aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सिद्धार्थ बैंकले नकार्‍यो एनआईसीसंग मर्जरको हल्ला, शुरु भयो एनएमबिको शरणमा पुगेको चर्चा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० चैत्र २०७९
सिद्धार्थ बैंकले नकार्‍यो एनआईसीसंग मर्जरको हल्ला, शुरु भयो एनएमबिको शरणमा पुगेको चर्चा

काठमाडौं । एनआईसी एशिया बैंक निकै गम्भीर समस्यामा रहेको भन्ने बजारमा चर्चा चल्न थालेको धेरै भयो । के कस्ता कमजोरीका कारण सो बैंक अप्ठ्यारोमा पर्दै गएको हो भन्नेबारेको विषयलाई ओझेलमा पार्न फेरि अर्को हल्ला चलाइयो । त्यो हल्ला हो, एनआईसी एसिया र सिद्धार्थ बैंकबिच मर्जरको प्रक्रिया अघि बढ्दै छ भन्ने । 

सायद, बजारमा विश्वास गुमाउँदै गएको बैंकसंग आफ्नो नाम जोडिएकोले होला सिद्धार्थ बैंकले औपचारिकरुपमा नै प्रतिक्रिया दियो– यस बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थाबिचमा मर्जर, एक्विजिसन सम्बन्धी फैलाइएको समाचारमा कुनै आधिकारिकता छैन । 

एनआईसी एशिया बैंक र सिद्धार्थ बैंकहरुलाई एक आपसका जोडेर मर्जरको चर्चा चल्नु पछाडिको अर्को पनि एउटा कारण रहेको छ । त्यो हो, यी दुई वटै बैंकका सञ्चालक समितिमा रहेको माडबाडी समुदायको बाहुल्यता ।  

चैत्र ९ गते बिहिबार सिद्धार्थ बैंकले एनआईसी बैंकसंगको मर्जरको चर्चालाई खारेज गरेपछि फेरि अर्को चर्चा शुरु भएको छ । त्यो हो, एनआईसी एशिया बैंक र एनएमबि बैंकबिच मर्जरमा जाने ।  यसका लागि दुई बैंकबिच छलफल समेत भइरहेको चर्चा रहेको छ । 

तर, एनएमबि बैंक र एनआईसी एशिया दुवै बैंकका जिम्मेबार अधिकारीहरू भने यो विषयमा मानिरहेका छैनन । तथापि दुवै बैंकका तल्ला तहका कर्मचारीहरूबिच भने खासखुस र फासफुस भने व्यापक छ । त्यसो त मर्जर र एक्विजिसन जस्ता विषयहरूले सबैभन्दा बढी पिरोल्ने गर्छ कर्मचारीहरूलाई । 

अहिलेसम्म भएका हरेक मर्जर र एक्विजिसनपछि बनेका बैंकहरुमा तल्ला तहका कर्मचारीहरूको स्पष्ट दुई चिरा देखिँदै आएको छ । त्यहाँ एउटा बैंकले आफूलाई आदिवासी ठान्ने र अर्कोबाट आएका कर्मचारीलाई आप्रवासी झैँ व्यवहार गर्ने प्रवृत्तिले एकीकृत कारोबार गरिरहे पनि कर्मचारीहरूबिचमा भने भावनात्मक एकता हुन सकेको छैन । 

एनएमबि बैंकसंगको एनआईसी एशिया बैंकको मर्जरमा सहजता भने छैन । एनएमबि बैंकका अध्यक्ष रहेका पवन कुमार गोल्याण अहिले बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष समेत रहेका छन् । उनी जानीजानी कुनै अर्को बजारमा विश्वास गुमाउँदै गएको बैंकसंग गएर घाटी जोड्छन् भन्ने कल्पना बैङ्किङ क्षेत्रका विज्ञहरूले समेत गरेका छैनन । तथापि अब मर्जरमा जान या एक अर्कामा गाभिन बाँकी रहेका बैंकहरु रहेका हुनाले यिनीहरूको नाम एक आपसमा जोडिनु अस्वाभाविक भने होइन । 

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसी समेत अहिले नेपाल बैंकर्स संघका अध्यक्ष छन्  । उनलाई नेपालका वाणिज्य बैंकहरुको अवस्थाबारे राम्ररी जानकारी छ । वित्तीयरुपमा कुन बैंक स्वस्थ छ र कुन अस्वस्थ छ भन्ने ज्ञान भएका कारण उनले समेत एनएमबि बैंकको सञ्चालक समितिलाई एनआईसीसंग मर्जरमा जाने कुरा नसुझाउन सक्छन् । 

फेरि पनि बजारमा चलेको चर्चा अनुसार एनआईसी एशिया बैंक जुनसुकै तवरले पनि कुनै न कुनै बैंकसंग जोडिनै पर्ने बाध्यतामा छ । यदि सिद्धार्थ बैंकले झैँ एनएमबि बैंकले पनि एनआईसी एशियासंगको मर्जरको चर्चालाई औपचारिकरुपमा नै नकार्‍यो भने एनआईसीले अर्को कुन बैंकसंग छलफल अगाडी बढाउने हो त्यो भने हेर्न बाँकी नै छ । 

प्रतिक्रिया दिनुहोस