aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट, बढी पाउनेले ११ कित्तासम्म पाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ फागुन २०७९
आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट, बढी पाउनेले ११ कित्तासम्म पाए

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले आज विहान आईपीओ बाँडफाँट सम्पन्न भएको जानकारी दिएको हो । कम्पनीले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि  १५ गतेसम्म आईपिओ विक्री गरेको थियो ।

 तोकिएको अवधिभित्र कुल १५ लाख ३८ हजार ४६६ जनाले १ करोड ६८ लाख १३ लाख १८० कित्ता शेयर खरीद माग गर्दै आवेदन दिएको विक्री प्रबन्धकको भनाई छ । मागभन्दा बढी आवेदन पर्न आएकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो । 

विक्री प्रबन्धकका अनुसार आईपीओ खरीदका लागि आवेदन दिएका कुल आवेदकहरूमध्ये २ हजार २०३ जनाको आवेदन रितपूर्वक नभएको भन्दै रद्द गरिएको छ । यी वाहेक योग्य १५ लाख ३६ हजार २६३ जना आवेदकलाई आईपीओ बाँडफाँटमा सहभागी गराईएको हो । योग्य आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराईएकोमा भाग्यमानी १६ हजार ९७६ जनाले मात्र शेयर प्राप्त गरेका छन् । पहिलो चरणमा १६ हजार ९७६ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरी बाँकी रहेको ५ कित्ता शेयर ५ जनालाई थप एक कित्ताका दरले ११ कित्ता शेयर बाँडफाँट गरिएको विक्री प्रबन्धकको भनाई छ ।

कम्पनीले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ दशमलव ६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको थियो । 

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा २० हजार ३३८ कित्ता आईपीओ बाँडफाँट गरेको कम्पनीले ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी १ लाख ६९ हजार ७५५ कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो । 

हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ४ करोड २० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस