
काठमाडौं । पोखरामा रहेका विभिन्न तीन बैंकका एटीएम एकै रातमा तोडफोड भएका छन् । त्यसरी एटीएमको तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
उदयपुर जिल्ला गाईघाट नगरपालिका वडा नं ७ स्थायी घर भइ हाल पोखरा १७, छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लमजुङ मर्स्याङ्दी गाउँपालिका ४ स्थायी घर भइ पोखरा १७, छोरेपाटनमै बस्ने २१ वर्षीय अर्जुन भन्ने लुबहादुर गुरुङलाई एटीएम तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीले दिएको जानकारी अनुसार आरोपित दुवै जनाले मंगलबार राति करिब १२ बजेको समयमा पोखरा १० रामबजारमा रहेको एनआइसी एसिया बैंक, रामबजारमै रहेको नेपाल बैंक लिमिटेड र सांग्रिला बैंक लिमिटेडेको एटीम मेसिन फोड्ने प्रयास गरेका थिए । उनीहरुले त्यहाँ राखिएको सीसी क्यामेरालाई कागजले छोपेर एटीएम मेसिन फोड्न ढुंगाले हानेको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि चोरी तथा डाँकासम्बन्धी कसूरअन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस