटाएको नै हो । अहिले केही राम्रो हुने संकेत मात्रै देखिएको हो । अवस्था धेरै सहज भइसकेको छैन ।’

सोही कार्यक्रममा बोल्दै बैंकर्स संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बैंकहरुको कमाई धेरै भयो भन्ने भनाईमा सत्यता नरहेको बताए । उनले भने, ‘६० अर्ब लगानी गरेर ६ अर्ब कमाउनु भनेको १० प्रतिशतको कमाई मात्रै हो । त्यसलाई धेरै भन्ने मिल्दैन ।’

उनले कोरोना महामारीका बेला अत्यधिक तरलता रहेका बेला प्रिमियम नै नराखी लगानी गरेको बताए । त्यस बेला आफूहरूले व्यवसायीहरूलाई पैसा लगिदिन अनुरोध समेत गरेको उनले सुनाए । तर, जब बैंकमा निक्षेप बढेन त्यसपछि ब्याजदर बढाउन आफूहरू बाध्य बनेको उनको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस