aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बैंकको दादागिरी बढेको व्यवसायीको आरोप, ब्याजदर नघटे संसद् घेराउ गर्ने

  • श्यामसुन्दर गौरो
    श्यामसुन्दर गौरो
  • आइतबार, २८ फागुन २०७९
बैंकको दादागिरी बढेको व्यवसायीको आरोप, ब्याजदर नघटे संसद् घेराउ गर्ने

काठमाडौं । देशभरका उद्योगी व्यवसायीले आइतबार काठमाडौंको माइतीघर मण्डलामा बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन गरेका छन् । बैंकहरुको ब्याज आतङ्क बढेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।  

'बैङ्किङ आतङ्क बन्द गर !, ब्याजदर चर्को भयो गरिखान गाह्रो भयो !' लगायतका नाराहरू सहित उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। यसका साथै उनीहरूले प्रिमियम दर वृद्धि नियन्त्रण गर्न समेत माग गरेका छन् । व्यवसायीहरू ब्याजदरमा स्थिरता कायम गर, चालू पुँजी निर्देशिका स्थगन गर, उच्च सेवा शुल्क बन्द भन्ने नारा लेखिएका प्लेकार्ड सहित आन्दोलनमा उत्रिएका हुन्। 

आन्दोलन सङ्घर्ष समितिको संयोजक समेत रहेका नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष नरेश कटुवालले बैंक तथा वित्तीय संस्थाहरूको दादागिरी अन्त्यको लागि व्यवसायीहरू सडकमा उत्रिनु परेको बताए । उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरूको दादागिरी अन्त्यको लागि व्यवसायीहरू सडकमा उत्रिनु परेको हो । यसका लागि देशभरका व्यवसायीहरू एकजुट भएका छौँ ।’

आफूहरूको माग पुरा नभए केही दिनमै देशभर ठुलो आन्दोलन गर्ने समेत उनले चेतावनी दिए । उद्योगी व्यवसायीहरु माथी बैंकहरुको दादागिरीबारे सरकार र राष्ट्र बैंकको ध्यान जानुपर्ने समेत उनले माग राखे । ‘आन्दोलन गर्नु पर्ने स्थिति आउनु भनेको मुलुकको लागि राम्रो होइन । यसका सरकार र राष्ट्र बैंकको ध्यान नजाने हो भने यसले विकराल रुपमा लिनेछ’, कटुवालले अगाडी भने, ‘भोलि राष्ट्र बैंक घेराउ कार्यक्रम हुनसक्छ । संसद् समेत घेराउ गर्न पनि हामी सक्छौँ ।’    

कीर्तिपुर उद्योग वाणिज्य सङ्घकी अध्यक्ष राज्यलक्ष्मी शाक्यले बैंकहरुले साथी भन्दै राती पनि तर्साउन थालेपछि आन्दोलन गर्नु परेको बताइन् । उनले भनिन्, ‘बैंक तथा वित्तीय संस्थाहरूले धम्कीपूर्ण दुर्व्यवहार गर्दै आएका छन् । घरघरमा बाउन्सर पठाएर तर्साउन थालिएको छ । बैंक पनि साथी पनि, तर्साउँछ राती पनि भन्ने विरुद्धमा आज आन्दोलनमा उत्रिएका छौँ ।’ कटुवालले झैँ शाक्यले पनि आगामी दिनमा माग सम्बोधन नभए सशक्तरुपमा आन्दोलन गर्ने चेतावनी दिइन् ।

मोरङ व्यापार सङ्घको अध्यक्ष नवीन रिजाल बैंकहरुको ब्याजदरका कारण एक वर्षदेखि सडकमा आएको बताए । आन्दोलनबारे बोल्दै उनले भने, ‘चर्को ब्याजदरका कारण विगत एक वर्षदेखि नै सडकमा छौँ । हाम्रा दर्जनौँ साथीहरू आत्मदाह र आत्महत्या गरिसक्नु भएको छ । आगामी दिनमा यस्तो दिन नआओस् भनेर नै हामी आन्दोलित बनेका हौँ ।’  

ब्याजदर एकल अङ्कमा ल्याउनु पर्ने उनको माग रहेको छ । प्रिमियम शुल्क घट्नु पर्ने र अन्य शुल्कहरूमा पनि घट्नु पर्ने उनको माग रहेको छ । जनताको समस्याबारे सम्बोधन गर्ने हो भन्ने लाग्छ भने जनप्रतिनिधि, सांसदहरूले राष्ट्र बैङ्कमाथि हस्तक्षेप गर्ने पर्ने समेत उनको तर्क रहेको छ ।

हिजोका दिनमा बैंकमा पैसा लिन आउनु भन्दै बोलाउने बैंक तथा वित्तीय संस्था अहिले एक महिना कट्न नपाई दिनानुदिन फोन गरेर, धाएर, धम्कीपूर्ण व्यवहार गर्ने गरेको पोखरा उद्योग वाणिज्य सङ्घकी उप महासचिव शोभा गौतमले गुनासो गरिन्। उनले अगाडी भनिन्, ‘ब्यावसायीहरुलाई सरकार पनि छ भन्ने अनुभूति भएको छैन । हामी व्यवसायीमाथि भएको अन्याय अत्याचारबारे सरकार निरीह भएर हेरिरहेको छ । हामीले गरिखाने वातावरण हुनु पर्छ ।’  

उनका अनुसार पोखरा पर्यटकीय क्षेत्र हो । पोखराका पर्यटन व्यवसायीहरू अहिले मार्कामा रहेका छन् । व्यवसायीहरू गरिखाने की मरिजाने भन्ने स्थितिमा रहेका छन् । यस्तो अवस्थामा सरकारले नै सहुलियतपूर्ण ऋण दिनु पर्ने हो । तर, यहाँ त्यस्तो भएको छैन ।

ऋण लिएपछि तिर्नु पर्दैन त भन्ने प्रश्नमा गौतम भन्छिन्, ‘व्यवसायीले ऋण तिर्दैनौँ भनेका छैनन्। जसरी भए पनि तिर्छौ । आफ्नो सम्पत्ति राखेर लिएको ऋण नतिर्ने भन्ने नै हुँदैन । भलै ढिला होला । तर, समस्यामा परेका व्यवसायीहरूलाई ढिला भए पनि तिर्छु भनेपछि धम्कीपूर्ण व्यवहार गर्न मिल्छ ?’

समस्यामा परेका व्यवसायीहरूबारे राज्यले नीतिगतरुपमा नै सहजीकरण गरिदिनु पर्ने माग राख्दै राष्ट्रिय यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौलाले भने, ‘सरकार भनेको अभिभावक हो । सबै उद्योगी व्यवसायीको पनि अभिभावक हो सरकार । उद्योगी व्यवसायी भनेको देशको आर्थिक उन्नतिको एउटा पिल्लर हो । यी पिल्लरहरु अहिले धराशायी अवस्थामा छन् । आफूहरूको गुनासो सुनिदिनु पर्‍यो भन्दै सडकमा हात फैलाइ मागिरहेका छन् ।’

उनका अनुसार चार लाख भन्दा बढी मालवाहक सवारी साधन रहेका छन् । अनुमानित रुपमा दश खर्ब जति लगानी यातायात क्षेत्रमा रहेको छ । यातायात जस्तै अन्य क्षेत्रमा पनि खर्बौ लगानी छ । यो लगानीमा ७० प्रतिशत जति सबै ऋण हो । उद्योगी व्यवसायी धरासायी भए भने भोलि बैंक पनि टाट पल्टिन्छ । बैंक टाट पल्टिनु भनेको मुलुकको आर्थिक स्थिति टाट पल्टिनु हो । यसले गर्दा यी दिनहरू आउनु हुँदैन भन्ने हाम्रो भनाई हो ।  

अहिले चलिरहेको व्यवसायीको आन्दोलन आगोको झिल्काजस्तो रहेको र कुनै पनि समयमा ठुलो डढेलो लाग्न सक्ने सिटौलाको भनाई छ । अहिलेको ब्याजदर भनेको काम गरेर पनि तिर्न नसक्ने खालको भएको बानेश्वर व्यवसायी सङ्घमा आबद्ध समेत रहेका व्यवसायी युनेश सुवेदी बताउँछन् । यसका साथै अहिले देखिएको समस्या व्यवसायीको मात्र नभई राज्यको नै रहेको उनको भनाई छ ।

‘काम गरे खान्छु भन्ने व्यवसायीहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले अत्याचार गरेको छ । ऋण प्रवाह गर्दा जति ब्याजदर कायम भएको थियो त्यति नै लिनु पर्ने हो । गरिखाने वातावरण सरकारले नै बनाइदिएको छैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस