aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

दुर्गा प्रसाईँको धम्कीबारे बैंकर्सहरुको आपत्ति, भन्छन्: ‘ऋण खाएपछि तिर्नु पर्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ फागुन २०७९
दुर्गा प्रसाईँको धम्कीबारे बैंकर्सहरुको आपत्ति, भन्छन्: ‘ऋण खाएपछि तिर्नु पर्छ’

काठमाडौं । नेपालको वित्तीय क्षेत्रलाई केन्द्रित गरि पछिल्लो केही समय यता भइरहेको आन्दोलन र आक्रमणका धम्कीबारे सरोकारवालाहरूले गम्भीर आपत्ति जनाएका छन् । बैंक वित्तीय संस्थाहरुविरुद्ध भइरहेका नकारात्मक टिप्पणी तथा कर्मचारीहरूलाई हतोत्साहित हुनेगरि दिइएका धम्कीबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल बैंकर्स संघ लगायतका संस्थाहरूले विज्ञप्ति जारी गरेका हुन् । 

संघसंगै डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा विरोधको आडमा जबरजस्ती कानुन आफ्नो हातमा लिई हुने अराजक घटनालाई समयमा नै नियन्त्रण गर्न राज्यलाई ध्यानाकर्षण गराइएको उल्लेख छ ।  

व्यवसायी दुर्गा प्रसाईँले दस्ता नै खडा गरेर सार्वजनिकरुपमा बैंकका म्यानेजरहरूलाई नै कालोमसो दल्नेदेखि भौतिकरुपमा आक्रमण गर्ने धम्की दिँदै आएका थिए । त्यसैसँग मेल खानेगरि कतिपय व्यवसायी संघ संस्थाहरूले बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । 

वित्तीय क्षेत्रका कर्मचारीहरूमाथि दुर्व्यवहार भएका घटना सार्वजनिक हुन थालेपछि यसप्रकारको संयुक्त विज्ञप्ति जारी भएको हो । बिहिबार सार्वजनिक भएको विज्ञप्तिमा भनिएको छ, ‘बैंक/वित्तीय तथा लघुवित्त संस्थाहरूको आफ्ना ग्राहकहरूसँग रही आएको सुमधुर सम्बन्धलाई एकाध नकारात्मक क्रियाकलापले बिथोल्न नसक्नेमा हामी स्पष्ट छौँ । कुनै पनि बैंक/वित्तीय तथा लघुवित्त संस्थाबाट ऋण लिए पछि नियमित रूपमा कर्जाको साँवा÷किस्ता तिर्नु ऋणीको पहिलो दायित्व हुनेमा दुई मत छैन ।’ 

यस प्रकारका धम्कीहरूलाई अराजकता भन्दै अगाडी उल्लेख गरिएको छ, ‘विभिन्न सर्तहरूको अधीनमा रही बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए पछि नतिर्ने भन्नु अराजकता हुनुका साथै यस प्रकारका क्रियाकलापहरू कसैको हितमा नहुने, यसले असहज वातावरण सृजना गर्ने र आर्थिक गतिविधिमा समेत नकारात्मक असर पार्न सक्ने हुनाले यस प्रति सजग रहन हामी सबैमा आग्रह गर्दछौँ ।’ 

आफूहरूले नियामक निकायको निर्देशनहरुलाई पालना गर्दै आएको उनीहरूको भनाई छ । आगामी दिनमा त्यसैगरि अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दै भनिएको छ, ‘कानुन विपरीत कुनै पनि गतिविधिहरू नगर्न र केही समस्या भएको खण्डमा सम्बन्धित संस्थासँग छलफल गरी अघि बढ्नु नै हितकारी हुने ब्यहोरा अनुरोध गर्दर्छौ । साथै, आगामी दिनमा बैंकिङ्ग क्षेत्रलाई थप सबल र सुदृढ बनाउँदै मुलुकको आर्थिक विकासमा मद्दत गर्न सबै सरोकारवालाहरुको साथ र सहयोगको अपेक्षा गर्दछौँ ।’ 

  

 

प्रतिक्रिया दिनुहोस