aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

दशैंतिहार लक्षित सहुलियत पसल आजदेखि सञ्चालन, के-केमा कति दिने भयो छुट ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ भदौ २०७६
दशैंतिहार लक्षित सहुलियत पसल आजदेखि सञ्चालन, के-केमा कति दिने भयो छुट ?

काठमाडौं । नजिकिँदै गरेको दसैं र तिहारलाई लक्षित गर्दै सरकारले सोमबारबाट काठमाडौं उपत्यकासहित देशका ७३ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएका छन् । चाडपर्वका बेला उपभोक्ता ठगिने कुरालाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकाका ९ ठाउँसहित देशका मुख्य सहरमा ७३ वटा सहुलियत पसल सञ्चालनमा ल्याउने भएको हो । 

यस्ता पसल भदौ २३ गते देखि कात्तिक १६ गतेसम्म सञ्चालनमा आउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । वाणिज्य विभागका अनुसार काठमाडौं उपत्यकामा कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुर लगायत ९ ठाउँमा सहुलियत पसल हुनेछन् । त्यसैगरी, साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्ने छ भने उपत्यका बाहिर २४ वटा पसल सञ्चालनमा आउने भएका छन् ।

काठमाडौं उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहानलगायत मख्य सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालन गर्नेछ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २३ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउन लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रवक्ता सर्मिला न्याउपाने सुवेदीले जानकारी दिइन् । सहुलियत पसलमा चामल, गेडागुडीदेखि मासु समेत सहुलियत मुल्यमा पाइने जानकारी सुवेदीले दिइन् । 

सहुलियत पसलमा नुन, चामल, चिनी, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ । सुपथ मूल्य पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा दुई रुपैयाँ, मसिनो चामलमा तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ । त्यस्तै, च्यांग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने सुवेदीले बताइन् । खाद्यले यसपटक २ हजार च्यांग्रा र १ हजार खसी–बोका बिक्री गर्ने लक्ष्य राखेको समेत जानकारी दिइन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं उपत्यकामा ५ र उपत्यका बाहिर १८ वटा पसल सञ्चालन गर्ने प्रवक्ता सुवेदीले बताइन् ।  । खाद्य व्यवस्थाले थापाथली, नख्खुलगायतका कार्यालयमा चिनी, फापर र सिमीमा छुट दिनेछ भने खसी बोका थापाथली कार्यालयमा बिक्रीका लागि राखिने बताइन् । मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले २४ र दुग्ध विकास संस्थानले १५ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछन् । 

साल्ट ट्रेडिङले प्रतिकिलो नुनमा २ रुपैयाँ र चिनीमा ५ रुपैयाँ छुट दिनेछ । दुग्ध विकास संस्थानले प्रतिकिलो घिउमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ छुट दिनेछ । 

कालीमाटी, जावलाखेल, कोटेश्वर, सूर्य्विनायक, बनेपालगायतका कार्यालयमा साल्ट ट्रेडिङले गेडागुडीलगायत चिनी र नुनमा छुट दिनेछ ,डीडीसी घ्यू ५० रुपैयाँ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ भने चिनीमा प्रतिकिलो ५ रुपैयाँ सहुलियत दिने तयारी छ।

दुग्ध विकास संस्थानले काठमाडौं उपत्यकामा ४ र उपत्यका बाहिर ११ वटा ठाउँमा सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस