aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

बढेन वाणिज्य बैंकहरुमा अपेक्षाकृत निक्षेप, तरलता अभाव तुरुन्तै नहट्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ फागुन २०७९
बढेन वाणिज्य बैंकहरुमा अपेक्षाकृत निक्षेप, तरलता अभाव तुरुन्तै नहट्ने

काठमाडौं । केहि दिनअघि नेपाल बैंकर्स संघले पत्रकार सम्मेलन गरेर भन्यो, ‘चर्चा गरिएजस्तो तरलता सहजता भइसकेको छैन । पहिले भन्दा केहि खुकुलो मात्रै भएको हो ।’ तर, वाणिज्य बैंकहरुको तथ्यांक नहेकिन राजनीतिक भाषण गर्दै हिड्नेहरु भने भनिरहेका थिए, ‘बैंकमा पैसा आयो । आर्थिक सूचकांकहरु सकारात्मक छन् । तरलता अभाव हट्यो ।’   

माघ मसान्तसम्मको वाणिज्य बैंकहरुमा जम्मा भएको निक्षेप हेर्दा विगत झण्डै दुई वर्षदेखि जारी तरलता संकट तुरुन्तै घट्ने सम्भावना देखिदैन । पुस महिनामा स्वभाविकरुपमा बढ्ने गरेको निक्षेपको आकारलाई हेरेर बैंकहरुमा पैसा थुप्रिएको र तरलता अभावको समस्या सकिएको भन्ने निष्कर्ष एक महिनामा नै गलत सावित भएको छ । 

माघ महिनामा वाणिज्य बैंकहरुले जम्मा गरेको निक्षेपको आकार हेर्दा मंसिर कै हाराहारीमा देखिएको छ ।  चालू आर्थिक वर्षको पुष महिना बाहेक अरु सबै महिनामा लगभग उस्तै आकारमा रहेको छ । यसको अर्थ के हो भने पुष महिना अघि जुन प्रकारको तरलता प्रवाह बैंक तर्फ भइरहेको थियो अहिले पनि बैंकहरुमा भइरहेको तरलता प्रवाहको अवस्था उस्तै छ । जसले तरलता अभावको समस्या समाधान नभएको प्रष्ट पार्छ । 

तथ्यांकले के देखाउँछ भने माघ मसान्तसम्म वाणिजय बैंकहरुमा ४७ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको निक्षेप रहेको छ । जुन गत असार मसान्तको भन्दा दुई खर्ब रुपैयाँले बढी हो । तर, मंसिर मसान्तमा यस्तो रकम ४६ खर्ब २० अर्ब रुपैयाँ रहेकोमा पुष मसान्तमा ४७ खर्ब १६ अर्ब पुगेको थियो । यसको मतलब त्यो एक महिनामा मात्रै लगभग ९६ अर्ब रुपैयाँ निक्षेपका रुपमा थपिएको देखिन्छ । 

त्यस्तै, पुष मसान्तको तुलनामा माघ मसान्तसम्म मात्र २५ अर्ब रुपैयाँ बैंकहरुमा थपिएको छ । अघिल्लो महिनाको भन्दा झण्डै एक चौथाइ मात्र निक्षेप माघ महिनामा थपिनुले के देखाउँछ भने बैंकहरुमा तरलता अहिले भनिएजस्तो गरि बढ्ने गरेको होइन । 

लगानीमा पनि देखिएन प्रगति 
निक्षेप संकलनमा झै लगानीमा समेत निराशाजनक देखिएको छ । पुष महिनाभरिमा ५५ अर्ब रुपैयाँ लगानी गरेको बैंकहरुले माघ महिनामा भने झण्डै १२ अर्ब मात्रै लगानी गरेका छन् । जसरी निक्षेपमा संकुचन आयो त्यसैगरि माघमा लगानीमा पनि संकुचन देखिनुले बैंकहरुले खुलेर लगानी गर्ने स्थिती नदेखिएको दर्शाउँछ । 

जब निक्षेप घट्ने सम्भावना देखे बैंकहरुले पुषमा बढेको लगानीको मनोबल पनि माघमा त्यसैगरि गिरेको तथ्यांकले देखाएको छ । पुष मसान्तसम्ममा ४२ खर्ब ७८ अर्ब लगानी गरेको बैंकहरुले माघ मसान्तसम्मा ४२ खर्ब ९० अर्ब मात्र लगानी गरेका छन् । जबकी पुष महिनामा मात्र उनीहरुको लगानी माघको भन्दा झण्डै पाँच गुणाले बढी थियो । 

मर्जरमा गएका बैंकहरुको समेत बढेन निक्षेप
बैंकर्स संघको तथ्यांक हेर्दा मर्जरमा गएका बैंकहरुको पनि निक्षेप उल्लेख्य मात्रामा नबढेको देखिन्छ । बैंक अफ काठमाण्डूलाई मर्जरमा ल्याएको ग्लोबल आईएमई बैंकसंग माघ मसान्तसम्ममा ४ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप रहेको देखिन्छ । जबकी ग्लोबल आईएमई बैंक एक्लै रहँदा असार मसान्तसम्म ३ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । एकिकृत कारोबार शुरु गरेको पुष मसान्तमा समेत यो बैंकसंग ४ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । 

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने पुष मसान्तको तुलनामा माघ मसान्तसम्म निक्षेप घटेको छ । पुष मसान्तमा आफूसंग मेगा बैंकलाई मर्जरमा ल्याएको यो बैंकको माघ महिनामा साढे ६ अर्ब रुपैयाँ निक्षेप घटेको हो । पुष मसान्तमा यो बैंकसंग तीन खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । 

त्यसैगरि सेञ्चुरीसंग मर्ज भएको प्रभु बैंकको पनि माघमा साढे तीन अर्ब भन्दा बढी निक्षेप घटेको छ । पुष मसान्तसम्म २ अर्ब ७७ अर्ब निक्षेप रहेकोमा माघ मसान्तसम्म २ खर्ब ७४ अर्ब रुपैयाँ मात्रै रहेको छ । जबकी यो बैंकसंग असार मसान्तमा २ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।   
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई मर्जरमा ल्याएकोृ कुमार बैंकसंग असार मसान्तको तुलनामा अहिले झण्डै १९ अर्ब रुपैयाँ कम निक्षेप छ । यो बैंकसंग माघ मसान्तसम्म तीन खर्ब ५ अर्ब रुपैयाँ निक्षेप रहेको देखिन्छ । 

अन्य बैंकसंग कति छ निक्षेप ?  
माघ मसान्तसम्म केषि विकास बैंकसंग एक खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने सिटिजन बैंकसंग एक खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । सिभिल बैंकसंग भने सबैभन्दा कम ९३ अर्ब रुपैयाँ मात्र निक्षेप रहेको छ । त्यस्तै, एभरेष्ट बैंकसंग एक खर्ब ८१ अर्ब, हिमालयन बैंकसंग एक खर्ब ७७ अर्ब, लक्ष्मी बैंकसंग एक खर्ब ४८ अर्ब र माछापुच्छ्रे बैंकसंग एक खर्ब ५२ अर्ब रुपैयाँ माघ मसान्तसम्म्म निक्षेप रहेको देखिन्छ । 

नेपाल बैंकर्स संघका अनुसार ठूलो निक्षेप रहेको अर्को नबिल बैंक देखिन्छ । यस बैंकसंग तीन खर्ब ६० अर्ब रुपैयाँ निक्षेप रहेको छ । सरकारी स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडसंग २ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । राष्ट्रिय वाणिज्य बैंकसंग माघ मसान्तसम्म दुई खर्ब ९२ अर्ब निक्षेप रहेको छ । 

माघ मसान्तसम्म एनआइसी एसिया बैंकसंग तीन खर्ब भन्दा माथी निक्षेप संकलन गर्ने बैंकका रुपमा रहेको छ । जोसंग अहिले अघिल्लो महिनाको तुलनामा १२ अर्ब बढी अर्थात तीन खर्ब २१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । एनएमबी बैंकसंग एक खर्ब ९३ अर्ब, नेपाल एसबिआई बैंकसंग एक खर्ब ३४ अर्ब, प्राइम कमर्सियल बैंकसंग एक खर्ब ६६ अर्ब रुपैयाँ र सानिमा बैंकसंग एक खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

त्यस्तै, माघ मसान्तसम्म सिद्धार्थ बैंकसंग दुई खर्ब १२ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकसंग एक खर्ब ९ अर्ब रुपैयाँ रहेको छ । साथै सनराइज बैंकसंग माघ मसान्तसम्म एक खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप रहेको संघको तथ्यांकमा उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस