
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र अन्य कर्मचारीको तलबभत्ता निर्धातरण गर्ने मागदण्ड बन्ने भएको छ । नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर चिन्तमणी सिवाकोटीले शनिबार डा. हरिहरदेव पन्त फाउण्डेसनले डा.हरिदेव पन्तको चौथो स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।
उनले भने, ‘बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीले पाउने सेवा सुविधाका विषयमा राष्ट्र बैंकले नयाँ नियम बनाउदै छ, सामान्य कर्मचारीको तलबभत्तामा सरकारले तोकेको न्यूनतम पनि दिन नचाहाने तर प्रमुख कार्यकारीको तलवभत्ता भने १५ औं लाखसम्म लिने यो ठिक भएन ।’
सामान्य कर्मचारीले काम पनि धेरै गर्ने र उनीहरुले पाउने सेवा सुविधा भने कम हुने यो कुनै पनि हालतमा राष्ट्र बैंकलाई मान्य नभएको उनले बताए । उनले भने, 'बैंकमा केहि आउट सोर्सभनेर पनि कर्मचारी राख्ने गरेको पाइयो कुनै काम जुन सधै गर्न पर्दैन त्यसमा काममा मात्रै आउट सोर्सबाट कर्मचारी लिन पर्ने हो तर ड्राइभर जो १८/२० घण्टासम्म काम गर्छ उनीहरुलाई आउट सोर्स भनेर राखेको पनि पाइयो ।'
यो असमानता हटाउन बैंक तथा वित्तीय संस्थाका कर्मचारी र प्रमुख कार्यकारी अधिकृतको तलबभत्ताका विषयमा राष्ट्र बैंकले नयाँ नियम बनाउदै गरेको उनले जानकारी दिए ।
उक्त कार्यक्रममा आर्थिक पत्रकार विष्णु वेलबासेलाई डा. हरिहरदेव पन्त आर्थिक पत्रकार सम्मान पत्रकारिता पुरस्कार प्रधान गरिएको थियो । आर्थिक पत्रकार बेलबासेलाई नगद ५० हजार सहित सम्मान गरिएको थियो । साथै सातै प्रदेशका ७ जना महिला उद्यमीहरुलाई ३० हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा देशैभरीका उद्यमीहरुको सफलताको कथा समेटिएको समृद्धिको मागमा भन्ने पुस्तक समेत विमोचन गरिएको थियो । कार्यक्रममा पूर्व गभर्नर गणेशबहादुर थापा,निर्धन उत्थानका अध्यक्ष सरदनिधि तिवारीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस