aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

आन्दोलनका नाममा बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ फागुन २०७९
आन्दोलनका नाममा बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले देशभर बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध भइरहेको प्रदर्शनप्रति ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गर्दै मन्त्रालयले त्यस्ता प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । 

मन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गरेर अवाञ्छित गतिविधि गर्नेहरुलाई नियन्त्रण गर्न परिपत्र मार्फत निर्देशन दिएको छ । बैंकका शाखाको सुरक्षामा खलल पार्ने तथा आन्दोलनको नाममा शान्ति सुरक्षा हनन गर्ने क्रियाकलाप बढ्न सक्ने भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न मन्त्रालयले निर्देशन दिएको हो । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले फागुन १ गते झापाको मेचीपुलमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनको परिवारका सदस्यहरुलाई मञ्चमा राखेर गरेको उत्तेजक भाषणमा बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने व्यवस्था ल्याउन लागेको दाबी गरेका थिए । २० लाखभन्दा तलको ऋण मिनाहा गर्ने व्यवस्था ल्याउन लागेको भन्दै प्रसाईंले कर्जा उठाउन आउने लघुवित्तका कर्मचारीहरुलाई कालोमोसो दल्न आव्हान गरेका थिए । 

प्रसाईंको उक्त उत्तेजक भाषणपछि विभिन्न ठाउँमा बैंकका कर्मचारीहरुमाथि आक्रमण हुन थालेको छ । केही ठाउँमा बैंक तथा वित्तीय संस्थाका शाखाहरुमा आक्रमण हुनुका साथै संगठित रुपमा बन्द गराउने अभियानसमेत चलेको छ । 

बैंक तथा वित्तीय संस्था तथा त्यसका कर्मचारीहरु असुरक्षित हुन थालेपछि बिहीबार बैंकर्स संघका प्रतिनिधिहरुले गृहमन्त्रालयका सचिव विनोद प्रकाश सिंह तथा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई भेटेर सुरक्षाको प्रत्याभूति दिन आग्रह गरेका थिए । सोही आग्रह बमोजिम मन्त्रालयले सम्भावित प्रदर्शन र क्षति रोक्न आज परिपत्र गरेको हो । 

प्रतिक्रिया दिनुहोस