
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालक नै सञ्चालक समितिको बैठक समाप्त हुन नपाउँदै लाभांश यति उति दिने भयो भनेर आफन्तलाई सूचना चुहाउने गर्छन् । शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको लाभांश सम्बन्धी सूचना चुहिएपछि ती कम्पनीको शेयरको भाउ निमेषमै आकास पाताल हुने गर्दछ ।
सञ्चालक समितिले लाभांशको गोप्य सूचना बैंठक समाप्त नहुँदै वाथरुमबाट चुहाउने गरेको सरोकारवालाहरु बताउँछन् । यसलाई उनीहरुले अनावश्यक चलखेल भन्ने गरेका छन् । बैंक तथा वित्तीय संस्थाले धमाधम गत वर्षको लाभांश घोषणा गरिरहेका छन् । यस्तो बेलामा लाभांशको सूचना सञ्चालक समितिले बैठक भइरहेको समयमा नै बाहिर ल्याउन थालेपछि शेयर बजारमा सो कम्पनीको शेयर भाउ उकालो लाग्न पुगेको हो ।
बजारमा लाभांशको सूचना चुहिएपछि बढी लाभांश दिने बैंक तथा वित्तीय संस्थाको शेयर भाउ बढाइन्छ । जब सार्वजनिक सूचना जारी गरेर यति वा उत्ति लाभांश वितरण गर्ने भयो भन्ने कुरा बजारमा आउँछ, त्यो आउनु अघि नै सूचना पाउने व्यक्तिले शेयर बिक्री गरेर नाफा पोको पार्न थाल्छन् । पछि थाहा पाउने सर्वसाधारण फस्न पुग्छन् ।
यसरी सूचना चुहिने नौलो विषय होइन, पहिलेदेखि नै यसैगरी सूचना चुहिदै आएको छ । बैंक सञ्चालकका आफन्तले नै यसको फाइदा उठाउँदै आएका छन् । सर्वसाधारण मकैमा घुन पिसिएजस्तै पिसिँदै आएका छन् । नेप्से निरन्तर ओरालो लाग्दा पनि केही लगानीकर्ताले यसैगरी नाफा लिइरहेका छन् । बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिमा रहेका व्यक्ति नै शेयर कारोबारमा आबद्ध हुने गरेका कारण बजारमा यस्ता सूचना चुहिने गरेको छ । तर, नियामक निकायले यसमा सुक्ष्म निगरानी गर्न सकेको छैन ।
अर्कोतिर, शेयर धितोमा राखेर लिइने चर्को ब्याजदर आकासिएका कारण शेयर बजार मापक नेप्से ११६६ अंकमा आएको छ । लगानीयोग्य रकम अभाव भन्दै शेयर धितो कर्जा १४–१५ प्रतिशत पुगेपछि लगानीकर्ता त्रसित बन्न पुगेका छन् । चर्को शेयर धितो कर्जाको ब्याज अझै घट्ने संकेत देखिएको छैन ।
तरलतको अभाव हट्दै गएपछि कर्जाको ब्याजदर घटने र कम ब्याजदरमा बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउने आशामा रहेका लगानीकर्ता निराश बन्न पुगेका छन् । यसले गर्दा पनि शेयर बजार बढ्न सकेको छैन ।
बैंक तथा वित्तीय संस्थाले लाभांशको सूचना प्रकाशित गर्न थालेपछि शेयर बजारमा चलहपहल बढी देखिए पनि लगानीकर्तामा ब्याजदर र गोप्य सूचना चुहावटको त्रास कायमै छ । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश धमाधम सार्वजनिक गरिरहेका छन् । यस्तो बेलामा पनि शेयर बजार बढन सकेको छैन् ।
२०७३ साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से निरन्तर ओरालो लाग्दै आए पनि पछिल्ला दिनमा सुधारका संकेत देखिएका छैनन् । १२ सय बिन्दुभन्दा तल आइपुगेको नेप्से माथि उक्लन सकेको छैन् । बैंकमा लगानीयोग्य रकमको अभाव अझै कायमै छ । राष्ट्र बैंकले लगानीयोग्य पुँजी अभावको समस्या समाधान गर्न विदेशी बैंकबाट कर्जा ल्याउने व्यवस्था गरे पनि बैंकहरुले ल्याउन सकिरहेका छैनन् । विदेशी बैंकबाट लिने कर्जाले बैंकिङ प्रणालीमा देखिएको तरलता समस्या समाधान हुने र समग्र कर्जाको ब्याजदर घट्ने अपेक्षा गरिएको भए पनि त्यो आकाशको फल आँखातरी मर जस्तै भएको छ ।
प्रतिक्रिया दिनुहोस