aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

ह्याकरको डरले साँझपख नै बन्द गर्न थालियो एटीएम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
ह्याकरको डरले साँझपख नै बन्द गर्न थालियो एटीएम

काठमाडौं । चिनियाँ नागरिकले गत शनिबार रातको समय पारेर एटीएम ह्याक गरेर पैसा झिकेपछि बैंकहरुले सुरक्षाको कारण देखाउँदै साँझ नपर्दै एटीएम काउन्टर बन्द गर्न थालेका छन् ।  सुरक्षित स्थानका केही एटीएमबाहेक अन्य स्थानमा रहेका एटीएम काउन्टर रात नपर्दै बन्द हुन थालेका हुन् । सुरक्षा समस्या भएको भन्दै २४सैं घण्टा खुल्नुपर्ने एटीएम  १२ घण्टा पनि मुस्किलले खुल्ने गरेका छन् । 

काठमाडौंको पर्यटकीयस्थल ठमेल, पोखराको लेकसाइडलगायतका स्थानका एटीएम पनि सुरक्षा गार्डको विशेष निगरानीमा २४संै घन्टा खुला रहे पनि अन्य स्थानमा रहेका एटीएम बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मुस्किलले १२ घन्टा मात्र खुला रहने गरेका छन् ।

एटीएम मेसिनको सुविधा २४संै घन्टा उपलब्ध हुने लेखिए पनि १२ घन्टा पनि खुला नहुने गरेको कोटेश्वरकी राधा चालिसे बताउँछिन् । ‘त्यहीँ १२ घन्टा पनि गुणस्तरीय सेवा दिन सकेका छैनन्,’ उनले भनिन–‘धेरैजसोमा बिग्रिएका हुन्छन् र आउट अफ सर्भिस लेखिएको हुन्छ ।’

एटीएम मेसिनले भरपर्दो र गुणस्तरीय सेवा दिन नसकिरहेकोे सर्वसाधारणको व्यापक गुनासो भइरहेका बेला चिनियाँ ह्याकरले एटीएम मेसिन नै ह्याक गरेपछि त झनै समस्या थपिएको हो । 

पहिलेदेखि नै एटीएमबाट पैसा निकाल्न समस्या परिरहेको छ, सर्वसाधारणले गुणस्तरीय सेवा पाउन सकिरहेका छैनन् । त्यसको सुनुवाई बैंकहरुले गर्न सकिरहेका छैनन् । त्यसमाथि पनि ह्याकरको समस्या थपिएपछि त समस्या झनै बढेको छ ।‘ अत्यावश्यक भएर एटीएमबाट रकम निकाल्न खोज्यो त्यही बेला कि मेसिन बिग्रेको हुन्छ कि त मेसिनमा पैसा नै हुँदैन,’ चालिसेले भनिन् ।

गुणस्तरीय सेवा त छैनन् नै त्यसमा पनि एटीएम खुल्ने समय पनि कटौती गरिएको छ । एटीएमले २४ घन्टा सेवा उपलब्ध गराउनुपर्ने हो । तर, ती मेसिनले दिने सेवा १२ घन्टाभन्दा बढी हुँदैन् ।  मेसिन नै तोडफोड गरेर रकम लैजान सक्ने सम्भावना नभए पनि गैरकानुनी रुपमा रकम निकाल्ने, मानसिक सन्तुलन बिग्रेका, सडक बालक र कुकुर एटीएम राखेको ठाउँमा सुत्नेलगायतका कारणले राति बन्द गर्नु परेको ती एक सुरक्षाकर्मीले बताए ।

यस्ता कार्यले सर्वसाधारणलाई मर्का पर्न गएको हो । चिनियाँ ह्याकरले एटीएमबाट पैसा निकालेपछि एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम प्रयोग गरेर रकम निकाल्न सकिँदैन ।  चिनियाँ ह्याकरले वितन्डा नै मच्चाउने गरी एटीएमबाट रकम निकाल्न पुगे ।  गत शनिबार चिनियाँ ह्याकरहरुले डाटा ह्याक गरी विभिन्न बैंकका एटीएमबाट साढे ३ करोड रुपैयाँ चोरी गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस