aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

आकस्मिक बिदामा पनि बैंकले सेवा दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ फागुन २०७९
आकस्मिक बिदामा पनि बैंकले सेवा दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । सरकारले आकस्मिकरुपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको हो ।

‘बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ संशोधनमा संशोधन गर्दै राष्ट्र बैंकले आजबाट यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ । 

“नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, रियल टाइम ग्रस सेटलमेन्टलगायतका अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो १ः३० बजेम्म बैंक तथा वित्तीय संस्थाका कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ”, राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

यसअघि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक खुलेको दिनबाहेक अन्य दिन सेवा दिनुपरेमा बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरीवेक्षण विभागमा पूर्वजानकारी गराउनुपर्ने व्यवस्था रहेको थियो । तर, अब आकस्मिकरुपमा घोषणा गरिएका सार्वजनिक बिदामा बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा सेवा दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस