aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

कृषि विकास बैंकका अयोग्य अध्यक्षले दिए राजीनामा, खुल्यो सिइओ छनौटको बाटो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ फागुन २०७९
कृषि विकास बैंकका अयोग्य अध्यक्षले दिए राजीनामा, खुल्यो सिइओ छनौटको बाटो

काठमाडौं । सञ्चालक नै बन्ने योग्यता नपुग्दा नपुग्दै पनि कृषि विकास बैंकको अध्यक्ष बनेका रमेश दुवाडीले अन्ततः राजीनामा दिएका छन् । उनले हिजो बिहीबार साँझ अर्थ मन्त्रालयमा आफ्नो राजीनामा बुझाएका हुन्। 

दुवाडीले राजीनामा दिएसँगै अब कृषि विकाश बैंकले कार्यकारी नेतृत्व समेत चाँडै प्राप्त गर्ने भएको छ। अयोग्य अध्यक्षबाट छनौट गरिएको र नियुक्ति पाएको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ)को समेत वैधानिकता माथि प्रश्न उठ्न सक्ने भन्दै सञ्चालक समितिको बैठकमा नै उनको राजीनामा मागिएको थियो। तर, त्यसलाई बेवास्ता गर्दै आएका दुवाडीले बाध्य भएर बिहीबार राजीनामा बुझाएका हुन्। 

उनको योग्यता माथि प्रश्न उठाउँदै माघ २६ गते बिहीबार आर्थिक न्युजडटकमले पहिलो पटक 'कृषि विकास बैंकमा अध्यक्ष नै 'अयोग्य', सच्याउलान् पौडेलले शर्माको गल्ती ?' शीर्षकमा समाचार प्रकाशित गरेको थियो। सो समाचार सार्वजनिक भएपछि बैंकको सञ्चालक समितिको बैठकमा सार्वजनिक रुपमा नै प्रश्न उठ्न थालेकोले राजीनामा दिएर बाटो प्रस्तुत गर्न दुवाडीलाई अन्य संचालकहरुले दबाब दिएको स्रोतले बताएको छ। 

हाल कृषि विकास बैंक निमित्त सीइओबाट चलिरहेको छ। बैंकका निवर्तमान सिइओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएपछि बैंकले पुस २५ गते नयाँ सीईओका लागि विज्ञापन आह्वान गरेको थियो । उक्त पदका लागि माघ १५ गतेसम्म आवेदन खुला गरिएकोमा २२ जनाले आवेदन दिएका थिए । जस मध्ये बिहीबार बसेको सञ्चालक समितिको बैठकले ५ जनाको नाम सर्टलिष्ट समेत गरिसकेको छ। 

बैंक सम्बद्ध स्रोतका अनुसार  सर्टलिष्टमा पर्नेहरूमा सिभिल बैंकका पूर्व सिइओ गोविन्द गुरुङ, कृषि विकास बैंकका निमित्त सिइओ प्रताप सुवेदी, कृषि विकास बैंकका कायममुकायम नायव महाप्रबन्धक, यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका डीसीईओ विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्री कुमार गुरागाईँ रहेका छन्। 

अब सिफारिस समितिले उनीहरूको अन्तर्वार्ता अब नियमित रुपमा अघि बढाएर सञ्चालक समितिमा तीन जनाको नाम सिफारिस गर्ने छ। त्यसकालागि भोलि फाल्गुन ६ गते शनिवार नै सर्टलिष्टमा परेका पाँचै जना आकाङ्क्षीहरूको अन्तर्वार्ता हुँदै छ। सो अन्तर्वार्ता बैंकको भक्तपुर बोडेमा रहेको केन्द्रिय तालिम प्रतिष्ठानमा  सिफारिस समितिले लिने छ। कृषि विकास बैंकको सिइओ छनौट समितिमा अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सहसचिव सुमन दाहाल, पब्लिक सेयर धनीका रुपमा रहेका सञ्चालक हरि प्रसाद पराजुली र विज्ञका रुपमा आरएमडिसीका पुर्व सिइओ ज्योति चन्द्र ओझा रहेका छन्। 

सम्बद्ध स्रोतका अनुसार अब दुवाडीले राजीनामा दिइसकेको अवस्थामा सिफारिसमा परेका तीन जना प्रतिस्पर्धी मध्येबाट नयाँ सीइओको छान्ने  सञ्चालक समितिको बैठकको अध्यक्षता पनि अर्थ मन्त्रालयको प्रतिनिधिका रुपमा सुमन दाहालले गर्ने छन्। माघ २२ गतेभित्र सबै प्रक्रिया टुङ्गाएर सिइओ नियुक्त गर्ने बैंकको योजना थियो । तर, सो योजना अध्यक्षको कारणले रोकिएको बैंक स्रोतको भनाइ छ । 

यो पनि पढ्नुस् : कृषि विकास बैंकमा अध्यक्ष नै 'अयोग्य', सच्याउलान् पौडेलले शर्माको गल्ती ?

प्रतिक्रिया दिनुहोस