aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

राष्ट्र बैंकले बुधवारदेखि वार्षिक ११.५० प्रतिशत ब्याजदरको नागरिक बचतपत्र बिक्री गर्ने, १३ अर्ब भन्दा बढीको ऋणपत्र समेत निष्काशित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ फागुन २०७९
राष्ट्र बैंकले बुधवारदेखि वार्षिक ११.५० प्रतिशत ब्याजदरको नागरिक बचतपत्र बिक्री गर्ने, १३ अर्ब भन्दा बढीको ऋणपत्र समेत निष्काशित

काठमाडौं। नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको नागरिक बचतपत्र २०८४ ‘क’ निष्कासित गर्ने भएको छ। फाल्गुन १० गते बुधवारदेखि यो बचत पत्रको बिक्री खुलाउने जानकारी राष्ट्र बैंकले दिएको हो।

सो केन्द्रीय बैङ्कका अनुसार २ अर्ब ५० करोड बराबरको उक्त बचत पत्रको वार्षिक ब्याजदर ११.५० प्रतिशत रहेको छ।यो बचतपत्र खरिदकर्ताले ६/६ महिनामा ब्याज प्राप्त गर्नेछन्। 

सूचनामा उल्लेख भए अनुसार यो बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। उक्त बचतपत्र न्यूनतम १० हजार रुपैयाँ र अधिकतम कुल निष्कासन रकमको १० हजारले भाग गर्दा नि:शेष भाग जाने अंक बराबरको खरिद गर्ने गरी आवेदन दिन सकिने छ। 

इच्छुक बचतपत्र खरिदकर्ताले नेपाल राष्ट्र बैंकको वेबसाइटमा रहेको मनिटरी म्यानेजमेन्टभित्र प्रवेश गरी त्यहाँ रहेको अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्न सक्नेछन्। यस्तो बचतपत्र चाहेको समयमा बिक्री गर्न वा धितो राखी कर्जा लिन सकिन्छ। नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैकबाट निष्कासन भएको नागरिक बचतपत्र ५ वर्ष अवधिको रहेको छ ।

त्यसै गरी राष्ट्र बैंकले १३ अर्ब २३ करोडको ट्रेजरी बिल समेत बिक्री गर्दै छ। यस्तो बिल खरिदको लागि आज फाल्गुन ८ गते सोमबार बोलकबोलको लागि सूचना जारी भएको छ। २८, ९१ र १८२ दिनको लागी बिक्री गर्न लागिएको यो बिलको वितरण भने १० गते बुधवार हुने छ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस