
काठमाडौं । नेपालको बैंकिङ प्रणाली निकै ठूलो दबावमा रहेको एक अध्ययनले देखाएको छ । केही मुठ्ठीभर व्यक्ति र समुहमा मात्रै बैंकहरुले लगानी गरेको भन्दै सार्वजनिक रुपमा आलोचना भइरहेका बेला त्यसलाई सत्य सावित गर्ने गरी अध्ययन रिपोर्ट सार्वजनिक भएको हो ।
नेपालको विश्वसनीय क्रेडिट रेटिङ कम्पनीको रुपमा परिचित इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार प्राय सबैजसो बैंकहरुले केही निश्चित व्यवसायिक घराना र व्यक्तिहरूलाई मात्रै ऋण लगानी गरेका कारण उनीहरू समस्यामा पर्दा बैंकिङ प्रणाली नै अप्ठ्यारोमा पर्ने चिन्ता सो प्रतिवेदनमा गरिएको छ ।
बैंकिङ कर्जाको गुणस्तर बिग्रिएको भन्दै कुनै ऋणीलाई अप्ठ्यारो पर्नासाथ त्यसले बैंकहरुको खराब कर्जामा ठूलो वृद्धि देखिन सक्ने सो प्रतिवेदनको निष्कर्ष छ । जसमा लेखिएको छ, ‘ यस्तो दबावको संकेत बैंकहरुको खराब कर्जामा देखिन थालेको छ ।’
एक महिना अघिसम्मको तथ्यांकलाई विश्लेषण गर्दै सो प्रतिवेदनमा राष्ट्र बैंकले निकै कडाइ गर्दा समेत कतिपय ऋणको गुणस्तर निकै कमजोर रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
इक्राको रिर्पोर्टमा बैंकहरुले ऋण लगानी गर्ने क्रममा गरेका कमजोरी नै बैंकिङ क्षेत्रको ठूलो समस्याको रुपमा थैल्याइएको छ । जसमा ब्याज मात्रै तिर्ने ऋणीलाई समेत ऋण थपिदिने काम बैंकहरुले गरिरहेको, छोटो अवधिका नवीकरणीय ऋण दिएर कतिपय निश्चित व्यापारीलाई सधैँ सहजता उपलब्ध गराएको जस्ता कमजोरीहरू बैंकहरुमा रहेको औँल्याइएको छ ।
व्याज मात्रै तिर्ने ऋणीलाई समेत असल ऋणीका रुपमा बैंकहरुले राख्ने तथा उनीहरूको स्थिति र क्षमताबारे अध्ययन नगर्ने जस्ता कमीकमजोरी बैंकहरुले गरिरहेको प्रतिवेदनमा उल्लेख छ । सहकारीहरूले लगानी गरेका ऋणका कारण आफू कालोसूचीमा परिँदैन भन्ने जानेर ठूला ऋणीहरुले सहकारीको ऋण समेत ठूलो मात्रामा लिइरहेका इक्राको अध्ययनमा देखिएको छ ।
यस सन्दर्भमा सर्वाधिक महत्त्वपूर्ण पक्ष यो छ की बैङ्कहरूका ठूला ऋणीहरू नै सहकारीका समेत ठूला ऋणका रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ । यसरी एउटै व्यक्ति तथा समुहमा विभिन्न वित्तीय संस्थाहरूबाट अधिक कर्जा परवाह हुँदा अत्यधिक जोखिम बढेको इक्राको प्रतिवेदनमा उल्लेख छ ।
स्मरणीय रहोस् बैंकहरुको खराब कर्जा अहिले निकै नै बढिसकेको छ । यस्तो गर्दा हाल २.६३ प्रतिशतसम्म पुगिसकेको यसअघि सार्वजनिक भएका वित्तीय तथ्यांकमा उल्लेख भएका छन् । बैंकहरुको लापरबाही र कर्जा लगानीमा देखिएको असावधानीले गर्दा बैंकहरुको नाफा मात्र नभएर सम्पूर्ण वित्तीय प्रणाली नै जोखिममा परेको भन्ने सार्वजनिक टिप्पणी भइरहेको बेला इक्राले गरेको यो अध्ययन प्रतिवेदन निकै बढी अर्थपूर्ण मानिएको छ ।
यदि यस्ता अध्ययन प्रतिवेदनहरूले औँल्याएका खराबीलाई कम गर्ने र वित्तीय प्रणालीलाई बलियो बनाउने तर्फ बैंकहरुले नसोच्ने हो भने नेपालको आर्थिक संकटको थालनी वित्तीय क्षेत्रबाट नै सतहमा आउने विश्लेषकहरूको टिप्पणी रहेको छ ।
प्रतिक्रिया दिनुहोस