_20230305170918.jpg)
काठमाडौं । साकोसका व्यवस्थापन प्रमुखहरूको गोष्ठी यही फागुन २४ गतेदेखि हुने भएको छ । आइतबार नेपाल बचत तथा ऋण सहकारी संस्था नेफ्स्कुनले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो । उक्त गोष्ठी फागुन २४ र २५ गते काठमाडौंमा हुने भएको हो ।
गोष्ठीको उद्देश्यहरूमा वित्तीय सहकारीको दर्शन र मुल्यमा आधारित व्यावसायिक जनशक्ति विकास गर्नु, विश्वव्यापी नवीनतम अभ्यास, अनुभव र सिकाइहरू मार्फत ज्ञान, सीप र प्रविधिको अवलम्बन एवम् हस्तान्तरण गर्नु, राष्ट्रियस्तरमा भएका नवीनतम र सफल अभ्यासहरू आदानप्रदान गर्नु र वित्तीय सहकारीका लागि विकास गरेका नवीनतम औजार र समाधानहरूको आन्तरिकीकरणको लागि दिशानिर्देश गर्नु रहेको छ ।
त्यस्तै, कार्यरत जनशक्तिको उत्प्रेरणामार्फत तनाव रहित वातावरणमा कार्यसम्पादनका लागि प्रेरित गर्न, वित्तीय सहकारीको विकासका सम्भावना पहिचान गरी कार्यान्वयन गर्न अभिप्रेरित गर्न र वित्तीय सहकारीलाई उत्पादनमा आधारित लगानीमा प्रोत्साहित गर्ने गोष्ठीको उद्देश्य रहेको छ । यसका साथै वित्तीय सहकारीलाई आकर्षक रोजगार प्रवर्द्धक क्षेत्रको रूपमा स्थापित गर्ने जनाइएको छ ।
नेफ्स्कुनले हरेक तिन/तिन वर्षमा सो गोष्ठी गर्ने गरेको नेपाल बचत तथा ऋण सहकारी संस्था नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार सो गोष्ठीमा सहभागी हुन ३९८ सदस्यहरूले रजिष्ट्रेशन भरेको उनले जानकारी दिए ।
उक्त गोष्ठीमा सात वटा कार्यपत्र प्रस्तुत हुने उनले बताए । साथै सो कार्यक्रमले नियामक निकायलाई पनि थप पृष्ठपोषण पुग्ने विश्वास लिएको उनको भनाइ छ । सो गोष्ठीका लागि ४८ जिल्लाका ८३ जना महिलासहित ३९८ जनाको आवेदन परेको छ ।
प्रतिक्रिया दिनुहोस