
नेपालगञ्ज । सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । रकम अपचलन गरेको आरोपमा बाँके प्रहरीले वडा नं १७ का अध्यक्ष अजयकुमार पाठक र वडा नं १८ का अध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
सहकारी वित्तीय विकास संस्था लिमिटेडको तत्कालीन सञ्चालक समितिमा रहेका दुबै जनाले रु ५२ करोड रकम अपचलन गरेको आरोपमा उहाँहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, “सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दाको अनुसन्धानका लागि उहाँहरुविरुद्ध पक्राउ पुर्जी जारी ग¥यौँ, प्रहरीले उहाँहरुलाई खोजिरहेको छ, तर सम्पर्कमा हुनुहुन्न ।” यसअघि पाठक उक्त सहकारी संस्थाको उपाध्यक्ष पदमा कार्यरत रहेका थिए भने बर्मा कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमितिमा रहेका थिए ।
सोही मुद्दाको अनुसन्धान अधिकृतसमेत रहेका प्रहरी नायब उपरीक्षक सापकोटाले रकम अपचलन अभियोग लागे पनि अध्यक्षद्वयले के–कति रकम अपचलन गरेको भन्ने अहिले नै स्पष्ट नभएकाले यसबारे थप अनुसन्धानपछि मात्रै यकिन तथ्य खुल्ने बताए । प्रहरीले पक्राउ पुर्जी जारी भएलगत्तै वडाध्यक्षद्वय पाठक र बर्मा भारततिर फरार भएको हुनसक्ने प्रहरीको आशङ्का छ ।
प्रतिक्रिया दिनुहोस